म्यानमारमा आन साङ सू चीको पार्टी विजयी, नेपालीभाषी पनि उम्मेदवार

नजिक न्युज संवाददाता    

म्यानमारमा आन साङ सू चीको पार्टी विजयी, नेपालीभाषी पनि उम्मेदवार

रंगुन : म्यानमारमा हालै सम्पन्न आम निर्वाचनमा प्रजातन्त्रवादी नेत्री आङ नाङ सू चीको पार्टी नेशनल लीग फर डेमोक्रेसी (एनएलडी) विजयी भएको छ ।

राष्ट्रपति चयनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी ३२२ सदस्य आवश्यक पर्नेमा एनएलडीले ३६१ स्थानमा विजय प्राप्त गरेको छ । जसले गर्दा उक्त पार्टीले अब राष्ट्रपतिको चयन र नयाँ सरकार गठन गर्नेछ।

मतगणना जारी रहेका ९५ निर्वाचन क्षेत्रमा पनि एनएलडीका उम्मेदवार नै अगाडि रहेका छन् । रोहिन्ज्या प्रकरणपछि विश्वभर नै सू चीको आलोचना भएको थियो। सू चीले प्रजातन्त्रको लागि सङ्घर्ष गर्दा पाएका कतिपय सम्मान र पुरस्कार उनीबाट खोसियो । तर पनि यसपटकको चुनावी परिणामले देशभित्र भने उनको लोकप्रियता थप बढेको देखियो ।

हालसम्मको मत परिणामलाई हेर्दा उनको पार्टीले सन् २०१५ मा भन्दा धेरै मत र संसदमा धेरै सिट जित्ने पक्का छ। सन् २०१७ मा म्यान्मारको रखाइन राज्यमा भएको हिंसापछि लाखौँको सङ्ख्यामा रोहिन्ज्या शरणार्थीहरू देशबाट भागेका थिए।

गम्भीर प्रकृतिको मानव अधिकार हनन् भएको भन्दै म्यानमारबाट सात लाखभन्दा धेरै रोहिन्ज्या शरणार्थी बाङ्ग्लादेश पुगेपछि सू चीले राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय अदालत द हेगको यात्रा पनि गर्न पर्‍यो।

म्यान्मारको दोस्रो ठूलो दल युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी युएसडिपी सेना समर्थित दल हो। पहिलो ठूलो दल एनएलडी र दोस्रो ठूलो युएसडीपीबीच धेरै मतमतान्तर छ। अहिलेसम्म युएसडीपीले जम्मा २१ स्थानमा मात्र विजय हासिल गरेको छ।

बीबीसी नेपालीका अनुसार यस निर्वाचनमा सेनाको लोकप्रियता भने घटेको देखिएको छ । सेना प्रमुख मिन आङ लेङले प्रत्यक्ष वा परोक्ष रुपमा धर्म र देशको सच्चा सेवकलाई मात्र भोट दिन पर्छ भन्दै युएसडीपीको पक्षमा चुनावी माहौल तयार पार्ने कोशिस गरेका थिए।

यसपटक एनएलडीले मुसलमान समुदायका दुई जना उम्मेदवारलाई पहिलोपटक टिकट दिएकोमा कट्टरपन्थी बौद्धमार्गी बर्मेलीले त्यसको विरोध गरेका थिए। ती दुबै उम्मेदवार विजयी भएका छन्।

भोटिङको पाँच दिनअघि मात्र सेना प्रमुखले वक्तव्य र अन्तरवार्तामार्फत् चुनावमा अनियमितता भएको बताएका थिए। उनले एनएलडी सरकारले गठन गरेको निर्वाचन आयोगलाई असक्षमको आरोप पनि लगाए। आइतवार भोट खसालेपछि भने संवाददाताको प्रश्नमा सेना प्रमुख मिन आङ लेङले चुनावी परिणामलाई सेनाले स्वीकार गर्ने बताए।

नेपालीभाषी उम्मेदवार पराजित

यस निर्वाचनमा भाग लिएका तीन जना नेपालीभाषी उम्मेदवार पराजित भएका छन् । शान प्रदेशका शंकर कँडेल, कचिन प्रदेशका गणेश बस्नेत र छिन प्रान्तका सुन्दर मान। तीनै जना उम्मेदवार एनएलडीका उम्मेदवारसँग पराजित भए।

सुन्दर मान निकटतम प्रतिद्वन्द्वी भए। एनएलडीका उम्मेदवारले १५,३१७ ल्याएको ठाउँमा सुन्दर मानले ८,९९२ मत ल्याए। अरू दुई नेपालीभाषी उम्मेदवार बस्नेत र कँडेलले आफ्नो जमानत जोगाउन पनि सकेनन्।

(दीपक भट्टराई, बीबीसी नेपाली)

 



बुधबार २६, कार्तिक २०७७ ०६:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.