९ खेलाडीमा सीमित इंग्ल्यान्डलाई डेनमार्कले हरायो, लुकाकुको २ गोलमा बेल्जियमको जित

नजिक न्युज    

९ खेलाडीमा सीमित इंग्ल्यान्डलाई डेनमार्कले हरायो, लुकाकुको २ गोलमा बेल्जियमको जित

युइएफए नेसन्स लिगमा ९ खेलाडीमा सीमित इंग्ल्यान्डमाथि डेनमार्कले जित हात पारेको छ। डेनमार्कले घरेलु टिम इंग्ल्यान्डलाई १-० गोलले हराएको हो। खेलमा इंल्यान्डका ह्यारी माग्युर ३१ मिनेटमा दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए। सुरुमा डेनमार्कका युसुफ पालउसेनलाई फल गरेपछि पहेँलो कार्ड पाएका उनले ३१ मिनेटमा डोलबेर्गलाई लडाएपछि रेफ्रीले दोस्रो पहेँलो कार्ड देखाएका थिए। 

३५ मिनेटमा डेनमार्कले पेनाल्टी पायो। केल वाकरले फल गरेपछि प्राप्त पेनाल्टी अवसरमा डेनमार्कका क्रिस्टियन एरिक्सनले गोल गरे। दोस्रो हाफको इन्जुरी टाइममा डिफेन्डर रेस जेम्सले रातो कार्ड पाउँदा इंग्ल्यान्ड ९ खेलाडीमा सीमित बन्यो। समूह ए-२ कै खेलमा बेल्जियमले आइसल्यान्डलाई २-१ गोलले पराजित गरेको छ। सबै गोल पहिलो हाफमा भएका थिए।

खेलको नवौं मिनेटमा रोमेलु लुकाकुले गोल गरेर बेल्जियमलाई सुरुवाती अग्रता दिलाए। १७ मिनेटमा सेइभारसनले आइसल्यान्डका लागि बराबरी गोल गरे। ३८ मिनेटमा लुकाकुले पेनाल्टीमार्फत बेल्जियमको अग्रता २-१ मा पुर्‍याए। लुकाकुले बेल्जियमका लागि गरेको यो ५५औं अन्तर्राष्ट्रिय गोल हो। 

जितसँगै बेल्जियम समूहमा ९ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको डेनमार्कको ७ र तेस्रो स्थानमा झरेको इंग्ल्यान्डको पनि ७ अंक नै छ। आइसल्यान्डले भने अंक जोड्न सकेको छैन। 



बिहिबार २९, असोज २०७७ ०८:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.