एक यस्तो समस्या, जसले बालबच्चामा पढ्न, लेख्न र बुझ्नमा गाह्रो हुन्छ

नजिक न्युज संवाददाता    

एक यस्तो समस्या, जसले बालबच्चामा पढ्न, लेख्न र बुझ्नमा गाह्रो हुन्छ

एक आठ बर्षे बच्चा विद्यालयप्रति भयभीत छन् । किनभने उनी लेख्न, पढ्नमा पनि सम्पूर्ण ध्यान दिन सक्दैनन् । त्यसले परीक्षामा उनी अक्सर फेल हुन्छन् । आफु कमजोर भएका कारण बुवाआमा दुःखी छन् भन्ने उनलाई थाहा छ । तर, जतिसुकै प्रयास गरेपनि उनी अक्षरहरु राम्ररी ठिम्याउन असमर्थ छन् । अक्षर सही ढंगले लेख्न सक्दैनन्, स्मरण गर्न सक्दैनन् ।

यसैले शिक्षक, सहपाठी र आमाबुवाबाट समेत उनले बारम्बार गाली र अपहेलना सहनुपर्छ । सहपाठीले उनलाई कमजोर र केही नजान्ने भनी गिज्याउने गर्छन् । शिक्षकले बारम्बार उनको कमजोरीमाथि टिप्पणी गर्छन् । बुवा उनको पढाई देखेर निरास एवं उदास छन् ।

सामान्य रुपमा हेर्दा यहाँ बच्चाको गल्ती देखिन्छ । उनी कमजोर वा मेहनत नगर्ने जस्ता देखिन्छन् । पढाईप्रति ध्यान नदिने जस्ता लाग्छन् । तर, समस्या फरक छ ।

उनले जानीबुझी त्यसरी शिक्षक र अभिभावकलाई ठगेका होइनन् । उनले त प्रयास गरेकै हो । तर, उनमा एक किसिमको मस्तिष्क विकार छ, जसले गर्दा उनलाई अक्षरहरु ठिम्याउन मुस्किल हुन्छ । यसलाई चिकित्सकको भाषामा डिस्लेक्सिया भनिन्छ ।  ठीक यस्तै समस्या महान वैज्ञानिकम अल्बर्ट आइस्टाइन, टेलिफोनको जनक एलेक्जेन्डर ग्राहम बेल र अभिनेता टम क्रुज जस्ता दिग्गजलाई पनि थियो ।

सन् २००७ मा प्रदर्शनमा आएको हिन्दी चलचित्र ‘तारे जमिन पर’को यो कथासार हाम्रा थुप्रै बालबालिकाको जीवन–भोगाइसँग सम्बन्धित छ । अहिले कतिपय बालबालिकामा विद्यालयप्रति वितृष्णा देखिन्छ । उनीहरु विद्यालयमा जान, लेख्न र पढ्न गाह्रो मन्छन् । पढेका कुरा राम्ररी स्मरण गर्न सक्दैनन् । अक्षरहरु ठिम्याउन सक्दैनन् । यो विकार ३ देखि १५ बर्षको उमेरका लगभग तीन प्रतिशत बच्चामा पाइन्छ । अर्थात जब बच्चा विद्यालय जान सुरु गर्छन् । बच्चाहरु विद्यालय जान सुरु गरेपछि नै यसको स्पष्ट लक्षण देखिन्छ । डिस्लेक्सियाले ग्रस्त बच्चाले अक्षरलाई उल्टो वा गलत पढ्छन् । जस्तो उनीहरुले अंग्रेजीको नाइनलाई सिक्स सम्झन्छन्, ‘डि’ लाई ‘बि’ ।

खासगरी बच्चाहरुमा यस्तो समस्या हुन्छ ।

डिस्लेक्सिया विभिन्न प्रकारको हुने गर्छ । र, यसको कारण पनि अलग अलग हुने गर्छ । परिवारमा कसैलाई डिस्लेक्सिया भएमा  यो समस्या परिवारका अन्य सदस्यलाई हुने सम्भावना पनि उत्तिकै हुन्छ । त्यस्तै, केही विशेष किसिमको वंशानुगत पनि डिस्लेक्सियाको लक्षण र संकेत बढाउन सक्छ । जसले गर्दा व्यक्तिलाई भाषा बोल्न, बुझ्नमा समस्या हुने गर्छ ।

डिस्लेक्सियाका लक्षण

डिस्लेक्सिया भएमा ससाना बालबालिकाहरुमा यी लक्षणहरु देखिने गर्छ ।

–कुनै कुरा भन्नमा धेरै समय लाग्ने

–नयाँ शब्द सिक्नमा कठिनाई हुने

–अक्षर, अंक र रङ्ग याद राख्न वा आफ्नो नाम बताउनमा समस्या हुने

–सही तरीकाले शब्द संरचना गर्नमा कठिनाई हुने

–नर्सरी  राइम याद गर्नमा कठिनाई

स्कुलले बालबालिकामा डिस्लेक्सियाका कयौ लक्षण हुनसक्छ ।

–सुनेको कुराप्रति प्रतिक्रिया दिन र त्यसलाई बुझ्नमा कठिनाई हुने

–उमेर अनुसार ज्ञानको कमी हुनु

–प्रश्नको उत्तर खोज्न तथा सही शब्द फेला पर्नमा कठिनाई

–कनै पनि कुरा क्रमवद्ध रुपमा याद राख्नमा कठिनाई

–अक्षर र शब्दमा समानता र अन्तर फेला पार्न वा अन्तर सुन्नमा कठिनाई

–नसुनेको शब्द उच्च गर्न नसक्नु

–पढ्न मन नगर्नु

यो समस्या किशोर वा वयस्क मानिसहरुमा पनि हुनसक्छ ।

डिस्लेक्सियाको उपचार

उनीहरु के कुरामा रुची राख्छन्, त्यही माध्यामबाट उनीहरुलाई नयाँ कुरा सिक्नका लागि प्रेरित गर्नुपर्छ । कुनैपनि कुरा उनीहरुले नै बुझ्नेगरी सरल एवं सामान्य हिसाबले बुझाउनुपर्छ । यस्तो बच्चालाई जबरजस्ती पढाउने गल्ती नगरौं । बरु, उनीहरुसँग खेल्ने वा रमाउने गरौं । खेलकै माध्यामबाट कुनैपनि कुरा सिकाउने अभ्यास गरौं । स्पर्श गरेर वा महसुष गरेर उनीहरुले पढ्न र बुझ्न सिक्छन् । साथै उनीहरुलाई विभिन्न ठाउँको भ्रमण गराएर पनि नयाँ नयाँ कुरा सिकाउन सकिन्छ ।

लामो समयसम्म पनि बच्चामा पढ्ने क्षमतामा विकास नभएमा चिकित्सकलाई देखाउनु जरुरी हुन्छ । चिकित्सकले विशेष जाँच गरेर उसको पढ्ने क्षमताबारे पत्ता लगाउन सक्छ । त्यस्तै उसले हेर्ने, सुन्ने र दिमागले काम गर्ने क्षमताको जाँच गरेर पनि उसको समस्याको पहिचान गर्न सक्छ । र त्यसैको आधारमा उपचार हुने गर्छ ।

डिस्लेक्सियाको समस्या भएमा यो आजीवन समस्याकै रुपमा रहने भएकोले औषधिको भरमा डिस्लेक्सियाको उपचार हुँदैन । शिक्षा सम्बन्धि विशेष टेक्निक र विशेष माध्यमको उपयोग गरेर डिस्लेक्सियाको समस्या कम गर्न सकिन्छ । उदाहरणको लागि डिस्लेक्सियाको समस्या भएमा बच्चाहरुमा पढ्ने क्षमताको कम गर्न सुन्न र स्पर्श गर्न सिकाइन्छ ।



सोमबार २६, असोज २०७७ ०८:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.