नयाँ युवा नयाँ सोचका युवालाई कृषि खेती बारे कृषि ज्ञान केन्द्रको प्रशिक्षण

नजिक न्युज संवाददाता    

नयाँ युवा नयाँ सोचका युवालाई कृषि खेती बारे कृषि ज्ञान केन्द्रको प्रशिक्षण

बाजुरा : नयाँ युवा नयाँ सोच इकाइ समिति बाजुरामा आवद्ध युवाहरुलाई कृषि खेती र व्यवसायीकता बारे प्रशिक्षण दिइएको छ । कृषि ज्ञान केन्द्र बाजुराले घोषणा गरेको फलफूल वर्ष २०७७ लाई सफलतापूर्व सम्पन्न गर्न र युवाहरुलाई कृषी पेशामा आकर्षण गर्ने गरी प्रशिक्षण सञ्चालन गरिएको हो । 

नयाँ युवा नयाँ सोच इकाइ समिति र कृषि ज्ञान केन्द्रको सयुक्त सहकार्यमा जागरण र उत्प्ररेणा जगाउने कृषि खेतीसँग सम्बन्धी विषय बस्तु बारे प्रशिक्षण गरिएको छ । नयाँ नयाँ र फरक सोच भएका सिर्जनशिल युवाहरुलाई उत्पादन र कृषि खेती बारे आकर्षण गर्न एक दिने प्रशिक्षण सञ्चालन गरिएको ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मीन प्रसाद जैशीले बताएका छन् । 

आर्जन गरेको सीप सीमित अफिसको जागिर र गफका लागि मात्र भइरहेको र बेरोजगारीले युवा वर्ग तनाबमा रहेको अवस्थामा केही गर्ने आँट र सुरुवादका लागि प्रशिक्षण सञ्चालन गरिएको नयाँ युवा नयाँ सोच इकाइ समिति बाजुराका अध्यक्ष केशव बोहराले बताएका छन् ।

जिल्लामा उत्पादन हुने कृषि बाली, रैथानी बालीको महत्व, विश्वमा सफल व्यक्तिका संघर्षका कथा र कृषि क्षेत्रमा युवा आकर्षण किन भन्ने विषयमा प्रशिक्षण केन्द्रीत रहेको थियो । कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख गोविन्द्र सिजापती, कृषि प्रसार अधिकृत मिन प्रसाद जैशीले प्रशिक्षण गराउनु भएको हो ।

राजनीति, विचार र सिद्धान्तको प्रशिक्षणले मात्र उत्पादन बढ्ने र समृद्धी संभव हुने अवस्था नभएकोले प्रत्येक युवालाई गरि खाने सीप सिकाउने र कृषि पेशामा आकर्षण बढाउनु पर्ने देखिएकोले युवाहरु लक्षित कृषि खेती बारे प्रशिक्षण सञ्चालन गरिएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख गोविन्द्र सिजापतीले बताएका छन् ।

रेडियो बाजुराका स्टेशन प्रबन्धक एवंं नयाँ युवा नयाँ सोच इकाइ समिति बाजुराका सल्लाहकार संयोजक कृष्ण ओलीले प्रशिक्षण कार्यक्रमको व्यानर वाचन गरेर उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा ओलीले गफमा सीमित हुने नभइ गरि खाने युवाहरुको समूहका रुपमा स्थापीत हुन नयाँ युावा नयाँ सोचमा आवद्ध युवाहरुलाई आग्रह गरेका छन् । 

अरुलाई दोष दिने काम बोलीले नभइ खेतबारीबाट उत्पादन गरेर दिने सीप विकास र अवसरका लागि कृषि ज्ञान केन्द्रले सहयोग गर्नु पर्ने र त्यसमा युवाहरुको आकर्षण बढ्नु पर्नेमा ओलीले जोड दिएका छन् ।

प्रशिक्षण कार्यक्रममा स्थानीय खाद्यबालीबाट बन्ने परिकार, बजारको माग र बजार प्रवद्र्धनमा कषि ज्ञान केन्द्रले गर्ने सहयोग बारे पनि जानकारी गराईएको छ । कृषि ज्ञान केन्द्रले सुरु गरेको १ लाख फलफूलका बोट रोप्ने फलफूल वर्ष अभियान सफल पार्न नयाँ युवा नयाँ सोच इकाइ समितिमा आवद्ध युवाहरु अनिवार्य कागती खेती घरमा गर्नु पर्ने, उत्पादनको संभावना हेरेर बोटहरु रोप्न सहमत भएका छन् ।

बडिमालिका नगरपालिकाको सभा हलमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा ३५ बढी नयाँ युवा नयाँ सोचमा आवद्ध युवाहरु सहभागि थिए । युवाहरुसँगको सहकार्यलाई निरन्तरता दिँदै कृषि खेतीमा युवा आकर्षण बढाउने गरी गतिविधी सुरु गर्ने कृषि ज्ञान केन्द्रले पनि बताएको छ । 

प्रशिक्षण फलदायि र उपलब्धी मुलक बनेको नयाँ युवा नयाँ सोच इकाइ समिति अध्यक्ष केशव बोहराले बताएका छन् । समितिमा आवद्ध युवाहरुले पछिल्लो समयमा सामाजिक जागरण र सिर्जनशिल काममा सक्रियता दिएका छन् । 

सोही प्रशिक्षण कार्यक्रममा छोरीका लागि छोरी नै अभियानमा अभियान्ता सम्झना रावतले युवाहरुको सरोकारको विषय छोरी अभियानमा पनि हुनु पर्छ भन्ने बारे जानकारी गराउनु भएको थियो । जिल्लामा युवाहरुका लागि पहिलो पटक कृषि खेती बारे प्रशिक्षण गरिएको हो । 



सोमबार २६, असोज २०७७ ०५:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.