कैलालीमा हिरासतमा मृत्यु : तीन प्रहरीलाई कारबाहीको सिफारिस

नजिक न्युज संवाददाता    

कैलालीमा हिरासतमा मृत्यु : तीन प्रहरीलाई कारबाहीको सिफारिस
फाईल फोटो/हिरासतमा मृत्युपछि आन्दोलित स्थानीय

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलाली मातहतको सिमा प्रहरी चौकी बहुलियाको हिरासतमै भएको मृत्यु प्रकरणमा प्रहरीले लापरवाही गरेको छानबिन समितिले ठहर गरेको छ।

फुलवारीका स्थानीय अमरबहादुर चन्द मृत्यु प्रकरणमा छानविन समितिले प्रहरीले लापरवाही गरेको ठहर गरेको हो। छाननि समितिको सिफारिसको आधारमा तीन जना प्रहरीमाथि कारवाहीको प्रक्रिया अगाडि बढेको सुदूरपश्चिम प्रदेशका निमित्त प्रहरी प्रमुख तथा प्रहरी बरिष्ठ उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिए। 

‘छानविन समितिले पनि आत्महत्या नै भएको निष्कर्ष निकालेको छ,’ उनले भने, ‘तर हिरासतमै मृत्यु भएकाले प्रहरीको समेत कमजोरी देखिएको छ। चौकीका इन्चार्जसहित तीन जनामाथि कारवाहीको प्रक्रिया अगाडि बढेको छ।’

सिमा प्रहरी चौकी बहुलियाको शौचालयमा घाटी रेटेको अवस्थामा चन्द मृत फेला परेपछि प्रहरी उपरीक्षक राजिब बस्नेतको नेतृत्वमा छानबिन समिति गठन भएको थियो। घटनापछि सीमा प्रहरी चौकी बहुलियाका इन्चार्ज प्रहरी नायब निरिक्षक जंगबहादुर सिंहसहित दुई जना प्रहरी जिल्ला तानिएका थिए। 

यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा मृत फेला परेका १९ बर्षीय युवक रोशन बिकको घटनामा पनि बस्नेत नेतृत्वको टोलीले छानविन जारी राखेको प्रहरी बरिष्ठ उपरिक्षक सिंहले बताए। सुरुमा चार दिनको समय दिइएकोमा फेरी पाँच दिन थप समय छानविनका लागि दिईएको थियो। 



मङ्गलबार ०६, असोज २०७७ ०३:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.