सडक समस्याले : बारीमै थन्कीयो करोडको स्याउ

याे वर्ष ३ सय मेट्रीकटन उत्पादनमा गिरावट

नजिक न्युज संवाददाता    

सडक समस्याले : बारीमै थन्कीयो करोडको स्याउ

बाजुरा :  सडकको सहज पहुँच नहुँदा करोडौ मूल्यको स्याउ बारीमै थन्कीएपछि किसानहरु चिन्तीत बनेका छन् । मार्तडी कोल्टी सडक बर्षादका कारण अवरुद्ध बनेपछि ढुवानी समस्या बनेको छ । भने साँफे मार्तडी सडकपनि बन्द भएपछि झनै समस्या थपिएको छ । 

जसका कारण करोडौं मूल्यको स्याउ बारीमै थन्कीएको हो । स्वामिकात्र्तिक, जगन्नाथ गाउँपालिकाबाट पीलुचौर ल्याएर ढुवानी गर्ने भनिएपनि सडक नहुँदा जहाजबाट ढुवानी गर्नु पर्ने बाध्यता देखिएको छ । भने बुढीनन्दा नगरपालिकामा फलेको स्याउ पनि बारीमै थन्कीएको छ ।

यो वर्ष ७ सय मेट्रीकटन स्याउ फलेको कृषि ज्ञान केन्द्रको अनुमान छ । लगातारको पानीका कारण अघिल्लो वर्षको तुलनामा ३ सय मेट्रीकटन स्याउ यो वर्ष कम उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मिनप्रसाद जैशीले बताएका छन् ।

अघिल्लो वर्ष जिल्लामा १०५० मेक्टीकटन स्याउ उत्पादन भएको थियो । उत्पादनमा कमी भएपनि फलेको स्याउ समेत बारीमै थन्कीएको गुनासो किसानको छ । बारीमा किसानले ३० देखि ५० रुपैया केजी स्याउ विक्री गरिरहेका छन् । भने पाण्डुसैन कोल्टीबाट मार्तडीसम्म ढुवानीका लागि कृषि ज्ञान केन्द्रले २५ रुपैया भाडा अनुदान दिएको छ ।

मार्तडी कोल्टी सडक बन्द भएकै कारण धनगढी र नेपालगञ्जसम्म लैजान हवाइ भाडा ३० देखि ४० रुपैया पनि कृषि ज्ञान केन्द्रले अनुदान दिने गरी व्यवस्थापन मिलाएको छ । तर जहाज नउड्दा स्याउ कोल्टीमै थन्कीएको अवस्था रहेको छ ।

यो वर्ष करिब ३ करोड बढीको स्याउ बाजुरामा उत्पादन भएको अनुमान गरिएको छ । समयमै बजारसम्म ढुवानी गर्दा सबै विक्री हुने र किसानलाई फाइदा पुग्ने देखिएपनि सडक समस्याले स्याउ बारीमै थन्कीने अवस्था आएको छ । 

४३ किलोमिटर मार्तडी कोल्टी सडकका लागि ३५ करोड बढी खर्च गरि सकिएको छ । तरपनि हरेक वर्षादमा बाटो बन्द हुने गरेको छ । स्याउ बारी नजिक उचित बजार नहुँनु र मार्तडी कोल्टी सडक बन्द हुनु किसानका लागि समस्याको विषय बनेको छ ।

बारीमा फलेर मात्र केही हुदैन्, न बजार र न ढुवानीका लागि सडक नै, किसानलाई वर्षेनी समस्या हुने गरेको जुकोटका स्याउ किसान समेत रहेका नेकपा नेता मेघराज शाहीले बताएका छन् । शाहीसँगै नै ५ सय बढी बोटमा स्याउ फलेका छन् ।

जिल्लाको २ सय ३० हेक्टरमा स्याउ खेती गरिएको छ । खेती गरिएको जमिनमा ७० हजारको संख्यामा स्याउका बोटहरु रोपिएका छन् । ती मध्ये ६० प्रतिशत बोटहरुमा स्याउ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुरासँग तथ्याकं छ । 

जिल्लाका स्वामिकात्र्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकामा सबैभन्दा बढी स्याउ उत्पादन हुने गरेको छ । साविक जुकोट, वाई, पाण्डुसैन, जगन्नाथ, गोत्री, साप्पाटामा अधिकांशले स्याउ खेती नै गरेका छन् । खानकै लागि भएपनि लेकमा जमिन हुने प्राय सबैको बारीमा स्याउका बोटहरु छन् । स्याउ हिमाली र गौमुल गाउँपालिकामा पनि परिक्षणका लागि खेती गरिएको छ । 

स्थानीय तहले गाउँ गाउँमा डोजर लगाएर सडक खनेका छन् । तर आवश्यकतालाई मध्येनजर गरिएको छैन् । स्याउबाटै समृद्धी हुने अवस्था छ, तर त्यसमा कुनै स्थानीय तह र जनप्रतिनिधीको ध्यान नगएको गुनासो किसानको छ । ार्तडी कोल्टी सडक सुचार गरेपछि मात्र करोडको मूल्यको स्याउ जोगिने अवस्था छ । 

स्याउ बारी मै कुहीएका छन् । गाई भैसीलाई दिन पर्ने अवस्था छ । तरपनि सरोकारवाला मौन देखिन्छन् । कृषि ज्ञान केन्द्रले किसानलाई राहत स्वरुप ढुवानी सुविधा दिने भनेको छ । तरपनि खच्चडबाट ढुवानी गर्नु पर्ने हुँदा भनेजति सजिलो नभएको कृषि ज्ञान केन्द्रका प्रसार अधिकृत एवं सूचना अधिकारी मिनप्रसाद जैशीले बताएका छन् ।

अघिल्लो वर्ष ज्ञान केन्द्रले १६ लाख बराबरको ढुवानी सुविधा दिएको थियो । बाजुराको स्याउले पहिलो पटक काठमाडौंसम्म बजार पाएको थियो । यो वर्ष पनि निरनतरता दिन खोजिएपनि बाटोका कारण संभावना कम देखिएको छ ।

किसानले बर्षेनी आर्थिक नोक्सानी बेहोर्दापनि राज्य जवाफदेही देखिएको छैन् । बाटो मर्मत गरेर तत्काल सुचारु गर्न सडक डिभिजन कार्यालय साँफे बगरसँग कुरा भईरहेको प्रदेश निर्वाचन क्षेत्र क का प्रदेश सभा सदस्य बल्देव रेग्मीले बताएका छन् । सडक पीचका लागि ठेका भएर निर्माणपनि सुरु भईसकेको छ । तरपनि वर्षेनी हुने समस्या हल हुन सकेको छैन् ।

सडक नियमित नहुँदा यात्रुहरुलाई हिडँेर यात्रा गर्नु पर्ने दुख मात्र छैन्, किसानले करोडको आर्थिक नोक्सानी बेहोर्नु परेको छ, भने सर्वसाधारणले वर्षेनी महँगीको मार सहनु परेको छ । सडक कै समस्याका कारण बाजुराका बजारमा पनि भारत र चीनबाट आएको स्याउ नै पाईने गरेका छन् । बजारमा बोकेर पुगेका स्याउ कहिले कहिँ आएपनि एकै दानाको २० रुपैया बढी तिर्नु पर्ने उपभोक्तालाई बाध्यता छ । स्याउ किसानको वर्षेनी सुनिने गुनासो कसैले सुनेका छैनन् । 



सोमबार २९, भदौ २०७७ ०५:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.