सताउँदैछ एक्लोपनले

नजिक न्युज संवाददाता    

सताउँदैछ एक्लोपनले

‘लकडाउन र निषेधाज्ञाको बेला नेपालमा मानसिक रोगको औषधि सेवन गर्ने बढे ।’ –‘लकडाउनमा औषत दिनमा १६ जनाले आत्महत्या गरे ।’ 

यी तथ्यांकले संकेत गर्छ, हाम्रो मनोदसा नराम्ररी बिग्रदैछ । कोरोना महामारीपछि गुमेको आयआर्जन र बढेको बेरोजगारीसँगै खलबलिएको सामाजिक समबन्ध एवं व्यवहार यसको मुल कारक हुन् । लामो समय सर्वसाधरण घरभित्रै बन्दी भए । दैनिक कामधन्दा ठप्प हुँदाको तनाव छँदै थियो, त्यसमाथि पारिवारिक जमघट, भेटघाट, उत्सव, पर्व आदिबाट विमुख हुँदा एक्लोपनले सताउन थाल्यो । जति–जति सामाजिक व्यवहार पातलिदै गयो, भय, चिन्ता, असुरक्षा, वेचैनीले च्याप्दै गयो ।

चाडपर्व, उत्सव आदिले मान्छेमा उत्साह, उमंग र आश जगाइराख्छ । कोरोनाको कारण यस्ता अवसरहरुबाट मानव समुदाय वञ्चित भए । यसले पनि संभवत मान्छेमा छटपटी बढाएको छ ।

मान्छे स्वभावैले समाजबाट अलग भएर खुसी हुन सक्दैन । न्युज एजेन्सी पीटीआईसँगको एक संवादमा  चर्चित सामाजिक मनोविज्ञ जुलियन होल्ट लुनस्टाडले भनेकी छिन्, ‘सामाजिक रुपले जोडिनु व्यक्तिको मूलभूत आवश्यक्ता हो । यो व्यक्तिको हित र उसलाई जिउँदो राख्न दुबैका लागि महत्वपूर्ण हुन्छ ।’ सामाजिक सम्बन्धबाट पर्ने दीर्घकालिन स्वास्थ्य प्रभावबारे शोध गरेकी उनले एक्लोपना र त्यसबाट मृत्युबारे विश्लेषण गरेकी छिन् ।

कोरोना महामारीको कारण नेपाल मात्र होइन, विश्व मानव समुदायकै सामाजिक जीवन विथोलिएको छ । सर्वत्र लगाइएको लकडाउनले मान्छेलाई समाज र संस्कृतिबाट विमुख गराएको छ । यही नै मानसिक समस्याको जड बनेको छ ।

मान्छे जति-जति समाजसँग घुलमिल हुन्छन्, जीवन उत्तिकै सौहाद्र्धपूर्ण र सहज बन्छ । आपसी दुःखसुख साटेर, सर-सहयोग आदनप्रदान गरेर सुखमय जीवन विताउने यत्न गर्छन् । जबकी अहिलेको प्रतिकुल परिस्थितीले मान्छेलाई यस्तो अवसरबाट टाढा राखेको छ ।

त्यसमाथि अहिले संयुक्त परिवार टुक्रिएको छ । एउटा परिवार आमाबुवा र एक वा दुई छोराछोरीमा खुम्चिएको छ । धेरैजसोले त एक्लो बच्चामै सीमित छन् र उनीहरुको परिवारमा आमा, बुवा र एक बच्चा मात्र छन् । अतः एकल परिवारमा समेटिएकाहरु सामाजिक र पारिवारिक व्यवहारबाट अरु बढी एक्लिदैछन् ।

त्यसो त कोरोना महामारीबाट मात्र होइन, बद्लिदो पारिवारिक संरचना र प्रविधिप्रतिको बढ्दो आशक्तिले पनि मान्छेलाई एक्लो बनाउँदै लगेको छ । एक मनोविज्ञको विश्लेषण छ, ‘विगतमा संयुक्त परिवार र इष्टमित्रसँग भावनात्मक रुपले जोडिएका हुन्थे । अहिले शहरमा भीड त बढेको छ, तर मानिसहरु एक्लिदै गएका छन् । सम्बन्ध विच्छेदको क्रम बढेको छ । धेरैजसोले बच्चा एकदमै कम जन्माएका छन् । काम र शिक्षाले हामीलाई हाम्रो समाज र परिवारबाट विमुख गराउँदैछ ।’

त्यसमाथि मोबाइल, इन्टरनेट एवं सामाजिक सञ्जालले मान्छेलाई परिवार र समाजबाट अलग गर्दैछ । इन्डिया टुडेको एक रिपोर्टमा समाजिक मनोविज्ञले भनेका छन्, ‘मानिसहरु काम, सूचना, मनोरञ्जन, टेक्नोलोजीमा अल्झिएर आफ्नो घर, सम्बन्ध, समाज र जिम्मेवारीबाट टाढा हुँदैछन् ।’

डिप्रेसन जस्तै एक्लोपनले पनि हाम्रो स्ट्रेस हर्मोन प्रभावित गरेको छ र हाम्रो व्यवहारमा समेत त्यो देखिएको छ । यतिसम्म कि, मानिसले यहि कारणले आत्माहत्या गरिरहेका छन् ।

समाजबाट विमुख एवं एक्लोपनको कारण समयभन्दा पहिला मृत्यु हुने खतरा पनि बढेको छ । अमेरिकन साइकोलोजिक एसोसिएशनको वार्षिक सम्मेलनमा प्रस्तुत एक अध्ययनले भन्छ–जो समाजसँग जोडिएका छन् उनीहरुमा समयभन्दा अघि मृत्युको खतरा ५० प्रतिशत कम पाइयो । सोही अध्ययनको अर्को निचोड के छ भने, उत्तर अमेरिका, यूरोप, एसिया र अष्ट्रेलियामा ३ दशमलव ४ मिलियन बढी मानिस एक्लो छन् । उनीहरु सामाजिक जीवनबाट विमुख र एक्लोपनको शिकार छन् र उनीहरुको मृत्यु

त्यसो त अहिले विश्वमा लाखौ एक्लोपनको समस्यासँग जुधिरहेका छन् । यसले विस्तारै विस्तारै महामारीको रुप लिँदैछ । अमेरिकामा ४५ बर्षभन्दा बढी उमेरका लाखौं व्यक्ति एक्लोपनको समस्याबाट जुधिरहेका छन् ।



शनिबार २७, भदौ २०७७ ०२:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.