मासुको मूल्य घटाउन र गुणस्तर बढाउन बाजुराका व्यवसायी सहमत

मासुको गुणस्तर नभेटिए, विक्री सेन्टर सफा नभए कारवाही

नजिक न्युज संवाददाता    

मासुको मूल्य घटाउन र गुणस्तर बढाउन बाजुराका व्यवसायी सहमत

बाजुरा :  मार्तडी बजारमा मासुको व्यवसाय गरीरहेका व्यापारी मासुको मूल्य घटाउन र गुणस्तर बढाउन सहमत भएका छन् । जिल्ला प्रशासन कार्यालयको संयोजकमा गरिएको छलफल पछि व्यापारीहरु मासुको मूल्य घटाउन सहमत भएका हुन् ।

बजारमा मनोमानी रुपमा चर्को मूल्य लिने गरेको र सेवामा गुणस्तर नभएको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय बाजुराले व्यवसायीसँग छलफल गरेको हो । छलफल पछि मूल्य घटाउने र मासुको गुणस्तरमा सुधार गर्न व्यवसायी सहमत भएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताएका छन् ।

एक दर्जन बढी मासु विक्री पसल रहेको मार्तडी बजार क्षेत्रमा डिफ्रिज नराखेरै मासु विक्री गर्ने गरेको, टाउको, शरिर, र खुट्टाको मूल्य समान लिने गरेको र विक्री सेन्टर फोहर र अव्यवस्थीत भएको गुनासो बढीरहेका बेला प्रशासनले चासो देखाएको हो ।

प्रमुख जिल्ला अधिकारीकै संयोजनमा भएको छलफलमा सहभागि मासु विक्रेताहरुले टाउको, खुट्टा र शरिरको मासुको अलग मूल्यमा विक्री गर्ने, मासु पोलेर विक्री नगर्ने, सरसफाइमा बिशेष ध्यान दिने र मूल्यमा एकरुपता ल्याउने प्रतिवद्धता जनाएका छन् ।

हाल बजारमा खसीको ८ सय बढी र कुखुराको ६ सय बढी प्रति केजी रकम असुली गर्ने गरेका छन् । बाटोको समस्या देखाएर व्यापारीले मूल्य बढेकोले केही सहज भएकोले घटाउने भएका छन् । मासुको गुणस्तर नभेटिए, विक्री सेन्टर सफा नभए छड्के अनुगमन गरेर कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताएका छन् ।

टाउनको र खुट्टाको मासु दिएर शरिरकै अन्य भागको जति मूल्य लिने काम भइरहेकोले तत्काल त्यसमा सुधार गर्न र मासु काट्ने अचाना देखाउनलाई मात्र सफा गर्नेक्रम नरोकिए जनगुनासोको आधारमा पनि कारवाही गर्ने तयारी प्रशासनले गरेको छ । 

उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा पैसा कमाउने मनासायले खेलवाड गरिए कारवाही गर्ने चेतावनी समेत प्रशासनले दिएको छ । टाउको, खट्टा र शरिरको मासु एकै ठाउँमा एकै मूल्यमा विक्री गरिए र मूल्य घटाएको नपाईएमा तत्काल खबर गर्न पनि प्रशासनले आग्रह गरेको छ ।  



शुक्रबार २६, भदौ २०७७ ०८:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.