तालै तालको पाटन : तीर्थालु पर्खेको बुढीनन्दा

सरकारी प्रयास शुन्य

नजिक न्युज संवाददाता    

तालै तालको पाटन : तीर्थालु पर्खेको बुढीनन्दा
बुढीनन्दा क्षेत्रमा रहेको हिमताल । फाइल तस्विर

बाजुरा : १५ हजार फिट उचाईको पहाड । जहाँ साउन भदौमा पनि सेताम्य हिउँ देखिन्छ । १० महिना सेतो हिँउको घुम्टोले नै ढपक्क ढाक्ने गर्छ । पहाडै पहाडको शहर छ । थप शोभा बढाएको छ, तालहरुले । 

No description available.जहाँ दर्जनको संख्यामा साना ठूलो तालहरु छन् । ती तालहरुको विशेषता आ–आफ्नै छ । कोही दानवका लागि महत्वको बोकेका छन्, कोही भगवानका लागि । त कोहीले मानवसँग पनि । पुग्नेहरु स्वर्गकै उपमाको संज्ञा दिन्छन् । 

सो स्थानमा बुढीनन्दा भगवतीले बास गर्छन् । देवीको प्रत्येक वर्षको जनैपूर्णिमाको अवसरमा वर्षको एक पटक पूजा हुन्छ । धार्मीक आस्थाको धरोहरका रुपमा रहेको बुढीनन्दा क्षेत्रको महिमा उच्च भागमा रहेका तालहरुले दिएका छन् ।  उक्त क्षेत्रबाट मुगु, हुम्ला कालिकोट सहीतका जिल्लाहरुको दृश्य नियाल्न सकिन्छ, भने बझागंमा रहेको साइपाल हिमाल र जेठीबैरानीको मनमोहक दृश्य हेर्न सकिन्छ । 

तालहरु मध्ये राक्षस दहमा दर्शनार्थीहरुले नजर समेत लगाउनु हुदैन भन्ने धार्मीक मान्यता छ । सोही मान्यता अनुसार ताल देखिएपनि दर्शनार्थीहरुले नदेखे झै गर्ने गर्छन् । त्यो तालमा राक्षसले मात्र नुहाउने गरेकोले दृश्य पनि निकै कालो देखिने गरेको, बुढीनन्दा दर्शन गर्न गएकाहरुले बताउने गरेका छन् ।

राक्षस दहको दृश्य देखेमा परिवारमा पीडा थपिने, देवी रिसाउने र मागेको बर नपाईने गरेको किवदंन्ती रहेको छ । मन्दिर नजिकै रहेको अर्को तालमा दर्शनार्थीहरुले नुहाउने, गर्छन् । उक्त दहका नुहाएमा पापबाट मुक्त भइने र देवी खुसी भएर मागेको बर दिने भनाई छ । 

तर त्यसको संरक्षण, संम्वद्र्धन र प्रवद्र्धन हुन सकेको छैन् । १५ हजार फिट उचाईमा देवीको मन्दिर छ । त्यो पनि पूर्खाहरुले ढुङ्गाले बनाएको छ । संरचना राम्रो नभएपनि स्थान प्रकृतिकै उपमा हो– भन्छन्, स्थानीय जंगवीर रोकाया । 

तिलिचो पछिको दोस्रो उचाईमा रहेका तालहरु बुढीनन्दामा पर्छन् । राज्यले कुनै खोजी गरेको छैन्, रोकायाले गुनासो गरे । बुढीनन्दाको प्रचार÷प्रसार नहुँदा थाह भएकाहरु मात्र दर्शनका लागि जाने गरेका छन् । बाजुरा लगायत सुदूरपश्चिम र भारतको उत्तर प्रदेशबाट भक्तजन आएपनि प्रचारको कमी छ । 

भक्तजनहरुले सन्तान र धन प्राप्तिका लागि बुढीनन्दा देवीको दर्शन गर्ने गरेका छन् । बडिमालिका देवीले नदिएको बर बुढीनन्दा देवीले दिने धार्मीक विश्वास स्थानीयमा छ । निःसन्तानिलाई सन्तान, दुःखीलाई सुःख अन्न धन प्राप्त हुने विश्वास हुने विश्वास छ । 

No description available.मार्तडीबाट कालाजग्रा पाण्डुसैन हुँदै कुरुखोला पुगिन्छ । कुरुखोलाको बास पछि धनभण्डार लेकमा पुगिन्छ । त्यहाँ ओढारमा बस हुन्छ र सदरमुकाम मार्तडीबाट तेस्रो दिन बढीनन्दा पुगिन्छ । नेपालगञ्जबाट कोल्टी विमान स्थलहुँदै गएमा दुई दिनमा पनि पुगिन्छ । तर धार्मीक मान्यता अनुसार तीन दिन लगाएर पुग्नु पर्ने हुन्छ । 

सधैको समयमा सो क्षेत्र जान सकिदैन् । जेष्ठदेखि असोजसम्म मात्र सो क्षेत्रमा जान सकिन्छ । मागेको कुरा पाईने, धन लाभ हुने र बाँझोपन भएका, वा सन्तान नभएकाहरुका लागि सन्तान प्राप्त हुने धार्मीक विश्वास रहि आएको छ । सो क्षेत्रमा हकदाबी कोल्टी क्षेत्र नुरी र कुरुखोला क्षेत्रका स्थानीयको छ । उनीहरुले बुढीनन्दा क्षेत्रको वन क्षेत्रको उपयोग र सदुपयोग गर्ने गरेका छन् । 

No description available.बर्षादका चार  महिना तल्लो क्षेत्रमा भेडा च्याग्रा चरिचरनका लागि छोडिन्छ, भने हिउँ पग्लिएपछि जडिबुटीका लागि पनि स्थानीय बुढीनन्दा पाटन जाने गरेका छन् । आकर्षक पाटनहरु तथा ताल वरिपरि रहेका आकर्षक झर्नाहरुले त्यहाँ जाने जो कोहीको पनि मन लोभ्याउने गरेको छ ।

खाली खुट्टाले एक दिनको पैदल यात्रा गरे पनि खुट्टामा कुनै प्रकारको कठिनाई नहुने विश्वास छ । सोही बमोजिम बुढीनन्दा यात्रामा जाने भक्तजनहरुले खाली छुट्टा दर्शनका लागि मन्दिर पुग्ने गरेका छन् । दलित समुदायले जानु हुँदैन, अनिष्ट हुन्छ, भन्ने कुमान्यता रही आएको थियो, त्यो गएको तीन वर्षयता मात्र तोडिएको छ । 

बुहुमूल्य जडिबुटीको खानी तथा लोपन्मुख बन्य जन्तु र चराचुरुङ्गीहरुको बसोबास क्षेत्र पनि सोही स्थानमा पर्छ । रङ्गी चङ्गी फूलहरुको मनमोहक दृष्य हेर्न पाउनु भक्तजनहरुका लागि अर्को सौभाग्य पनि हो । यो क्षेत्र मानसरोसर क्षेत्रसँग पनि जोडिएकोले धार्मीक विशेष बढी छ । यो वर्षपनि जनैपूर्णिमा मेलाको भव्य तयारी भईरहेको छ । 

सरकारी प्रयास शुन्य 

No description available.बुढीनन्दा क्षेत्रमा सरकारी प्रयास भएको छैन् । प्रकृतिको उपमा बुढीनन्दा राज्यको नजर बाहिर छ । त्यसको नत प्रचार हुन सकेको छ, नत संरक्षण नै । २०७० सालमा तत्कालिन नेकपा एमाले बुढीनन्दा यात्रा गरेको थियो । जुन समय देखि मात्र दलित समुदायले प्रवेश पाएको थियो । त्यस अभियान पछि मात्र बुढीनन्दाले बढी महत्व पाएको हो ।  

त्यो बाहेक नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले ब्रोसर प्रकाशन गरेको छ । हुनु पर्नेजति प्रचार नहुँदा पनि बुढीनन्दाको सौन्दर्य र महिमाले चर्चा पाएको छैन् । यो वर्षबाट केही प्रचारका गतिविधी गर्ने तयारी गरिएको बुढीनन्दा नगरपालिका–४ का अध्यक्ष राजन रोकायाले बताए । पर्यटकीय संभावना बोकेको क्षेत्रको प्रवद्र्धन गर्न सके स्थानीयको आयआर्जनमा वृद्धी हुने देखिन्छ । जसका कारण स्वर्ग जस्तै बुढीनन्दा ओझेलमा छ । 

साउन १८ मा मेला लाग्ने 

यो वर्ष साउन १८ गते मेला लाग्ने भएको छ । सयैको संख्यामा भक्तजन बुढीनन्दा गएका छन् । बुढीनन्दा नगरपालिका–४ मा पर्ने उक्त क्षेत्रमा प्रत्येक वर्षको जनैपूर्णिमाको अघिल्लो दिन मेला लाग्ने गरेको छ । बुढीनन्दा यतिबेला तीर्थालु भक्तजन तथा पर्यटकहरुलाई पर्खिरहेको छ । 

 



शनिबार १७, साउन २०७७ ०६:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.