सदरमुकामको वडामा राजेश विकले सम्हाले नेकपाको नेतृत्व

नजिक न्युज संवाददाता    

सदरमुकामको वडामा राजेश विकले सम्हाले नेकपाको नेतृत्व

बाजुरा : साविक मार्तडी ८ र हाल बडिमालिका नगरपालिका ९ लाई पूर्व एमालेले आफ्नो लाल किल्लाको रुपमा लिने गरेको छ । २०४८ पछिका सबै निर्वाचनमा एकलौटी जित हात पार्दै आएको वडा हालको अवस्थामा पनि नेकपा कै कब्जामा छ ।

संघिय संरचनापछि चौराटा, बडुवालवाडा, उखाडी सहीतका बस्तीलाई मिलाउँदा पनि नेकपाको बर्चश्य कायमै छ । सदरमुकाम मार्तडीको अधिकांश भाग पर्र्ने भएर सबैको नजरमा यो वडा पर्ने गरेको छ । जस कारण वडामा हुने गतिविधी र वडाको नेतृत्व लिने व्यक्तिबारे पनि चर्चा परिचर्चा हुने नै भयो । 

यतिबेला नेकपा वडा कमिटीको नेतृत्व चयनको विषयलाई लिएर पनि चर्चा चलेको छ । युवा अवस्था मै राजनीतिमा सक्रिय राजेश विकलाई वडा कमिटीको अध्यक्षमा चयन भएपछि नेतृत्व युवाको काँधमा आएको भन्दै वडा पार्टी कमिटीमा उत्साहको तरंग फैलिएको छ । 

अध्यक्षमा चयन भएका विकलाई वडा स्तरीय अगुवा कार्यकर्ता भेलाबाट बडिमालिका नगरपालिका नेकपा नगर कमिटी इन्चार्ज विनोद कुमार विकले सपथ खुवाएका छन् । पूर्व एमाले निकट बाजुरा काठमाडौं सम्पर्क कमिटीका काम गरेका विक एक कार्यकाल अनेरास्ववियु जिल्ला कमिटीको सहसचिव भएर काम गरेका थिए ।

गीत संगीतमा रुची राख्ने विक अभिनय, निर्देशन र कथा लेखनमा पनि सक्रिय छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सुदूरप्रदेश कमिटी सदस्य समेत हुन् । युवा परिचालन गर्न सक्ने क्षमता भएका र नेतृत्व सीपमा अब्बल राजेशको आगमन प्रति नेकपा बडिमालिका नगर कमिटी आशावादी देखिएको छ ।

सदरमुकाम मार्तडी भित्रकै वडाको युवा परिचालन, पार्टी गतिविधी सञ्चालनमा गर्नु पर्ने सक्रियता र समन्वयमा राम्रो क्षमता भएकै कारण सर्वसहमतिमा राजेश विकलाई अध्यक्षमा निर्वाचित गरिएको नेकपा नेता एवं बडिमालिका नगरपालिकाका नगर इन्चार्ज विनोद कुमार विकले बताएका छन् ।

जिल्ला कमिटीका नेताहरुसँगको पराशर्म र वडा भित्रका अगुवा नेता तथा युवाहरुसँगको छलफल पछि राजेशलाई नै अध्यक्ष बनाईएको विकको भनाई छ । वडा कमिटी अध्यक्षको भूमिकामा रहेका गचे चदारालाई भने नगर कमिटीमा सिफारिस गरिएको छ । 

सपथ ग्रहण कार्यक्रममा सहभागिहरुले पनि वडामा पार्टीका गतिविधीमा सक्रिय भएर लाग्नु पर्ने र लाल किल्लालाई थप एकीकृत र एकतावद्ध भएर लैजाने काममा भूमिका खेल्न सुझाव दिएका छन् । 

राजनीति प्रतिको आस्था र गर्न सक्ने आँट अनि सबैतिरको सकारात्मक सल्लाहपछि अध्यक्ष हुने निर्णयमा पुगेको सपथ ग्रहण पछि राजेश विकले प्रतिक्रिया दिएका छन् । कार्यक्रममा वडाका अगुवा नेताहरु काशी नेपाली, किट्टो ल्वार, काल्चे दमाइ, सूर्यकिरण विक सहीत ६० बढी सहभागि रहेका थिए ।    



शनिबार १७, साउन २०७७ ०४:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.