जगन्नाथ गाउँपालिकामा विद्यालय सञ्चालन, साउन १५ देखि पठन पाठन सुरु

नजिक न्युज संवाददाता    

जगन्नाथ गाउँपालिकामा विद्यालय सञ्चालन, साउन १५ देखि पठन पाठन सुरु

बाजुरा : जगन्नाथ गाउँपालिकाले विद्यालय सञ्चालनमा ल्याएको छ । विद्यालय सेवा क्षेत्र भित्रका सबै सामुदायिक विद्यालय साउन १५ गतेदेखि सञ्चालनमा ल्याएको छ । पठन पाठन नै सुचारु गर्ने गरी गाउँ कार्यपालिकाको निर्णय अनुसार विद्यालय सञ्चालन गरिएको रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन् ।

गाउँ कार्यपालिकाले साउन १५ देखि नियमित पढाइ सञ्चालन गर्ने निर्णय गरेको थियो । साउन १५ सम्म भर्ना र पाठ्य पुस्तक वितरण कार्य सकिएको र १५ गतेबाट पढाइ सञ्चालन गरिएको हो । सामाजिक दुरी कायम गरी पठन पाठन सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाहीले बताएका छन् ।

आइसोलेशन र क्वारेन्टाइन बनाईएका विद्यालयलाई सेनिटाइज पछि र विद्यार्थी, शिक्षक अभिभावक तथा सरोकारवाला निकायसँगको सहकार्यपछि विद्यालय सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत विनोद गैरेले बताएका छन् । 

साउन १५ देखि गाउँपालिका भित्र रहेका सम्पूर्ण १७ वटै विद्यालय सञ्चालन भएका छन् । जिल्लामा देखिएका ५ सय २० जना कोरोना पोजेटिभ मध्ये २ जना मात्र कोरोना संक्रमति भेटिएका थिए । जोखिम पनि कम रहेको र विद्यालय सञ्चालन गर्न पनि आवश्यक देखिएकोले पढाइ नै सञ्चालन गर्ने गरी विद्यालय खुलाएको गाउँपालिकाले बताएको छ ।

सरकारले भदौ १ गतेपछि मात्र भर्ना लिन निर्देशन जारी गरेको छ । तर बाजुराकै अन्य स्थानीय तहको हकमा पनि भर्ना र पाठ्य पुस्तक वितरणका कार्य सकिसकेका भएपनि पढाइमात्र सञ्चालन गरेका छैनन् । जगन्नाथ गाउँपालिका जस्तै जिल्लाका केही संस्थागत विद्यालयमा पनि पढाइ सञ्चालन गरिएको छ । 



शुक्रबार १६, साउन २०७७ ०८:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.