कैलालीमा सवारी पासको दुरुपयोग गर्ने २ जना चालकसहित बस नियन्त्रणमा

नजिक न्युज संवाददाता    

कैलालीमा सवारी पासको दुरुपयोग गर्ने २ जना चालकसहित बस नियन्त्रणमा

धनगढी : कैलालीमा सवारी पासको दुरुपयोग गर्ने २ जना चालकसहित बस नियन्त्रणमा लिइएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका वडा नम्वर ४ बाट दुई बस र दुई जना चालकलाई नियन्त्रणमा लिएको हो। 

अछाम जिल्लाको चौरपाटी गाँउपालिका वडा नम्वर ५ बस्ने चालक गोकुल खड्का र धनगढीबाट अछाम तर्फ गईरहेको उनले चलाईरहेको ना ४ ख ९९७२ नम्बरको बस प्रहरीले नियन्त्रणमा लिएको हो।

सवारी पास चेकजाँच गर्दा १३ जना यात्रु लैजाने अनुमती भएको र उक्त बसमा २२ जना यात्रुहरु बोकेको फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए। 

यस्तै कन्चनपुरको पुनरवास नगरपालिका वडा नं. १० बस्ने भरतसिंह धनाडीलाइ पनि प्रहरी पक्राउ गरेको छ। महेन्द्रनगरबाट बैतडी तर्फ गईरहेको ना ७ ख २७२३ नम्बरको बससहित उनलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक विष्टले बताए।

सवारी पासमा १८ जना यात्रु लैजाने अनुमती भएको र उक्त बसमा ३२ जना यात्रुहरु रहेकाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।दुई वटा बस र बस चालकहरुलाई संक्रामण रोग ऐन २०२० बमोजिम आवश्यक कारवाहीका लागी जिल्ला प्रशासन कार्यालय कैलालीमा पठाईएको छ। 
 



शुक्रबार १६, साउन २०७७ ०७:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.