पुष्पकमल दाहाल ज्यू ! तपाईं नेकपाको प्रणाली बन्न क. पुष्पकमल दाहाल नै रहनुस्

नजिक न्युज संवाददाता    

पुष्पकमल दाहाल ज्यू ! तपाईं नेकपाको प्रणाली बन्न क. पुष्पकमल दाहाल नै रहनुस्

– लाल बहादुर ओली
निर्वाचन आयोगमा नेकपा (एमाले) दर्ता गराउने कार्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपि शर्मा ओलीले गराउनु भएको हो भन्ने प्रसंगसँग गोपाल किरातीलाई नेकपा माओवादी केन्द्र दर्ता गर्न लगाउने काम पुष्पकमल दाहालले गराउनु भएको हो भन्यो भने नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रको एकता भित्रको रथले कस्तो गति लिन्छ? अमेरिकाको राष्ट्रपति बन्नमा अब्राहम लिंकन एक्लै थिएनन् । सहयोगमा लामो लिष्ट भएको टिम थियो । मोहम्मद मोहशिन नचाहेरै पनि ९५ वर्षको उमेरमा पुनः मलेशियाको प्रधानमन्त्री बन्न जनमत बन्नुमा सहयोद्धाहरुको ठूलो लस्कर छ । 

नरेन्द्र मोदीको नेतृत्वमा बनेको सरकारको उनकै पार्टी भारतीय जनता पार्टीका अध्यक्षले गृहमन्त्रीको जिम्मेवारी सम्हालिरहँदा गुहमन्त्रीले मोदी सरकार भनेर सार्वजनिक सम्बोधन गरेकोसुनेका छौं । नेताहरुले पनि सुन्नुभएकोहोला । माओ–त्से–तुङ्गको नाम लिऔं वा होची मिन्हा, ल्यू आन क्यु हुन् वा महात्मा गान्धी, पृथ्वीनारायण शाह हुन् वा भ्लादीमिर इलिच लेनिन्, क्रान्तिको मोर्चामा एक्लो सफल भएका होइनन् । 

क्रान्तिमा एक्लैले विजय लिएर राजनीतिक दल र देशको शासनसत्ता सम्हाल्न पुगेका होइनन् । पुष्पकमल दाहाल क. प्रचण्ड भएर नेपाली सशस्त्र द्वन्द्वकोवैचारिक नेतृत्व गर्नुभयो । तर बन्दुक र बारुदको नेतृत्व गर्दै प्रयोग गर्ने त कैयौं नेपाली आमा–बाका सन्तान अरु नै थिए । पाँच हजार युवा–युवती मारेको जिम्मेवारी आफूले लिन्छु भनेर सार्वजनिक कार्यक्रममा व्यक्त पनि गरिसक्नुभएको छ । 

१२ वर्षसम्म चलेको उक्त सशस्त्र संघर्षमा करिब १७ हजार मान्छेको ज्यान गएको छ । कैयौं घाइते भएर अहिले पनि सकसको जिन्दगी बिताईरहन वाद्य छन् ।यस राजनीतिक आन्दोलनको राजनीतिक क्षेत्रमा जस जति क. प्रचण्डमा गएको हामीले देखिरहेकै छौं । यसमा कसैको गलफत्ति छैन । हुनु पनि हुँदैन ।

 किनकी क. प्रचण्डले वैचारिक भारी बोक्नुभएकोथियो । नेतृत्व गर्नुभएकोथियो । युवाको मनमा जोस, मस्तिष्कमा सपना भरेर जुरुक्क उठाउनुभएकोथियो । नेपाली धर्तीमा छमछमी क्रान्तिमा लाम लगाएर कम्पन उत्पन्न गराउनुभएकोथियो । भलै मान्छे मारेर विचार मुडो बन्दैन भन्ने कुरा थाती राख्नुभएकोथियो । 

माथि उल्लेख गरिएका विभिन्न सफल नेतृत्वहरुको नाम लिनको कारण ती व्यक्तिहरुका साथ आन्दोलनको मोर्चामा उभिने तमाम् थिए ।तर राष्ट्रिय तथा अन्तराष्ट्रिय समुदायमा उल्लेखित नेताहरुको नाम मात्र किन दरियो भनेर प्रश्न उठेको कहिं पढ्नुभएको वा सुन्नुभएको छ? ती क्रान्ति, आन्दोलनको इतिहासमा अरु तमाम् नेताहरुले सहयोद्धाको भूमिकामा सान प्राप्त गरेका छन् । फूटबल खेलाडीमा क्याप्टेन एक्लै गोल हानेर टिमलाई विजय गराउँदैन । सबै अरु १० जना उत्तिकै सक्षम र टिमप्रतिको माया भएका खेलाडी शरिर फालेर खेल्छन् । तर विजयको जयकार गोलपोष्टमा भकुण्डो छिराउनेको नाममा बस्छ । अरुको नेतृत्व स्वीकार्ने संस्कृतिले आफूलाई महान बनाउँछ – “आफू हात न्युरिए, अर्को बित्ता न्युरिन्छ ।”

दलीय संरचनामा बनेको सरकार पक्कै पनि विवेकले नै चल्नुपर्दछ । यसमा वहस गरिरहनुपर्दैन । क. पुष्पकमल दाहालका अनुसार पार्टी भनेको विवेक हो । वा टाउको हो । शरिरका अन्य अंगहरु टाउकोको संकेतमा चल्नुपर्दछ । शासनसत्ता संचालनको क्षेत्रमा क. केपि ओली विवेकले नै चल्न पाएका छन् वा चलेका छन् भनेर पूराका पूरा दावी गर्ने ठाउँ छैन पनि होला। अथवा, भनौं अहिलेकोे सत्ता विवेकले चलेको छैन । 

वा, चल्न दिइएको छैन । चल्न दिइएको छैन भन्ने आधार किन लिएको भने केपि ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट बहिर्गमन गराउने रटान सफल हुने नदेखिए पश्चात दुई मध्ये एक पद छोडे पनि मान्छौं भनेर यहाँहरुको प्रस्ताव पेश हुँदा छोड्नै पर्ने भए प्रधानमन्त्री पद छोड्ने भनेर केपि ओलीलाई सुझाब दिने को हुन्? यस्तो सुझाब दिने नेताहरु देश र जनताको हित र भविष्य, जनताको मन, मुटु, मस्तिष्क तताइरहेका राष्ट्रिय मुद्धाहरुलाई नेपालको पक्षमा बैठान गर्ने भन्दा पार्टीसत्तामा आफ्नो पदको बढुवा, थमौती, रमौती गराउन चाहने प्रवृत्तिको याचना हो । 

सडक र छाप्राका जनताको अवस्था उकास्न तलतिर हेरेरसुझाब लिने परिपाटी पार्टीमा बसाउन चाहनुहुन्छ भने नेकपाको एकता महाधिवेशन नगरी केपि ओलीले दुवै पद छोड्नुहुँदैन । किनकी पार्टी एकिकरणको सर्तमा “दुई टाउका एक मन, चार हात एक कलम, चार गोडा एकै ताल” बनाइएको छ । एक जहाज दुई चालक मानिएको छ । निश्चित प्रक्रिया पूरा नगरी पाइलट बन्छु भनेर जहाजको परीक्षण उडान गरेर दुर्घटनामा पार्न पाइँदैन । यदि देशको हित, राष्ट्रियताको जगेर्ना, जनताको भलाइमा पार्टीको सर्वसम्मत, सशर्त राय बन्यो र एक पद छोड्दाक. केपि ओलीले पार्टी अध्यक्ष छोडेर प्रधानमन्त्री सम्हाल्नु पर्दछ । 

किन? जनताको वहुदलिय जनवादको जगमा बनेको बि.सं.२०५१ सालको नेकपा (एमाले) तथा क. मनमोहन अधिकारीको नेतृत्वको सरकारले ल्याएको जनपक्षिय, समाजवाद उन्मुख नीति र कार्यक्रमको उपज अहिलेको नेकपा हो भन्नेमा जगत स्पष्ट छ । यदि यसमा कसैलाई विश्वास छैन भने त्यो केवल भ्रम हो । पाँच वर्षीय यस शासनकालका बाँकी तीन वर्ष तपाईंहरु वा पार्टीले सहयोग ग¥यो,सरकारका नीति र कार्यक्रमका असल डोबहरु जनताको अनुभूतिमा आकार बनाएर बसाएको खण्डमा दशकौंसम्म नेकपाको सरकारबाट जनमुक्ती अभियान जीवित रहनेछ । 

पार्टीको काम गर्न त कार्यकर्ता छन् । दोस्रो पुस्ता भनिने नेता छन् । अहिलेको नेकपा सरकारलाई प्राप्त जनमत नेतृत्व माथिको जनविश्वास थियो भन्ने सत्य बिर्साएर उरालिने हो भने पार्टीमा भोली कसैले कसैलाई नटेर्ने अराजकता बढ्ने शिष्ट गठिलो हुन्छ । हुन त नेपालमा पार्टी भनेको एक–आध दर्जन नेताहरुको सिन्डीकेटहुन् भन्नेमा कार्यकर्ता मात्र होइन, जनता पनि प्रष्टिसकेको छ । 

तपाईंहरुले प्रशिक्षण गर्ने गरेको “निर्णयमा जनवाद र कार्यान्वयनमा केन्द्रियता” तपाईंहरुकै भाषणबाट उल्लंघन भएकाछन् । नेतृत्व भनेको तत्कालको परिस्थिति र आवश्यकताले उपलब्ध समान मध्येबाट माथिल्लो पदको जिम्मेवारी सम्हाल्ने निर्णय हो । भन्न नपर्ने हो । तपाईंहरुले आफ्नो दैलौ धाउने कार्यकर्ता छानेर कोठामा भेला गराई उत्तेजित प्रस्तुती गरी आफ्नै नीति र समर्थनको विरोध गर्दै ताली पिटाउनु हुन्छ । 

म जस्ता कार्यकर्तामा दोधार सृजना हुन्छ । तपाईंहरु पार्टी एकतालाई बलियो बनाउने भित्री छलफलमा जुटिरहनु भएको बेला केपि ओलीले सडकमा केहि उरंठ्याउलाहरुलाई बरालिन लगाएछन् रे । घरदैलो चाहार्ने मध्येबाट छानिएकाहरु कोठा (हल) मा बोलाएर नेताहरुमै सल्लाह भैरहेका कुरा विरुद्ध उरालेर ताली पिट्न लगाउनुलाई हामीले के बुझ्ने ?

तपाईंहरुलाई भ्रम छ । कार्यकर्ता भनेका तपाईंहरुको दैलोमा आएर आफूलाई मन नपरेका नेताहरुको चुक्ली लगाएर आफ्नो अस्तित्व जोगाउन खोज्नेहरुको झुण्ड मात्र हो भन्ने । पार्टी नीतिलाई भन्दा चाकरीलाई मान्ने हो भने म पनि तपाईंको दैलोमा कति पटक टुपुल्किन्थेंहोला । केपि ओली दोस्रो पटक प्रधानमन्त्री बन्नुभएपछिको वधाई र शुभकामना भेटमा मैले भनेकोथिएँ कि हामी गाउँमा जनतासँग हुन्छौं ।

 तपाईंहरुलाई बेलाबेला भेट्न आउनु भनेको देशको लागि लगाउनु पर्ने तपाईंहरुको महत्वपूर्ण समय गफमा वार्वाद गर्नु हो । तर मैले भनेर के गर्नु वहाँलाई पर्दाभित्रै राख्ने झुण्ड त महमा झिंगा जस्तो भएकोभएै छ । 

क. पुष्पकमल दाहाल कोठामा हुनेबैठक र छलफलमा श्री पुष्पकमल दाहाल नै रहनुहुन्छ भने केही टाउका जम्मा भएको भिडमा प्रचण्डको सवार गराइहाल्नुहुन्छ र वर्वाद पार्छ । क. पुष्पकमल दाहाल बोल्नुभएको बेला मेरो गौरव बोलेको, मेरो क्रान्तिकारी ओज बोलेको, नेता बोलेको आत्मगौरव हुन्छ । प्रचण्ड बोलेको बेला भने सबै “आत्मगौरव हावामा बालुवाको घर” भैदिन्छ । यसैले म अनुरोध गर्छु –नेकपाका अध्यक्ष क. पुष्पकमल दाहाल भएरै आफूलाई सम्हानुस् । स्मरण गराउन चाहन्छु किनेकपाको विवेकको स्टिरिंग त केपि ओलीे र तपाईंकै हातमा सुम्पेको । यो त तपाईंहरुकै साहस हो ।

 कसले सपना देखेको थियो? दुई पार्टी एक हुने । कम्युनिष्ट पार्टीको वहुमतको सकार बन्ने । अरु त कि केपि ओलीका सहयोद्धा कि पुष्प कमल दाहालका । मैले कुनै नेताको मानमर्दन गर्न खोजेको वा कुनै आग्रह बोलेको होइन । वहाँहरु तपाईंहरुको दैलो चाहारेर एक अर्काको खुट्टा तानेर पछार्न हारगुहार गरेकोबाट स्पष्टिन्छ । आफू समान तहको नेता हुँ भन्ने आत्मविश्वास गुमाएका छन्, धेरैले । 

क. केपि ओली तथा नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्रीको कार्यशैलीमा सुधार गर्नुपर्ने तमाम् क्षेत्र छन् । यसका लागि वहाँको सल्लाहकार तथा सहयोगी टिम नै लोकतन्त्रको रटान होइन, अभ्यास गर्ने मान्छेबाट लिइनुपर्दछ भन्ने कुरा मैले धेरै माद्यमबाट सार्वजनिक गर्दै आएको छु । संसारका मजदुर एक हौं भन्ने पार्टीको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार आफ्ना सदस्यहरु वाक्क नहुँदासम्म दशकौं नेतृत्वमा थामिनु भएकोबाट धेरै स्वस्थ प्रजातान्त्रिक सल्लाह हुन्छ भन्ने विश्वास कम्तिमा मलाई कमै छ ।

 नेपालमा धेरै संस्थामा यो रोग नै छ । नेपाली काँग्रेस नजिक रहेको ट्रेड युनियनका एक जना पूर्व अध्यक्षको याद आउँछ । सबै मजदुर सदस्य वाक्कदिक्क हुँदासम्म पनि नेतृत्व नछोड्ने भएपछिपार्टी सभापति गिरीजा प्रसाद कोईरालाले वहाँलाई राष्ट्रिय सभा सदस्यमा चयन हुने वातावरण दिनुभयो । सदस्य बन्नुभयो । राष्ट्रियसभाको कार्यकाल सकिएपछि नेपाली काँग्रेसको राजनीतिक वृत्तमा वहाँको नाम पनि नामेट भैहाल्यो । यस्तै हुन्छन् नेताका विश्वासपात्र, जसले विश्वासपात्रको रुपमा नेतालाई सखाप पार्ने मार्ग बनाएको थाहै हुँदैन । 

सायद लाग्दोहोला, भविष्यको के भरोसा? अहिले वहुमत भएको बेला दई वर्ष प्रधानमन्त्री बन्न पाए त गहिरो निद्रा पर्छ । बेलाबेला केपि ओलीको कार्यक्षमता माथि प्रश्न उठाइन्छ । उठाउन मिल्दैन भनेको भने होइन । वहाँबाट पार्टी पनि चलेन । सरकार त झनै खत्तम । यसको जिम्मेवारी त केपि ओलीले लिनैपर्छ । तर क. पुष्पकमल दाहाल ज्यूबाट एक वाक्यमा मेचम्ची जस्तो राष्ट्रिय गौरवको आयोजनाको परीक्षण गर्दा सुरुंग भत्केपछि विभागीय जिम्मेवारहरुले जिम्मेवारी लिनुपर्छ भनेको सुन्न पाइन्छ कि भनेको?आजसम्म कान थापेको थापै छ । सुनिएन । सरकारको कार्यकुशलता खोज्ने तर अयोग्यहरुको पद थमाउन पार्टी र सरकारको नेतृत्वमा मोलमोलाई गर्ने कार्य पनि त कम जिम्मेवार छैन होला नि । 

भर्खरै परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले काभ्रेमा एक सभालाई सम्बोधन गर्नु भएछ । भन्नु पनि भएछ सरकारकै निर्णय, मान्यता, आचार विपरित भएको त हो । तर भाषण पनि गरेकै हो । पुष्प कमल दाहाल र वहाँका एक नव सहयोद्धा तथा पार्टीका नेताले पनि ४२ औं पुष्पलाल जयन्तीका अवसरमा एक हल भरि मान्छे जम्मा गरेकै हो । कुण्ठा ओकलेकै हो । यहीर यस्तै असम्वेनशील कारणले कोरोना संक्रमणले चौडाइ लियो भने प्रधानमन्त्री केपि ओलीको औकातमा बन्चरो हानेर आफू उम्किने बाटोमा सबै अँगालकण्डी पारौंला भन्ने समझदारी भएकै होला । 

सरकारको सफलतामा आफ्नो चाकरीको गोलचक्करमा उत्तिर्णलाई ऐनमौकामा चौका पारेर सर्वसुलभ पद धारण गराएर, सरकारको नीति–कार्यक्रम कार्यान्वयनमा असहयोग गराएर आज केपि ओलीको कार्यसम्पादनमा प्रश्न उठाउनेहरु भोली यहाँको कुर्सी मुनि पनि ऐंजेरुको काँडा रोप्ने छन् भन्ने हेक्का रहोस् । नेकपा माओवादी केन्द्रबाट मोहन वैद्य, बाबुराम भट्टराईहरुलाई भीरको बाटो लगाएर आफू रेलिंग भित्रै रहे जस्तो यो नेकपा भित्र सम्भव छैन । त्यहाँ प्रचण्ड नै हुनुहुन्थ्यो र सम्भव भयो । अहिले त क. पुष्पकमल दाहाल भैसक्नु भएको छ । कार्यकर्ता विचारले बनेका छन् । तोकादेशले पदमा पुगेका होइनन् । दशकौं जनतासँग संगतमा रहेका नेताहरु छन् ।कुनै घटनाबाट सृजित धक्काको छालले बीच समुद्रमा ल्याएका होइनन् । जनता जनताको वहुदलिय जनवादको भित्री मर्मबाट दीक्षित भएकाछन् । घोषणा–पत्र र राजनीतिक प्रतिवेदनका पानाहरुमा लेखिएका वाक्य घोकेका कार्यकर्ता मात्र होइनन् । 

यहाँ जनताले कसलाईभन्ने? कसबाट राजनीतिक सदाचार, निष्ठा, जनउत्तरदायित्व पूरा गर्ने व्यवहारको अपेक्षा गर्ने? निर्वाचनमा जनताले सुध्रिएर आउन भनेर आदेश दिन्छन् । झ्यालबाट छिरेर प्रधानमन्त्री, मन्त्री पड्काउँछन् । राजनीतिक, कुटनीतिक, विज्ञ आवश्यक पर्ने ठाउँमा कार्यकर्तालाई जागीर लगाइन्छ । यो गणतन्त्रात्मक नयाँ व्यवस्थाको विधि नै होला भनेर जनता सहिदिन्छन् ।

 जनक्रान्तिको नाममा हजारौं नेपाली मारिन्छन् । तर पार्टीका उच्च तहमा आसिन नेताका छोराछोरी मात्र होइन, सालासाली पनि लाभका पदमा भरिभराउ हुन्छन् । गोली लागेर घाईते भएकाहरुले उपचार पनि पाउँदैनन् । पार्टीलाई विधि, नीतिमा लैजानुपर्छ भनि गरेको बखेडा बुझ्दा कमरेडहरुको लागि पद बाँड्ने, पाउने, दिने बाहेक अर्को होइन भन्ने कुरा करिब दुर्ई महिनाको स्थायी कमिटीको बैठकको रहलबाट नेकपाका कार्यकर्ता मात्र होइन, जनता नै दिक्क भैसक्यो, तपाईंहरु रमाईलो गर्दै हुनुहुन्छ । 

नेकपाका कार्यकर्ता तपाईंको बोलीमा ओज मात्र होइन, लय र ठेगाना पनि खोजिरहेकाछन् । केपि ओली र तपाईंले बोलेको दुईटा विवेकको निष्कर्ष एकै जिब्रोले बोलेको हो भन्ने ठम्याइ खोजिरहेकाछन् । दुईटा विवेकले चाकरीवाजको घेरा तोडेर सहयोद्धा नेता र कार्यकर्तामा विश्वास गर्ने आँट खोजिरहेकाछन् । 

राजषी छाँट होइन, आधारभूत सुरक्षा बाहिर जनकवच बनाउने विश्वास भएको हेर्न चाहेकाछन् । केपि ओलीलाई राज्यसत्ता र पार्टीसत्ताको सफल क्याप्टेन बनाउने खेल मैदानमा तपाईंका गोडाको चाल विश्लेषण गरिरहेकाछन् । यसैका आधारमा भोली तपाईंले पास पाउने नपाउने मार्ग कोर्नेछन् । नेकपाका कार्यकर्ता तपाईं प्रचण्डबाट क. पुष्पकमल दाहालमा पुनर्वहाली भएको सपना साकार भएको हेर्न घचेटाघचेटमा छन् । बाँकी जो यथाशीघ्र पार्टी एकताका कार्य सम्पन्न गरेर विचार र नेतृत्वका लागि समयमै एकताको महाधिवेशन गरेर स्वःविवेकमा निर्णायक मत जाहेर गरेर पार्टीको मार्ग दिगो बनाउन आतुर छन् । 

धन्यवाद ! 

तीन दशक लामो सामाजिक विकासको क्षेत्रमा काम गरेका ओली नेकपा बाजुराका कार्यालय सदस्य हुन् । 

 


 



बुधबार १४, साउन २०७७ १२:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.