वाह ! क्या सुन्दर बडिमालिका - हेर्न जाने होइन !

गन्तव्य पहिचान  (फोटो फिचर सहित)

नजिक न्युज संवाददाता    

वाह ! क्या सुन्दर बडिमालिका - हेर्न जाने होइन !

बाजुरा : बडिमालिका धार्मीक तथा पर्यटकीय दुबै दृष्टीबाट चर्चित गन्तव्य । ५ महिना हिँउ र ४ महिना कुहिरोले ढाक्ने प्रकृतिको अनुपम उपहार जस्तै लाग्छ बडिमालिका । उक्त क्षेत्रबाट बाजुरा सहीत अछाम, बझाङ्ग, डडेल्धुरा र डोटी तथा मध्यपश्चिमका कालीकोट, मुगु लगायतका जिल्लामा यो दृश्य नियाल्न सकिन्छ । सुदूरपश्चिम प्रदेश को धरोहर बडिमालिका राज्यको उदासिनता र बेवास्ताले भने ओझेलमा छ । 

स्थानीयले यस क्षेत्रको धार्मिक तिर्थ स्थलमा रुपमा चिन्ने गर्दछन् । १४ हजार फिटको उचाईमा रहेको छ । बडिमालिका क्षेत्रलाई ४ महिना हिउँले ढाक्ने गर्दछ । बर्षादका अरु महिना भेडा च्याङ्ग्रा, घोडा खच्चड र भैसीहरुलाई चरिचरनमा प्रयोग हुन्छ । बडिमालिका क्षेत्रको वास्तविक महत्व कतैबाट कुनै निकायले पनि अध्ययन गरेका छैनन् । विकास र प्रवद्र्धन कसैले ध्यान नदिएको गुनासो जिल्ला बासीको छ । 

वर्षको दुई पटक गँगा दशहरा र जनै पूर्णिमाको अघिल्लो दिन साउने चतुदर्शीका  दिन भब्य मेला लाग्ने गरेको छ । त्यो समयमा सुदूरपश्चिम तथा मध्यपश्चिमका सबै जिल्ला र देशका अन्य जिल्लाबाट पनि दर्शनार्थीहरु आउने गरेको मन्दीरका पुजारी भानुभक्त पाध्यायले बताए । 

बाजुरा र कालीकोट जिल्लाको प्रमुख हक रहने गरेको छ । बडिमालिका क्षेत्र जिल्लाको बडिमालिका र त्रिवेणी नगरपालिकाको सिमानामा पर्ने गर्दछ । बडिमालिका त्रिवेणी नगरपालिकाको स्वामित्वमा रहेको छ । 

यो वर्ष साउन १८ गते मेला लाग्ने भएको छ । मेलाका लागि तत्कालिन डोटी राज्यबाट पठाउने पूजा सामान लिएर सरकारी टोली प्रस्तान गरिसकेको छ । १२ दिन लगाएर डोटीबाट र १० दिन लगाएर जुम्लाबाट सरकारीटोली बडिमालिका पुग्ने गरेको छ । गंगा दशहरामा पनि मेला लाग्ने भएपनि साउने चुतदर्शीका दिन दर्शनार्थीहरुको घुईचो बढी हुन्छ । 

मालिका देवीको स्वागतका लागि बाजुरा लगायत कालीकोट, डोटी, हुम्ला र जुम्ला जिल्लाबाट सयुक्त टाँगो (पुजापाठमा आवश्यक पर्ने सामाग्री) सहितको टोली आउने गरेको छ । २०६८÷६९ को आर्थिक वर्षको बार्षिक बजेटमा बाडिमालिका सँरक्षित क्षेत्र घोषणा गरे ता पनि आवश्यक पहल अझै सुरु भएको छैन । यो भने प्रदेश सरकारले प्रमुख गन्तव्यको सूचीमा राखेर लगानी गर्ने प्रस्ताव गरेको छ ।

प्राकृतिक अनुपम सौन्दर्यताले भरिएको शक्ति पीठ बडिमालिका माईको दर्शन गर्नाले मनको इच्छा पुरा हुने विश्वास छ । सो क्षेत्रमा २२ वटा हरियाली फाँटहरु, दुईसय जति प्रजातीका रँगीचँगी, फूलहरु १ सय बढी जातीका बहुमुल्य जडिबुटिहरु, आश्चार्यजनक पौराणिक स्थहरु, हरियाफाँटहरुको बीचबाट बग्ने आकर्षक नदीहरुको सँगम स्थल त्रिवेणी क्षेत्र प्रमुख आर्कषण हुन् । बडिमालिका क्षेत्रको दर्शनपछि फर्किने सबै लुकेको स्वर्गको संज्ञा दिने गर्दछन् । 

शुद्ध आत्म भएका दर्शनार्थी मात्र पार गर्न सक्ने धर्मद्धार आस्थाको केन्द्र विन्द जस्तै बनेको छ । गंगा दशहरामा तत्कालिन राजपरिवारको सदस्यले हेलिकप्टर लिएर जाने गरेका थिए । बडिमालिका दर्शनका लागि तत्कालिन राजा वीरेन्द्र, महेन्द्र लगायत पुगेको पुजारी भानुभक्त पाध्याय सुनाउँछन् । हालपनि नेपाली सेनाका कर्णेल तहको अधिकारीले पुजा गर्न गरेका छन् । धार्मिक आस्थाको धरोहरको पुजा पाठसँगै सम्म परेका पाटन र अन्य मनोमहक दृश्यको अवलोकन गर्नु प्रमुख लक्ष्य हुने गरेको सैनिक अधिकारी बताउँछन् । 

बडिमालिका क्षेत्रमा हयिालीफाँटमा भँेडा र घोडा खच्चडका बथानहरु बर्षादका चार महिनासम्म देख्न सकिन्छ । लोपन्मुख प्रजातीका बन्य जन्तु तथा पशु पँक्षीहरु (डाँफे, मुनाल, कस्तुरी, झारल आदि) पनि भेटीन्छन् । 

पौराणिक समयमा राक्षस र भगवती बीच लडाई हुँदा बगेको रगतको अवशेष र राक्षसहरुलाई भगाएको स्थान सुरक्षित छ । यो दृश्य नियाल्न भारतको काशी, उत्तराअञ्चलका विभिन्न क्षेत्रबाट आउने गरेका छन् । खेतीवेती भन्ने स्थानमा धान रोप्नका लागि बनाएका गरा, धानको बीउ खेत जस्ताको तस्तै देखिने   आश्चर्यजनक दृष्यलेपनि दर्शनार्थीको मन लोभ्याउने गरेको छ । 

निसन्तानीलाई सन्तान, गरिबलाई धन, जस्तै मागेको वर पाइन्छ भन्ने धार्मीक विश्वास छ । यहि आकांक्षा लिएर वर्षेनी हजारौ भक्तजनहरुले दर्शन गर्ने गरेका छन् । बडिमालिका क्षेत्रमा मार्तडीबाट तीन दिनमा पुग्नु पर्ने मान्यता छ । बीचमा भैसी गोठ र पाल टाँगेर बस्नु पर्ने बाध्यता छ । 

त्रिवेणीमा पीतृकार्य पनि गरिन्छ । सो ठाउँमा कालीकोट र बाजुराले धर्मशाला निर्माण गरेपनि त्यो मासलाई धान्न सक्ने छैन् । दर्शनार्थीको आवास र बसोबासका लागि कुनै व्यवस्था गरिएको छैन् । 

राज्यको प्रमुख निकायमा बस्ने व्यक्तिबाट हेलिकप्टरबाट पुजापाठ र दर्शन गरिन्छ । तर त्यसको विकास र प्रवद्र्धनमा ध्यान गएको छैन । पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पहल भएको छैन् । बडिमालिका क्षेत्रको महिला र गरिमा सुदूरपश्चिमका अन्य जिल्लामा छैन्, भन्छन् त्यस ठाउँमा पुगेर फर्केकाहरु ।

बडिमालिमा सबै थोक छ, प्रकृतिको अनुपम उपहार हो, भन्छन्, उद्योग वाणिज्य संघका अध्यक्ष देवबहादुर रोकाया । राजनीतिक स्तरबाट पनि जिल्लाका बडिमालिका लगायतका गन्तव्यको प्रवद्र्धनमा पहल गरिएको छैन् । 

आर्थिक श्रोत संकलन र जिल्लाको पहिचानमा योगदान पुग्ने गन्तव्यलाई नै बेवास्ता गरेको प्रति नागरिक अगुवाहरु गुनासो गर्ने गरेका छन् । बडिमालिका क्षेत्रको विकास गर्नसके सुदूर पश्चिमका अन्य गन्तव्यलाई पनि राज्यको मुल प्रवाहिकरणमा लिन सकिने निश्चित छ । 

 

 



मङ्गलबार १३, साउन २०७७ ०८:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.