कार्यकक्ष मै कुटपिटबाट स्वास्थ्य कर्मीको हात भाँचियो

नजिक न्युज संवाददाता    

कार्यकक्ष मै कुटपिटबाट स्वास्थ्य कर्मीको हात भाँचियो

कोल्टी : कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा कार्यरत स्वास्थ्य कर्मी माथि कुटपीट भएको छ । रातीको समयमा उपचारका लागि गएको केसर भाट सहीतको टोलीले कार्यक्षेत्रमा खटिएका अहेब सिंहराज गिरीमाथि कुटपीट भएको हो ।

कुटपीटबाट गिरीको दाहिने हात भाँचिएको छ । रातको डिउटीमा रहेका अहेब गिरी माथि एकाएक आक्रमण गरिएको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर राजुराज जैशीले बताएका छन् । जैशीका अनुसार उपचार गरिदिन अनुरोध गरी कार्यकक्षमा प्रवेश गरेको बुढीनन्दा नगरपालिका ६ का केशर भाट सहीत नेतृत्वको टोलीले आक्रमण गरेको बताएका छन् ।

गिरीलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । राती साढे ११ बजे आक्रमण गरिएको कार्यालयले विज्ञप्ती जारी गरी जानकारी गराएको छ । केही दिन पहिले कार्यालय प्रमुख डाक्टर राजुराज जैशी माथि नै अभद्र व्यवाहार गरिएको विषयको चर्चा सेलाउन नपाउँदै स्वास्थ्य कर्मी माथि आक्रमण गरिएको छ ।

कोल्टी क्षेत्रमा स्वास्थ्य कर्मीका लागि सुरक्षित वातावरण नभएकै कारण चिकित्सक नबस्ने गरेको आरोप लागिरहेपनि आक्रमण तथा आरोप प्रत्यारोपका श्रृखलाहरु घटेका छैनन् । यता प्रहरीले गिरी माथि आक्रमण गर्ने तीन जनालाई नियन्त्रण लिइसकेको बताएको छ ।

कुटपीटमा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाउन प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताएका छन् । प्राथमिक स्वास्थ्य केन्द्रले पनि सुरक्षाको ग्यारेन्टी सहीत दोेषीलाई कारवाहीका लागि माग गरेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डा राजुराज जैसीको हस्ताक्षरित विज्ञप्तीमा अमानवीय घटना घट्नुले अहोरात्र निवार्थ सेवामा तल्लीन समग्र स्वास्थ्यकर्मीको मनोबल गिर्ने र सेवा प्रवाहमा समेत गम्भीर असर पर्ने हुदा नेपाल सरकार, प्रदेश सरकार, गृह प्रशासन र स्थानिय सरकार संग सुरक्षाको प्रत्याभुति गर्न आग्रह गरेको छ । 



सोमबार १२, साउन २०७७ ०८:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.