पीएसजी च्याम्पियन : नेमारको निर्णायक गोल

नजिक न्युज संवाददाता    

पीएसजी च्याम्पियन : नेमारको निर्णायक गोल

रोम : फ्रेन्च कप फुटबल प्रतियोगिताको उपाधि पेरिस सेन्ट जर्मन (पीएसजी)ले जितेको छ। पीएसजीले शनिबार बिहान खेलिएको फाइनल खेलमा सेन्ट एटिनलाई १–० गोलले हराउँदै उपाधि चुमेको हो। यसअघि फ्रेन्च लिग फुटबलको उपाधि पनि पीएसजीकै पोल्टामा परेको थियो।

पीएसजीको जितमा चर्चित ब्राजिलियन खेलाडी नेमारले निर्णायक गोल गरे। स्पेनिस ला लिगा क्लब बार्सिलोना छाडेर पीएसजी पुगेको नेमारले प्रतिस्पर्धात्मक खेलको १४औं मिनेटमा टोलीका लागि विजयी गोल गरेका थिए। केलियन एमबाप्पेको प्रहारलाई सेन्ट एटिनका गोलरक्षकले पन्च गर्दै पुनः मैदानमै फर्काइदिएपछि सोही अवसरको फाइदा उठाउँदै नेमारले गोल गरेका थिए।

खेल अवधिभर सेन्ट एटिनले बलियो पीएसजीलाई दबाबमा राखेको थियो। पहिलो हाफमै सेन्ट एटिन १० खेलाडीमा समेटिएको थियो। तर, पीएसजीले त्यसको फाइदा उठाउन सकेन। निर्धारित समयको ३१औं मिनेटमा सेन्ट एटिन १० खेलाडीमा समेटियो। सेन्ट एटिनका लोइक पेरिन सीधै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए।

पीएसजी सबैभन्दा बढी फ्रेन्च कपको उपाधि जित्ने क्लब हो। हालसम्म पीएसजीले १३ पटक फ्रेन्च कपको उपाधि चुमिसकेको छ। अघिल्लो सिजनको उपाधि भने रेन्सले जितेको थियो। त्यति बेला फाइनलमा रेन्सले पीएसजीलाई नै हराएको थियो। त्यसअघि लगातार चार पटक पीएसजीले नै उपाधि हात पारेको थियो।

कोरोना भाइरसको महामारीका कारण फ्रेन्च कपको फाइनल खेल पनि लगभग दर्शकविहीन रंगशालामै खेलाइएको थियो। यद्यपि ८० हजार दर्शक क्षमताको रंगशालामा पाँच हजारलाई भने प्रवेश दिइएको थियो। खेल सुरु हुनुअघि फ्रान्सका राष्ट्रपति एमानुयल म्याकरोनले मैदानमा दुवै टोलीका खेलाडीलाई भेटेर शुभकामना दिएका थिए।

उपाधि जिते पनि पीएसजीका लागि उक्त खेल केही दुःखद पनि बन्यो। खेलको २६औं मिनेटमा पीएसजीका प्रभावशाली खेलाडी केलियन एमबाप्पे घाइते भएका छन्। सेन्ट एटिनका लोइक पेरिनले खतरनाक ट्याकल गर्दा एमबाप्पे घाइते भएका हुन्। घाइते एमबाप्पेलाई तत्काल मैदानबाट बाहिर निकालिएको थियो।

सोही कारणले सेन्ट एटिनका कप्तान पेरिनले पनि रातो कार्ड पाउँदै मैदान छाड्नु परेको थियो। आफ्ना कप्तानलाई रातो कार्ड देखाइएपछि सेन्ट एटिनका खेलाडी विवादमा ओर्लिएका थिए। त्यसैले फाइनल खेल केही समय अवरुद्ध बन्न पुगेको थियो। पुरस्कार वितरण समारोहमा भने एमबाप्पे उपस्थित भएका थिए। स्वास्थ्य परीक्षणपछि मात्र उनको चोटको विषयमा बताउन सकिने पीएसजीले जनाएको छ।

‘राम्रो खेलेकाले नै हामी उपाधिको हकदार बनेका हौं’, खेलपछि पीएसजीका प्रशिक्षक थोमस टुचेलले भने। सेन्ट एटिनका केही खेलाडी खेलभन्दा पनि शारीरिक घम्साघम्सीमा ओर्लिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। सेन्ट एटिनले भने हालसम्म ६ पटक फ्रेन्च कपको उपाधि जितेको छ। सेन्ट एटिनले पछिल्लो पटक सन् १९७७ मा फ्रेन्च कपको उपाधि जितेको थियो।



सोमबार १२, साउन २०७७ ०५:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.