बेनिशाको कत्थकदेखि कन्टेम्पोररीसम्म दख्खल

नजिक न्युज संवाददाता    

बेनिशाको कत्थकदेखि कन्टेम्पोररीसम्म दख्खल

काठमाडौं : नेपाली चलचित्रका अभिनेत्रीहरूले बेलाबेलामा राम्रो नृत्य नगरेको भनेर दर्शकबाट टिप्पणी खेप्ने गरेका छन् । तर, अभिनेत्री बेनिशा हमाललाई यस्तो टिप्पणी अहिलेसम्म सुन्नुपरेको छैन । उनको नृत्यका दर्शकले प्रशंसा नै गर्दै आएका छन् ।

गत वर्ष रिलिज भएको ब्लाइन्ड रक्सको मन उड्यो…गीतमा अभिनेत्री बेनिशाले गरेको नृत्यले निकै चर्चा पायो । उनले यो गीतमा कत्थक नृत्य प्रस्तुत गरेकी छन् ।

आफूले गरेको यो गीतको नृत्यलाई दर्शकदेखि सिनेकर्मीसम्मले मन पराउँदा आफू खुसीले पुलकित भएको बेनिशाले बताएकी छन् । यो गीतमा उनले गरेको नृत्य कुनै कुशल कत्थक कलाकारको भन्दा कम थिएन । आफूले यो चलचित्रको चार मिनटको गीतलाई करिब तीन महिना तयारी गरेको उनले बताएकी छन् ।

चितवनकी बेनिशा स्कुले जीवनदेखि नै नृत्यमा पोख्त थिइन् । बेनिशाकी आमा शकुन्तला शाही ठकुरी नेपालकै कुशल नृत्य कलाकार हुन् । ‘ममीको प्रेरणाले सात कक्षासम्म स्कुलका हरेक कार्यक्रममा मैले नृत्य प्रस्तुत गरें । आफू माविमा प्रवेश गरेपछि पढाइ बिग्रन्छ भनेर बुबाले ननाच्न सल्लाह दिनुभयो,’ उनले भनिन् । त्यसपछि आफूले प्लस टु पूरा गरेपछि मात्र नृत्य गर्न थालेको उनले बताइन् ।

केही म्युजिक भिडियोमा काम गरेपछि उनी स्नातक अध्ययनकै क्रममा चलचित्र स्वरमा नायिकाको रुपमा आबद्ध भएकी हुन्, ‘सो चलचित्रमा एउटा नृत्य गर्न नजानेपछि मलाई नृत्य आउँछ भन्ने भ्रम टुट्यो । जेनतेन सो गीतको नृत्य पूरा गरेपछि मैले भारतबाट आएका नृत्य निर्देशक अर्जुनसँग एक वर्ष कन्टेम्पोररी नृत्य सिकें ।’

एक वर्षको सिकाइपछि उनले फिल्मी स्टाइलको कन्टेम्पोररी नृत्य गर्न त जानिनँ । तर, बेनिशालाई नेपाली लोकनृत्य र शास्त्रीय एवं कत्थक नृत्य अझै गाह्रो लागिरहेका थिए । त्यसैले, उनी नृत्य सिक्नकै लागि सांस्कृतिक संस्थाना राष्ट्रिय नाचघरले सञ्चालन गरेको नृत्य कक्षामा भर्ना भइन्, ‘सांस्कृतिक संस्थानबाटै मेरो ममीले राष्ट्रिय नृत्य प्रतियोगितामा गोल्ड मेडल जित्नुभएकाले त्यो ठाउँप्रति मेरो आस्था थियो ।

त्यसैले, त्यहाँ मैले कत्थक र लोकनृत्य प्रशिक्षण लिएँ ।’ आफूले एक दशकअघि सिकेको कत्थक बल्ल यतिबेला चलचित्र ब्लाइन्डस रकको गीत प्रस्तुत गर्न पाएको पनि उनले बताइन्, ‘ब्लाइन्ड रक्समा मेरो कत्थक नृत्य हेरेपछि तपाईं त शास्त्रीय नृत्यमा पनि पोख्त हुनुहुँदो रहेछ भनेर धेरैले प्रशंसा गर्नुभयो ।’

 

आफू नृत्यमा पोख्त भएपछि म्युजिक भिडियोदेखि चलचित्रको गीतसम्ममा नृत्य प्रस्तुत गर्न सहज भएको बेनिशाको कथन छ । चलचित्र र म्युजिक भिडियोमा काम गर्ने निष्कर्षमा पुगेपछि आफूलाई सफल कलाकारका रूपमा प्रस्तुत गर्न करिब दुई वर्ष नृत्य सिकेको उनले बताइन् ।

नृत्य आफैंमा अभ्यास भएकाले नृत्य गर्न छाड्यो कि बिर्संदै जाने अभिनेत्री बेनिशाको कथन छ । त्यसैले, उनी घरमा फुर्सदमा हुँदा नृत्य गरेर समय बिताउँछिन् । नृत्यले स्वास्थ्य राम्रो हुनुका साथै यो कलाले आफ्नो पेसामा अझ फाइदा पुगेको यी अभिनेत्रीको कथन छ ।

अभिनेत्री बेनिशालाई नाच्न भनेपछि साह्रै जाँगर चल्छ । कतै नृत्य प्रधान गीत बज्यो भने शरीर आफैं हल्लिने गरेको अनुभव उनले सुनाइन् । आफू नृत्यको पारखी भएको धेरैलाई जानकारी नभएको पनि उनले बताइन् । तर, छायांकनको क्रममा गीतमा नृत्य गर्दा आफूले चाँडै बिट समातेर छमछमी नाचेका देख्दा उनका निर्देशकहरू दंग पर्दा रहेछन् । भिडियोमा निर्देशकहरूले सोचेको भन्दा धेरै राम्रो नृत्य प्रस्तुत गरेर उनीहरूलाई चकित पारेको अनुभव उनीसँग प्रशस्त छ । आफूलाई नृत्यमा पोख्त बनाउनमा आफ्नी आमाको प्रेरणा रहेको कुरा उनले अन्त्यमा पनि सुनाइन् ।



बिहिबार ०८, साउन २०७७ ०५:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.