दार्चुलाका प्रिन्स बने एसियाकै उत्कृष्ट जुनियर ब्याडमिन्टन खेलाडी

नजिक न्युज संवाददाता    

दार्चुलाका प्रिन्स बने एसियाकै उत्कृष्ट जुनियर ब्याडमिन्टन खेलाडी

धनगढी: नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल एसियाकै बेस्ट जुनियर ब्याडमिन्टन खेलाडी बनेका छन्। दार्चुलाको खलङ्‌गामा जन्मिएका प्रिन्स दाहाललाई  ब्याडमिन्टन एसियाले पछिल्ला खेलहरूको प्रदर्शनको आधारमा उत्कृष्ट जुनियर खेलाडी घोषणा गरेको हो।

आफ्नो आधिकारिक वेबसाइटमा ब्याडमिन्टन एसियाले १६ वर्षीय दाहालले पछिल्ला वर्षमा वरीयतामा फड्को मार्दै उत्कृष्ट खेलाडी बन्न सफल भएको जनाएको हो।

प्रिन्स विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा सातौँ स्थानमा रहेका छन्। यो नेपाली ब्याडमिन्टन र प्रिन्सकै उत्कृष्ट वरीयता हो। फागुन अन्तिममा सार्वजनिक भएको वरीयतामा १६ वर्षीय प्रिन्सले तीन स्थान सुधार गर्दै सातौँ स्थानमा रहेका थिए। कोरोनाका कारण प्रतियोगिताहरू नहुँदा प्रिन्स वरीयतामा यथावत् नै रहेका छन्।

प्रिन्सले ११ प्रतियोगिताबाट १०४०० अंक जोडेका छन्। प्रिन्सले पछिल्लो केही वर्षयता जुनियर ब्याडमिन्टनमा उच्च प्रदर्शन गर्दै आएका छन्। दार्चुला सदरमुकाम खलंगा घर भएका प्रिन्स हाल ललितपुरको जाउलाखेलीस्थित डाँफे इङ्लिस बोर्डिङ स्कूलमा कक्षा ९ मा अध्ययनरत छन् । हालसम्म उनी कुनै पनि विभागीय टोलीमा आवद्ध छैनन्।



आइतबार ०४, साउन २०७७ ०३:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.