पूर्वकप्तान जिदिन्कको सन्यास

नजिक न्युज संवाददाता    

पूर्वकप्तान जिदिन्कको सन्यास
पूर्वकप्तान माइल जिदिन्क

सिड्नी : अस्ट्रेलियन राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान माइल जिदिन्कले सक्रिय व्यावसायिक खेल जीवनबाट सन्यास लिएको घोषणा गरेका छन्। ३५ वर्षीय जिदिन्क अघिल्लो सिजनसम्म इङ्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाबाट व्यावसायिक फुटबल खेल्थे।

जिदिन्क प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसका पूर्वकप्तान पनि हुन्। ‘अब जीवनको नयाँ अध्याय सुरु गर्ने समय आएको छ’, आइतबार व्यावसायिक खेल जीवनबाट सन्यासको घोषणा गर्दै जिदिन्कले भने। उनले सन् २०११ देखि सन् २०१६ सम्म क्रिस्टल प्यालेसबाट खेलेका थिए। उनले क्लबमा कप्तानको भूमिका पनि निर्वाह गरेका थिए।

उनकै कप्तानीमा क्रिस्टल प्यालेस सन् २०१३ मा पुनः प्रिमियर लिगमा बढुवा भएको थियो। त्यसपछि सन् २०१६ मा क्रिस्टल प्यालेस छाडेर एस्टन भिल्लामा आबद्ध भएका जिदिन्क सन् २०१९ सम्म त्यहाँ रहे। एस्टन भिल्लाबाट बाहिरिएपछि उनी पुनः अस्ट्रेलियाको ‘ए लिग’ क्लबमा आबद्ध हुने चर्चा चलेको थियो।

उनले आफ्नो व्यावसायिक खेल जीवनको सुरुआत पनि अस्ट्रेलियन लिगबाटै गरेका थिए। उनले सन् २००१ देखि सन् २००६ सम्म ‘ए लिग’ क्लब सिड्नी युनाइटेडबाट खेलेका थिए। डिफेन्सिभ मिडफिल्डर जिदिन्कले आफ्नो युवा खेल जीवन पनि सिड्नी युनाइटेडबाटै प्रारम्भ गरेका थिए।

एस्टन भिल्ला छाडेर ‘ए लिग’मा फर्कने चर्चा चलिरहेकै बेला उनले आइतबार अप्रत्याशित रूपमा व्यावसायिक खेल जीवनबाट सन्यास लिएको घोषणा गरेका हुन्। ‘मेरो विचारमा खेल जीवनबाट बिदा लिएर अर्को अध्याय प्रारम्भ गर्ने यो उपयुक्त अवसर हो’, उनले भनेका छन्।

अस्ट्रेलियन राष्ट्रिय टोलीबाट भने उनले सन् २०१८ मै सन्यास लिएका थिए। उनले अस्ट्रेलियाका लागि ७९ खेल खेलेका थिए। उनले अस्ट्रेलियाको तर्फबाट तीनवटा विश्वकप पनि खेलेका थिए। जिदिन्कले व्यावसायिक खेल जीवनबाट सन्यास लिएको समाचार सार्वजनिक भएपछि पूर्वक्लब क्रिस्टल प्यालेसले उनी कुशल नेतृत्वकर्ता र महान् खेलाडी भएको प्रतिक्रिया दिएको छ।



बुधबार ३१, असार २०७७ ११:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.