संक्रमित बढ्दै, पिसिआर घट्दै

विज्ञ भन्छन्- दैनिक कम्तीमा १५ हजारको पिसिआर गर्नुपर्छ

नजिक न्युज संवाददाता    

संक्रमित बढ्दै, पिसिआर घट्दै

कमला गुरु\काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ। पछिल्ला दिनमा दैनिकजसो कम्तीमा पनि पाँच सय जना संक्रमित भेटिइरहेका छन्।

संक्रमितको संख्या दैनिक बढ्दै जाँदा पिसिआर परीक्षण भने बढ्न सकेको छैन। कोरोना भए–नभएको पत्ता लगाउने प्रयोगशाला परीक्षणको विधि पिसिआर हो। 

विज्ञहरुले दैनिक कम्तीमा पनि १५ हजारको हाराहारीमा पिसिआर परीक्षण हुनुपर्ने बताउँदै आएका छन्। तर पिसिआर परीक्षण भने ७ हजारभन्दा माथि उठ्न सकेको छैन। 

त्यो पनि असार ६ गते एक दिन मात्र ७ हजार ४ सय १६ जनाको पिसिआर परीक्षण भएको थियो। त्यसपछि पिसिआर परीक्षण ६ हजार माथि जान नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांकले पनि देखाउँछ। 

मन्त्रालयको तथ्यांक अनुसार असार १ मा असार १ मा ५ हजार ३ सय ६ जनाको पिसिआर गर्दा ४ सय ५१ जना संक्रमित भेटिएका थिए। असार २ मा ५ हजार ५५ जनाको पिसिआर गर्दा ३ सय ८०, असार ३ मा ६ हजार ३७ जनाको पिसिआर गर्दा ५ सय ८६ जना संक्रमित भेटिएका थिए। 

तथ्यांकमा पिसिआर परीक्षण र संक्रमितको संख्या
असार १- पिसिआर ५३०६, संक्रमित ४५१
असार २- पिसिआर ५०५५, संक्रमित ३८०
असार ३- पिसिआर ६०३७, संक्रमित ५८६
असार ४- पिसिआर ५७४६, संक्रमित ६७१
असार ५- पिसिआर ६२३१, संक्रमित ४२६
असार ६- पिसिआर ७४१६, संक्रमित ३३१
असार ७- पिसिआर ६००८, संक्रमित ४२१
असार ८- पिसिआर ६१९८, संक्रमित ५३५
असार ९- पिसिआर ४९९५, संक्रमित ५३८
असार १०- पिसिआर ६८२८, संक्रमित ६२९
असार ११- पिसिआर ६५४३, संक्रमित ४३४
असार १२- पिसिआर ६५३४, संक्रमित ५९३
असार १३- पिसिआर ४६०६, संक्रमित ५५४

यो तथ्यांकले पनि संक्रमितको संख्या बढ्दै गएको तर पिसिआर परीक्षण भने बढ्न नसकेको देखाउँछ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले परीक्षणको दायरा बढाउने गरी काम भइरहेको बताए। 

सबैको पिसिआर गर्नेभन्दा पनि क्वारेन्टाइनमा रहेका व्यक्तिको पिसिआर परीक्षण पहिलो प्राथमिकतामा रहेको उनी बताउँछन्। 

उनले भने, ‘परीक्षणको दायरा बढाउने गरी काम भइरहेको छ। हाल सबैको भन्दा पनि क्वारेन्टाइनमा रहेका व्यक्तिको परीक्षण बढी प्राथमिकतामा राखेका छौं।’

असार १५ देखि दैनिक १० हजारको पिसिआर परीक्षण हुने 
असार १५ देखि प्रत्येक दिन १० हजारको संख्यामा पिसिआर परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयको तयारी छ। निजी ल्याबले ३ हजार र बाँकी सरकारी ल्याबबाट गरी प्रतिदिन १० हजारको पिसिआर गर्ने मन्त्रालयले जनाएको छ। 

हाल भएका ल्याबमा जनशक्ति थपेर २४सै घन्टा सञ्चालन गरेर केही परिणाम दिन सकिने मन्त्रालयले जनाएको छ। परीक्षण निजी क्षेत्रले गर्ने भए पनि स्वाब संकलन भने सरकारले नै गर्नेछ। मन्त्रालयका अनुसार परीक्षणको शुल्क पनि सरकारले नै दिनेछ। प्रत्येक प्रदेशमा प्रतिदिन एक हजारको दरले परीक्षण गर्न दिने मन्त्रालयको योजना छ। 

निजी प्रयोगशालालाई परीक्षण गर्न अनुमति दिनका लागि मापदण्ड राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बनाएको छ। 

दैनिक १० हजारसम्म परीक्षण गर्ने भने पनि नमुना कति संकलन हुन्छ, त्यसमा भर पर्ने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए। उनले भने, ‘दैनिक १० हजारसम्म पिसिआर परीक्षण गर्ने तयारी हो। तर स्याम्पल कति संकलन हुन्छ, त्यो अनुसार पनि हुन्छ।’

‘सरकारले ढिला गर्‍यो’
मन्त्रालयले असार १५ देखि प्रत्येक दिन १० हजारको संख्यामा पिसिआर परीक्षण गर्ने बताए पनि विज्ञहरु भने सरकारले ढिला गरेको बताउँछन्। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा बाबुराम मरासिनीले संक्रमितको संख्या बढेको समयदेखि पिसिआर परीक्षण बढाउन सकेको भए समयमै नियन्त्रण गर्न सकिने बताए। 

‘क्वारेन्टाइनबाट धमाधम मानिस फर्कंदैछन्। सरकारले बल्ल परीक्षणको दायरा बढाउँदैछ,’ उनी भन्छन्, ‘यो ढिलो भयो। पहिले नै फटाफट गर्नुपथ्र्यो। पहिले दायरा बढाएको भए आज कोरोना नियन्त्रण गर्न सहज पनि हुने थियो।’

क्वारेन्टाइनमा रहेका सबै व्यक्तिलाई पिसिआर परीक्षण नगर्ने सरकारको नीतिले अधिकांश मानिस बिना पिसिआर घर फर्किएका छन्। सरकारले बनाएको निर्देशिकाले लक्षण देखिएका व्यक्तिलाई मात्र परीक्षण गर्नु भन्छ। 

डा मरासिनी हाल भइरहेको पिसिआरको दायरा निकै कम भएको भन्दै दैनिक कम्तीमा १५ हजार जनाको परीक्षण हुनुपर्ने बताउँछन्। 

सरकारले थप १० वटा प्रयोगशाला थप गर्ने निर्णय समेत गरेको छ। योसँगै मुलुकभर अबदेखि ३३ स्थानमा पिसिआर परीक्षण गरिने छ। तर यो पर्याप्त नभएको डा मरासिनीले बताए। उनका अनुसार नेपालमा बढिरहेको संक्रमितको संख्या र जोखिमका अनुसार प्रयोगशाला १ सय पु¥याउनुपर्ने उनले बताए। 

सरकारले परीक्षणको दायरा नबढाएर कोरोनाले राष्ट्रव्यापी महामारी निम्त्याउने जोखिम बढेको उनी बताउँछन्।



आइतबार १४, असार २०७७ ०९:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.