महाधिवेशन तालिका हेरफेरका लागि कांग्रेसले डाक्यो केन्द्रीय समिति, तोकिएकै मितिको पक्षमा पदाधिकारी

नजिक न्युज संवाददाता    

महाधिवेशन तालिका हेरफेरका लागि कांग्रेसले डाक्यो केन्द्रीय समिति, तोकिएकै मितिको पक्षमा पदाधिकारी

काठमाडौँः नेपाली कांग्रेसले १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेरका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको पदधाधिकारी बैठकले १४औँ महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको हो।

बैठक असार १६ गते मंगलबार दिउसो १ बजेका लागि बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पदाधिकारी बैठकमा महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने विषयमा छलफल भएको थियो। 

कांग्रेसले यसअघि महाधिवेशन आउँदो फागुन ७ गतेदेखि १० गते काठमाडौंमा गर्ने निर्णय गरेको थियो। तर कोरोना महामारीका कारण संक्रमण फैलिँदै गएपछि महाधिवेशनको कार्यतालिका नै प्रभावित भएको छ। 

कोरोनाका कारण लकडाउन भएपछि कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम सबै अनिश्चितकालका लागि स्थगित गरेको थियो। बैठकपछि कांग्रेस सहमहामन्त्री डा प्रकाशसरण महतले महाधिवेशन कार्यतालिका हेरफेर गर्नेरनगर्ने विषयमा केन्द्रीय समितिले नै निर्णय गर्ने बताए। 

महतले महाधिवेशनको अन्तिम मिति फागुन ७ नै राख्ने र त्यसअघि हुने क्रियाशील सदस्यता तथा नवीकरणका कामको तालिका परिवर्तन गर्ने विषयमा छलफल भएको जानकारी दिए।



आइतबार १४, असार २०७७ ०९:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.