जनताको सरकार : बाजुराका १०१२ घरधुरीमा खरका छाना फेर्न ५० हजार दिने

नजिक न्युज संवाददाता    

जनताको सरकार : बाजुराका १०१२ घरधुरीमा खरका छाना फेर्न ५० हजार दिने
फाइल फाेटाे

बाजुरा : जनता आवास कार्यक्रम अन्र्तगत जिल्लाका १ हजार १२ घरका छाना फेरिने भएका छन् । खर र फुसले छाएका नौ वटै स्थानीय तहका १ हजार १२ परिवारका लागि पहिलो चरणमा छाना छाउन बजेट विनियोजन गरिएको छ । तीन वर्ष भित्र देशभरका सबै खर र फुसका छानाहरु विस्थापित गर्ने नीति अनुसार बाजुरामा आगामी आर्थिक वर्षका लागि १ हजार १२ घर परेका छन् ।

स्थानीय तहको सिफारिसका आधारमा छनोटमा परेका प्रति घरलाई ५० हजारका दरले बजेट परेको प्रतिनिधि सभा सदस्य लालबहादुर थापाका स्वकीय सचिव सुरेश रोकायाले जानकारी दिएका छन् । टिनका छाना छाउन अनुदान स्वरुप सबै खर र फुसका छाना हटाउने नीति अनुसार पहिलो चरणमा बाजुराका मात्र १ हजार १२ परिवारका लागि बजेट व्यवस्था गरिएको रोकायाको भनाई छ । तराइ र मधेसका केही जिल्लामा अघिल्लो वर्ष नै कार्यक्रम सञ्चालन भइसकेको छ ।

पहिलो वर्ष जिल्लाका बडिमालिका नगरपालिकामा ८८ घरधुरी, बुढीगङ्गा नगरपालिकामा ९९ घरधुरी, त्रिबेणी नगरपालिकामा ५८ घरधुरी, बुढीनन्दा नगरपालिका १३४ घरधुरी, गौमुल गाउँपालिका १६६ घरधुरी, स्वामिकार्तिक खापर गाउँपालिका ११० घरधुरीले अनुदान पाउने छन् । यस्तै जगन्नाथ गाउँपालिका १४१ घरधुरी, खप्तड छेडेदह गाउँपालिका १३१ घरधुरी र हिमाली गाउँपालिका ८५ घरधुरी समेटिएका छन् । ५० हजार अनुदान सहीत टिनको पाता खरिद गरेर घर छाउन बजेट व्यवस्था गरिएको छ ।

दुर्गम तथा पहाडी जिल्लालाई समावेश नगरी कार्यक्रम ल्याएकोमा प्रतिनिधी सभा सदस्य लालबहादुर थापा सहीत सुदूरपश्चिम सहीत हिमाली जिल्लाका सांसदहरुले विरोध गरेका थिए । विरोध लगत्तै सरकारले सबै जिल्लाई समेट्ने र तीन वर्षभित्र खर र फुसका छाना मुक्त नेपाल बनाउने नीति लिएको छ ।

बाजुरामा धेरै घरहरु खरले, माटोले छाएका छन्, ती सबैलाई खरमुक्त बनाउने गरी प्रयास जारी रहेको प्रतिनिधी सभा सदस्य लालबहादुर थापाले बताएका छन् । हामीले आधा बढीलाई पहिलो वर्ष नै समेट्ने गरी माग गरेका थियौं, कोरोनाका कारण बजेटको सीमितता भएर व्यवस्था गर्न नसकिएपनि आगामी तीन वर्षभित्र सबै घरहरु खर र फुस मुक्त हुने थापाको भनाई छ ।

घरमाथिको खर समेत फेर्न नसकेका अति गरिबका लागि राज्य अभिभावक बनिदिने भएको छ । राज्यले आफै लगानी गरेर प्रति परिवारलाई ५० हजारको लगानी गरिदिने भएपछि जनता खुसी देखिएका छन् । जनता आवास कार्यक्रमलाई राज्यले गतिका साथ अघि बढाइरहेको छ ।

 



आइतबार १४, असार २०७७ ०७:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.