कोरोना संक्रमितको संख्या २८८ पुग्यो, एकैदिन बुढीगंगामा थपिए ७९ जना, अवस्था भयावह बन्दै

नजिक न्युज संवाददाता    

कोरोना संक्रमितको संख्या २८८ पुग्यो, एकैदिन बुढीगंगामा थपिए ७९ जना, अवस्था भयावह बन्दै

बाजुरा : जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन थपिएसँगै २८८ जना पुगेका छन् । एकैदिन ९६ जना थपिएपछि कोरोना संक्रमितको संख्या २८८ पुगेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख एवं बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् ।

थपिएका मध्ये सबैभन्दा बढी ७९ जना बुढीगंगा नगरपालिकाका रहेका छन् । भने बडिमालिका नगरपालिकामा पनि थप १७ जना थपिएका छन् । कोरोना संक्रमण देखिएका मध्ये ४ वर्षका बालबालिका देखि ७० वर्षका वृद्धसम्म रहेका छन् ।

बुढीगंगामा थपिएका ७९ जना मध्ये ३२ महिला र ४७ जना पुरुष रहेका छन् । ती मध्ये त्रिवी शिक्षण अस्पताल टेकुमा ४७ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर जाँचमा ३२ जनामा कोरोना देखिएको छ ।

बडिमालिका नगरपालिकामा थपिएका सबै १७ जनाको काठमाडौंमा गरिएको पीसीआर जाँचमा देखिएको हो । बडिमालिकामा १७ जना मध्ये १५ जना महिला मात्र छन् । भने २ जना पुरुष रहेकाछन् । जिल्लामा पुष्टी भएका मध्ये ७ जना स्वास्थ्य कर्मी र २ जना सुरक्षा कर्मी रहेका छन् ।

आजको रिपोटमा पनि केही स्वास्थ्य तथा सुरक्षा कर्मीपनि हुन सक्ने अनुमान गरिएको छ । स्वास्थ्य कार्यालयले भने यस बारे आफूहरुले तत्काल खुलाउन नमिल्ने बताएको छ । जिल्लामा अहिले सम्मको एकै दिन ९६ जना संक्रमित देखिएको पहिलो रेकर्ड हो ।

हिजो मात्र ६१ जना थपिएका थिए । २ सय बढीको संख्यामा कोरोना देखिएपछि राज्यले पनि जिल्लाई उचित सावधानी र सुरक्षामा राख्न सरकारले भनेको छ । तर बाजुराको हकमा भने संक्रमति समेत सबै आफ्नो तरिकाले गाउँमा डुल्ने गरिरहेका छन् । अहिलेसम्म सबैभन्दा बढी बुढीगंगा नगरपालिकामा १०४ जना र त्रिवेणीमा १०१ जना संक्रमित देखिएका छन् ।

भने बडिमालिका नगरपालिकामा पनि ५८ जनामा संक्रमण देखिएको छ । बडिमालिकाको हकमा भने यो संख्या स्वास्थ्य कर्मी, सुरक्षा कर्मी सहीत जोडेर हो । यस्तै गौमुलमा २२ जना, स्वामिकात्र्तिक खापर गाउँपालिकामा २ जना, जगन्नाथ गाउँपालिकामा १ जना कोरोना संक्रमित देखिएका छन् ।

जिल्लाका बुढीनन्दा नगरपालिका, खप्तड छेडेदह गाउँपालिका र हिमाली गाउँपालिकामा संक्रमितको अवस्था शुन्य रहेको छ । १०५ जना महिला र १८३ जना संक्रमित पुरुष मध्ये हालसम्म ३ जना मात्र कोरोना जितेर घर फर्किएका छन् ।

एक जनाले आफै आत्महत्या गरि र एक जनाको जिल्ला अस्पताल बाजुराको आइसोलेशन कक्षमा मृत्यु भईसकेको छ । अरु सबैजना होम तथा क्वारेन्टाइनको आइसोलेशन कक्षमा बसीरहेका छन् । पीसीआर जाँच भएका मध्ये अधिकांशमा कोरोना देखिएको छ ।

कोरोना देखिएका मध्ये अधिकांश भारतबाट आएकाहरु नै छन् । जिल्लामा कोरोना संक्रमण नियन्त्रण बाहिर गएको देखिएको छ । स्थानीय प्रशासनले साबधानीका लागि कुनै प्रयास नगरेको प्रति सर्वसाधारण आक्रोशित बनेका छन् ।



आइतबार १४, असार २०७७ ०७:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.