सेनाको जागिरले भलिबलमा मौका, मौकामा सुनिताको चौका

नजिक न्युज संवाददाता    

सेनाको जागिरले भलिबलमा मौका, मौकामा सुनिताको चौका

काठमाडौं : ओखलढुङ्गामा स्कुल पढ्दै गर्दा सुनिता खड्काले राष्ट्रिय टिमबाट भलिबल खेल्ने र देशका लागि उपाधिसमेत जित्ने कुनै कल्पना नै गरेकी थिइनन् । खासमा भलिबल उनको ‘वीस लिस्ट’ मा नै थिएन । तर जीवनमा कतिबेला कुन घुम्ती आउँछ, कसैलाई थाहा हुन्न । 

छोरीलाई कमजोर सोच्ने पुरातनवादी समाजबाट माथि उठेर २५ वर्षीय सुनिताले आज खेल क्षेत्रमा गर्व गर्नलायक सफलता हासिल गरेकी छन् । उनको हिम्मतलाई भाग्यले पनि साथ दियो । मेहनतपूर्वक अघि बढ्दै गइन् । नेपालको राष्ट्रिय टिमसम्मको यात्रा तय गरिन् ।

नेपाली महिला भलिबल टिमले जितेको पहिलो ऐतिहासिक अन्तर्राष्ट्रिय उपाधिको एक हिस्सेदार हुन्, सुनिता । यसैगरी घरेलु कोर्टमा भएको १३औं सागमा रजत जित्ने नेपाली भलिबल टिमकी पनि सदस्य थिइन्, उनी । भलिबल खेल्न थालेको छोटो समयमै उनले यी दुई महत्वपूर्ण उपलब्धि हासिल गरेकी हुन् ।

स्कुल पढ्दा सुनिताले भलिबल खेल्न त के छुनसमेत पाएकी थिइनन् । उनलाई त भलिबल कसरी खेल्ने भन्नेसमेत थाहा थिएन । स्कुलमा केटाहरूले भलिबल खेलेको हेर्दा उनलाई खेलुँखेलुँचाहिँ हुन्थ्यो । तर कसले खेलाउने । बरु उनी कपर्दी खुब खेल्थिन् ।

स्कुल पढ्दाखेरि नै घर–परिवारले उनको विवाहको कुरा गर्न थालिसकेका थिए । छोरीले धेरै पढेर के काम भन्ने कुराहरू सुनिताले बारम्बार सुन्नुपथ्र्यो । यसले उनलाई बेचैनी हुन्थ्यो । अन्ततः उनले साहसिक निर्णय लिइन् ।

उनको दिदी–भिनाजु उदयपुरमा बस्थे । सिराहमा नेपाल आर्मीको जागिर खुलेको भिनाजुबाट थाहा पाइन् ।

‘ठूलो भिनाजु आर्मीमा भएकोले जागिर खुलेको बेला बोलाउनुभयो । म पनि कसैलाई नसोधी गएँ,’ उनले भनिन् ।

सुनिताले आवेदन दिइन् । पास भइन् । सेनामा भर्ती हुने उनको सानैको रहर पूरा भयो । २०७२ सालमा उनी त्रिशूलीमा ट्रेनिङमा गइन् । तर एकैपटक घर छाडेर ट्रेनिङमा गएकी उनलाई सुरु सुरुमा गाह्रो भयो । एक त घर–परिवारबाट टाढा हुनुपर्दाको नियास्रो, अर्को आर्मीको कडा ट्रेनिङ । सुरुमा त उनी आत्तिइन् ।

‘घर छोडेर कहिल्यै ननिस्केको मान्छे, मलाई घरको अति याद आयो । ट्रेनिङ कटाउनै सक्दिन कि भन्ने लाग्यो,’ उनले सुनाइन् ।

त्यही बेला उनलाई ढुङ्गा खोज्दा देउता मिलेजस्तो भयो । काठमाडौंबाट दीप खड्कालगायतको टोली भलिबल खेलाडी खोज्न गएको थियो । सुनिताको हाइट राम्रो थियो । त्यसैले उनी छनोटमा परिन् ।

सुनिताको नाम पनि काठमाडौं जाने लिस्टमा पर्‍यो । आफू छनोटमा परेको थाहा पाएपछि काठमाडौं जान पाउने कुराले उनी मख्ख परिन् ।

काठमाडौंको लगनखेलमा आएर उनको भलिबल ट्रेनिङ सुरु भयो । त्यतिबेला आर्मीको कोच कपिल किशोर श्रेष्ठ थिए । श्रेष्ठले केही समयपछि छाडे । सुनिताले त्यसपछि लोकेश बुढा, जगदीश भट्टजस्ता कोचसँग ट्रेनिङ गर्ने अवसर पाइन् ।

कोचमात्र होइन त्यतिबेला खेलकुद विभागमा रहेका राम कार्कीको सहयोग पनि सुनिताले पाइन् ।

‘नेपाल आर्मीको गुन छ मलाई । आर्मीले सपोर्ट नगरेको भए यो स्थानमा हुन्थिनँ जस्तो लाग्छ । उहाँहरूले प्रेरणा दिएर नै यहाँसम्म आएको हुँ,’ उनले भनिन् ।

यसरी बढ्यो भलिबल मोह

सुनिताले आर्मीमा भलिबल ट्रेनिङ गर्न थालिसकेकी थिइन् । तर खेल्न बाँकी नै थियो । एकपटक जावलाखेलमा शेरबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता हुँदा उनी पनि हेर्न गइन् ।

त्यहाँ सरस्वती चौधरी, प्रतिभा मालीलगायत राष्ट्रिय टिमका खेलाडीहरूको खेल उनले देखिन् । अरूको खेल हेर्दा पनि सुनिता दङ्गै परिन् ।

‘प्रतिभा, सरस्वतीले खेलेको देख्दा मैले पनि कहिले यसरी हान्ने होला भनेर सोचेको थिएँ,’ सुनिताले भनिन् । आर्मीकै कभर्डहलमा पनि अरू सिनियर खेलाडीहरू ट्रेनिङ गरेको देख्दा उनलाई त्यस्तै लाग्थ्यो ।

त्यतिबेला आर्मीको टिममा मनीषा खाँड, गीता डाँगीलगायत खेलाडी थिए । न्यु डायमण्डका चर्चित खेलाडी रमिला तन्डुकार पनि आर्मीमा करारमा गएकी थिइन् । तर सुनिताले रमिलाको खेल हेर्न पाइनन् । यस्तै, राष्ट्रिय टिमबाट खेलिसकेकी निमा श्रेष्ठ पनि त्यो बेला आर्मीमा गएकी थिइन् ।

विभागीयमध्ये आर्मीको टिम नयाँ भएकोले नाम चलेका खेलाडीहरू थिएनन् । यस्तोमा सुनिताको लागि पनि अवसर थियो । राम्रो ट्रेनिङ गर्न सके टिममा पर्न गाह्रो थिएन ।

‘मलाई राम्रो खेल्न आउँथेन तर ट्रेनिङ रेगुलर हुन्थ्यो । मैले ट्रेनिङ गरेको २/३ महिनापछि खेलेँ । कहिलेभित्र कहिले बाहिर हुन्थेँ,’ उनले भनिन् ।

उनले ढोरपाटन महिला डबल लिगबाट खेल्न सुरु गरेकी हुन् । पहिलो टुर्नामेन्ट राम्रो खेल्न नसके पनि उनको स्मृतिमा ताजै छ । पहिलो खेलमा न्यु डायमण्डसँग फराकिलो अन्तरले पराजित भएको उनले सुनाइन् । उनका लागि त्यहाँ भलिबल खेल्नु नयाँ अनुभव समेत थियो ।

‘खेल्न आउँथेन । मैले खेलेको देखेर दर्शक हाँस्थे । आफैँ जोकर भइरा’थे । लास्ट दिन त म खेल्नै गइन,’ सुनिताले लाज मान्दै भनिन् ।

तर उनी हतोत्साही भइनन् । असफलताले उनलाई पाठ सिकायो । अब अझै कसरी राम्रो खेल्ने भन्नेतर्फ ध्यान लिन थालिन् ।

‘सुरुमा त कस्तो–कस्तो लागेको थियो । तर खेल्दिनँ भन्ने कहिल्यै भएन । म मेहनत गर्छु राम्रो गर्छु भन्ने नै थियो,’ सुनिता भन्छिन् ।

त्यसपछि उनले खेललाई बुझ्न थालिन् । राष्ट्रिय खेलाडीबारे थाहा पाइन् । उत्साह र आत्मविश्वास चुलिँदै गयो ।

सुनिताले सुरुमा ओपन स्पाइकर भएर खेलिन् । उनको हाइट राम्रो थियो र ब्लक पनि गर्न सक्थिन् । त्यतिबेला आर्मीको प्रशिक्षक कपिल श्रेष्ठ नै थिए । खेलाडीको प्रतिभा चिन्नलाई कपिल माहिर थिए । सुनितालाई पनि उनले ओपनबाट क्विक स्पाइकरमा परिणत गरिदिए ।

‘ट्रेनिङमा मैले एक–दुई वटा ब्लक गरेको देखेर क्विक बनाउने निर्णय लिनुभयो,’ सुनिताले सम्झिइन् । प्रशिक्षकले पोजिसन परिवर्तन गर्दा फाइदा भएको उनको अनुभव छ ।

‘म राष्ट्रिय खेलाडी हुनुको श्रेय कपिल गुरुलाई नै दिन्छु । उहाँले पोजिसन चेन्ज गरेपछि मेरो खेलमा निकै सुधार भयो,’ उनले भनिन् ।

क्विकरबाट खेल्दा उनले पहिलोपटक पोखरामा बेस्ट ब्लकरको अवार्ड पाएकी थिइन् । यस्तै, आठौं राष्ट्रिय खेलकुदपछि लगनखेलमै भएको शेरबहादुर खड्का स्मृति भलिबलमा आर्मी दोस्रो हुँदा सुनिताले बेस्ट ब्लकरको अवार्ड पाएकी थिइन् ।

खेलाडीले जति अवसर पाउँछ, उति खेल्ने रहर पनि बढ्दै जान्छ । कुनै बेला भलिबल भन्ने खेल नै थाहा नपाएको सुनिताले भलिबलबाटै आफूलाई चिनाइन् । आर्मीबाट खेल्न थालेपछि उनको रहरहरू झन् बढ्न थाले ।

२०१७ मा नेपालको महिला राष्ट्रिय टिम माल्दिभ्समा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न गएको थियो । सुनिता पनि आर्मीमा खेल्दै थिइन् । तर राष्ट्रिय टिममा आर्मीको कुन खेलाडी भन्ने थिएन । त्यसपछि नेपाल रातो र निलो टिमले भारतसँग कभर्डहलमा मैत्रीपूर्ण खेल खेलेको पनि हेर्न गएकी थिइन् । विस्तारै उनलाई पनि राष्ट्रिय टिमबाट खेल्ने चाहना बढ्दै गयो ।

अर्को वर्ष इन्डोनेसियामा भएको एसियन गेम्समा नेपालको पुरुष टिमले खेलेको थियो, तर महिला टिम गएको थिएन ।

‘त्यतिबेला भने मलाई पनि खेल्न मन लागेको थियो । केटाहरूको गेम भयो । केटीहरूको गेम भइदिए म पनि गेम खेल्न पाउँथे कि जस्तो लागेको थियो ।’

महिला टिममा त्यतिबेला सरस्वती, प्रतिभा, रेश्मा, अरुणा, विनिता, कोपिलालगायत चर्चित खेलाडीहरू थिए । सुनितालाई पनि उनीहरूकै स्तरमा पुग्ने हुटहुटी थियो ।

राष्ट्रिय टिमको यात्रा

२०७५ चैत र ०७६ वैशाखमा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा सुनिताले आर्मीबाट खेलेकी थिइन् । त्योबेला आर्मी समूह चरणबाट अघि बढ्न सकेन । सुनिताले मेडल उचाल्न पाइनन् । तर उनको खेलको तारिफ भयो ।

आठौंपछि उनी घरमै थिइन् । त्यही बेला काठमाडौंमा रहेकी साथी रोशनी राईबाट राष्ट्रिय टिमका लागि २५ जनाको क्याम्पमा उनी पनि परेको खबर पाइन् । उनको उत्साहको सीमा रहेन । अब राष्ट्रिय टिमसम्म पुग्ने बाटो खुल्दै थियो ।

‘२५ जनामा परेछौं, अब १२ जनाभित्र पर्नुपर्छ’ भन्दै कपिल गुरुले उनको हौसला बढाए । आर्मीबाट सुनितासहित ५ जना छनोटमा थिए । यो सेलेक्सन बंगलादेशमा हुने सेन्ट्रल जोन र १३औं दक्षिण एसियाली खेलकुदको लागि थियो ।

उनको काठमाडौं ट्रेनिङ सुरु भयो । राष्ट्रिय टिमको प्रशिक्षण जगदीश भट्टले गराए । त्यतिबेला सिनियर टिमका कप्तानसहित ६ खेलाडी क्याम्पमै अटाएनन् । २५ जनामा १९ जना नयाँ थिए । त्यसैले नयाँ प्रतियोगिताको लागि अन्तिम १२ मा ६ जना नयाँ खेलाडी पर्ने पक्का थियो ।

ट्रेनिङमा सुनिताले सिनियर खेलाडीसँग धेरे सिक्ने अवसर पाइन् ।

‘सरस्वती, रेश्मा, कमला, प्रतिभा, अरुणा दिदीहरूले यसो गर उसो गर भनेर सिकाउँथे । सबैले सहयोग गर्नुभयो,’ उनले भनिन् ।

त्यसबैला राखेप र थाइ भलिबलको सहयोगमा नेपालले थाइल्याण्डमा प्रशिक्षण गर्ने मौका पायो । सुनिता पनि सो भ्रमणमा थिइन् । थाइल्याण्ड जाँदा पनि सुनिताले धेरै सिक्ने मौका पाइन् । त्यहाँको राष्ट्रिय टिमको खेल टिभीमा मात्र हेरेकी उनले त्यहाँ खेल्ने नै मौका पाइन् ।

‘एकदिन हामीले उनीहरूसँगै खेल्ने मौका पायौँ । त्यसबाट झन् हाम्रो हौसला बढ्यो । त्यतिबेला हाम्रो गुरुहरूले भन्नु भएको थियो, हामी कमजोर छैनौं ।’ उनले सुनाइन् ।

थाइल्यान्डबाट फर्किएपछि नेपाली टिम पहिलो सेन्ट्रल जोन खेल्न बंगलादेश जाँदै थियो । १२ जनाको अन्तिम टोली घोषणा हुँदा सुनिता पनि अटाइन् ।

‘एकदमै खुसी लागेको थियो, पहिलो पटक राष्ट्रिय टिममा पर्दा । आर्मीबाट म, सफिया, जानकी थियौं । हामी नयाँ धेरै थियौं ।’ उनले सम्झिइन् ।

पुलिसकी पुनम चन्द, न्यू डायमण्डकी सलिना श्रेष्ठ र निरुता ठगुन्ना पनि पहिलो पटक टिममा परेका थिए । नयाँ खेलाडीहरूलाई आफूलाई प्रमाणित गर्ने चुनौती थियो ।

यसरी सुरु भयो सुनिताको राष्ट्रिय टिमको यात्रा । बंगलादेशमा नेपालले पहिलो खेलमा अफगानिस्तानलाई सहजै हरायो । त्यही खेलमा सुनिताले डेब्यु गरिन् । दोस्रो खेलमा घरेलु टोली बंगलादेशलाई पराजित गर्दा सुनिता वुमन अफ दि म्याच नै भइन् । त्यो उनको पहिलो व्यक्तिगत अवार्ड थियो ।

बंगलादेशमा नेपालले लिगमा चार र फाइनल गरी पाँच खेल कुनै सेट नहारी जित्यो । नेपालको लागि त्यो ऐतिहासिक उपलब्धि थियो । महिला टिमले पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको थियो ।

सुनिता सम्झन्छिन्, ‘मैले कल्पना नै नगरेको अनुभव भयो । नेपालको जर्सी लगाउनु नै मेरो लागि त ठूलो कुरा थियो । झन् उपाधि नै जितेपछि खुसीको सीमा नै रहेन ।’

बंगलादेशबाट स्वेदश फर्किँदा विमानस्थलमा पाएको स्वागतले दंग परेका थिए खेलाडी ।

भारतसँग हार्नुपर्दा

बंगलादेशमा जितेको जोश, नयाँ खेलाडीहरूको उत्साही टिम । आफ्नै भूमिमा १३औं साग हुँदै थियो । नेपालले भलिबलमा अहिलेसम्म भारतलाई हराउन सकेको छैन ।

सागमा नेपालको लक्ष्य भारतलाई हराएर उपाधि जित्ने नै थियो । तर बलियो भारतलाई हराउनु नेपालका लागि सहज थिएन ।

१३औं सागको औपचारिक उद्घाटनअघि नै महिला भलिबल सुरु भयो । नेपालले पहिलो खेलमा बंगलादेशलाई सहजै हरायो । तर दोस्रो खेलमा भारतसँग सिधा सेटमा पराजित भयो ।

उपविजेता बन्दै नेपालले सेमिफाइनलमा अर्को समूहको विजेता श्रीलंकासँग भेट पक्का गर्‍यो । श्रीलंका पनि नेपालका लागि चुनौती नै थियो । तर उसलाई हराउँदै फाइनल पुग्यो नेपाल । त्यसपछि भारतविरुद्ध बदला लिने अवसर थियो ।

‘भारतसँग समूहमा स्ट्रेट हारेका थियौं । फाइनलमा चाहिँ हामीले कडा टक्कर दियौं । घरेलु कोर्ट र दर्शकको अगाडि हामी दबाबमा पनि थियौं । हामीसँग ठूलो अवसर पनि थियो,’ उनी भन्छिन् ।

फाइनलमा नेपालले पहिलो सेट गुमाए पनि लगातार दुई सेट जितेर खेलमा कमब्याक गर्न सफल भयो । अब नेपाललाई एक सेट जिते पुग्थ्यो । तर क्लाइमेक्समा नेपाल सम्हालिन सकेन । नेपालको अनुभव पुगेन । चौथो र पाँचौं सेटमा नेपाललाई पराजित गर्दै भारतले उपाधि जित्यो । नेपालले जित्दाजित्दै हार्‍यो ।

‘खुसी भनौं कि दुःखी । हामी जितको नजिक थियौं । २/३ मिस्टेकले हार्‍यौं । तर रजत पदक पनि हाम्रो लागि ऐतिहासिक नै थियो । उपलब्धि नै थियो । दर्शकहरूलाई चाहिँ खल्लो भयो ।’ उनी भन्छिन् ।

उपाधि जित्न नसके पनि नेपालले पहिलोपटक भारतलाई कुनै सेटमा हराएको थियो । रजत पनि ऐतिहासिक नै थियो ।

फर्केर हेर्दा

छोरीले खेलेर के हुन्छ ? भन्ने समाजलाई गतिलो उत्तर दिन सफल भइन् सुनिता । आज उनी राष्ट्रिय टिमकी सदस्य छिन् । नेपाली सेनामा जागिरे छिन् अनि अन्तर्राष्ट्रिय उपाधि हात पारिसकेकी छिन् ।

सुरुमा रोकावट गर्ने आफ्नै परिवारले समेत अहिले उनलाई साथ दिएको छ । खेलमा लागेर केही गरेछु भन्ने उनी स्वयंलाई अनुभव भएको छ ।

‘आमालाई वरपरको मानिसले तिम्री छोरी टिभीमा देखेको थिएँ भनेर सुनाइदिन्छन् । आमा मख्ख पर्नुहुन्छ,’ उनले भनिन् ।

भाग्यले उनलाई खेलाडी बनायो । सबै कुरा एक्कासी नै भएको जस्तो लाग्छ उनलाई । भाग्यले साथ पनि दियो । आफ्नो मेहनत त छँदैछ ।

अझै केही समय भलिबल खेल्ने योजना छ उनको । त्यसपछि आर्मीमै रहेर देशको सेवा गर्न चाहन्छिन् । ‘अब २/३ वर्ष खेल्छु । मलाई आर्मीले दिएको अनुसार मैले दिन बाँकी छ जस्तो लाग्छ,’ उनले भनिन् ।

क्रिकेटर पारस खड्काकी फ्यान सुनिता आर्मीमा आएकैले खेलाडी बन्ने अवसर पाइन् । त्यसैले आर्मीमा जागर किन खाएँ भन्ने उनलाई कहिल्यै लागेन । सुरुको कठिन ट्रेनिङ पनि भलिबलले बिर्साएको छ ।

‘आर्मीले मलाई यहाँसम्म ल्याएको छ । मलाई आर्मीप्रति गौरव छ । मैले यसरी जागिर खाउँला भन्ने सोचेकी थिइनँ । अहिले म जुन ठाउँमा छु त्यसमा आर्मीको योगदान छ,’ उनले भनिन् ।



बिहिबार ११, असार २०७७ ०९:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.