पीसीआर जाँच बाजुरा मै हुने, मेसिन खरिद गर्न बुढीगंगा नगरपालिकाले छुट्यायो ३० लाख

नजिक न्युज संवाददाता    

पीसीआर जाँच बाजुरा मै हुने, मेसिन खरिद गर्न बुढीगंगा नगरपालिकाले छुट्यायो ३० लाख

बाजुरा : बुढीगंगा नगरपालिकाले पीसीआर जाँच मेसिन खरिदका लागि ३० लाख बजेट विनियोजन गरेको छ । पीसीआर जाँच समस्या कै कारण सर्वसाधारणले सास्ती भोग्नु परेको र कोरोना संक्रमणले थप जोखिम निम्त्याउने भएपछि जिल्लामै जाँचका लागि मेसिन खरिद गर्न ३० लाख बजेट विनियोजन गरेको छ । 

नगर कार्यपालिकाको बैठकले असार पहिलो साताभित्र मेसिन खरिद गरिसक्ने गरी बजेट विनियोजन गरेको नगर प्रवक्ता माया शाहले जानकारी दिएकी छन् । नगर प्रमुख दिपक विक्रम शाहको अध्यक्षतामा बसेको बैठकले मेसिन खरिद र व्यवस्थापनको जिम्मा जिल्ला अस्पताल बाजुरालाई दिने निर्णय गरेको छ ।

बैठकले पीसीआर जाँच मेसिन जिल्ला अस्पतालले व्यवस्थापन गर्न नसकेमा अछाम स्थित बयालगडा अस्पताललाई पनि जिम्मा दिन सकिने गरी निर्णय गरिएको नगर प्रमुख दीपक विक्रम शाहले बताएका छन् । 

यस्तै कोरोनाको उपचारार्थ खटिएका स्वास्थ्य कर्मीको ज्यान गएमा १० लाख क्षतिपूर्ति र सन्तानलाई कक्षा १२ सम्म निशुल्क पढाइको व्यवस्थापन गर्ने निर्णय गरेको छ । यस्तै आरडीटी परीक्षणबाट पोजेटिभ देखिएकाहरुलाई बडिमालिका क्याम्पस फालासैनमा राख्ने निर्णय पनि बैठकले गरेको छ ।

नगरपालिका भित्रका सबै क्वारेन्टीनबाट पोजेटिभ देखिएकाहरु राख्नका लागि क्याम्पसलाई उपचार सुविधा र सुरक्षित व्यवस्था सहीतको क्वारेन्टीनका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । भने टाँटे स्वास्थ्य चौकीमा आइसोलेशन कक्ष सञ्चालन गर्ने निर्णय गरेको छ ।

नगर कार्यापालिकाको बैठममा नगर प्रमुख दिपक विक्रम शाह, उपप्रमुख तारा खाती, प्रमुख प्रशासकीय अधिकृत प्रेम काजी महर्जन, कार्यपालिका सदस्य र वडाअध्यक्षहरुको सहभागिता रहेको थियो । पीसीआर जाँच मेसिन खरिदका लागि निर्णय गर्ने बुढीगंगा पहिलो नगरपालिका हो ।

नगरपालिकाले अन्य स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गर्नु पर्नेमा जोड दिएको छ । पीसीआर जाँचमा भएका ढिलाइका कारण कोरोना संक्रमित भेटिएको क्वारेन्टीनमा बसेकाहरुको रिपोट सातादिन बितिसक्दा पनि आएको छैन् । 



सोमबार २६, जेठ २०७७ ०६:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.