बाजुरा : गौमुल गाउँपालिकाले आगामी बर्षका लागि ३५ करोड २ लाख ३९ हजार ९ रुपैया बजेट प्रस्तुत गरेको छ । गौमुल गाउँ पालिकाको दोस्रो गाउँ सभा तथा १३ औं अधिवेशन मार्फत उपाध्यक्ष सीता थापाले बजेट प्रस्तुत गरेकी हुन् ।
कुल बजेटमा गौमुल गाउँपालिकाले प्रशासनिक तर्फ ८ करोड ८४ लाख, आर्थिक बिकास तर्फ २ करोड ७ लाख ८८ हजार, पुर्वधार विकास तर्फ २ करोड ३५ लाख ५३ हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ १९ लाख ७९ हजार बजेट विनियोजन गरेको छ ।
गौमुलले सामाजिक विकास तर्फ २२ करोड २० हजार बजेट विनियोजन गरेको छ । संघ, प्रदेश र स्थानीय पालिकाको राजस्वलाई बजेटको प्रमुख श्रोत मानिएको छ । पालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई नै सुधार गर्ने गरि बजेट विनियोजन गरेको अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन् ।
आत्म निर्भर जनता गौमुल समृद्दीको आधार, शिक्षा स्वास्थ्यमा सुधार, जडिबुटी र पर्यटन प्रवद्र्धन सहकारी मार्फत कृषीजन्य ब्यापार, भन्ने गाउँ सभाको नारा तय गरिएको थियो । पालिकाले तीन स अर्थात शिक्षा, स्वास्थ्य र सडकलाई मुख्य प्राथमिकतामा राखेको गाउँ पालिा प्रवक्ता देवबहादुर रोकायाले बताएका छन् ।
पालिकाले भौतिक पूर्वाधार तर्फः भुकूम्पबाट प्रभावित बस्तीहरुलाई आगामी १ बर्ष भित्र आवासको ब्यबस्थाका साथै सबै वडा कार्यालयमा आगामी २ बर्ष भित्र सडक पुर्याउने लक्ष्य लिएको छ । पालिका भित्रका सबै सडक पुलनिर्माणका लागि नदी खोलामा डिपिआर तथा निर्माणका लागि पहल गर्ने नीति लिएको छ ।
सबै बस्तीमा सहजै टेलिफोन सेवा सञ्चालनका लागि आवश्यक ठाउँहरुमा टावर स्थापना गर्ने, विद्यालयका पूर्वाधार निर्माणको कार्य आगामी ३ वर्ष भित्र सम्पन्न गर्ने, विद्यालय भित्र इन्टरनेट सेवा सञ्चालन कार्य आगामी दुई वर्ष भित्र गरि सक्ने नीति लिएको छ ।
भौगोलिक रुपमा दुर्गम भएकै कारण गौमुल गाउँपालिकाका अधिकांश बस्तीमा टेलिफोन सेवा छैन्, भने सडक अझै आधा बढी भूगोलमा पुग्न सकेको छैन् । गौमुलले पालिकाको २ नम्बरमा पर्ने धजालाउने देखि पारी ढम्णीया सम्म ५६० मिटर लामो ऐेतिहासिक झोलङ्गे पूल तीन वर्षभित्र निर्माण गरिसक्ने बताएको छ ।
आर्थिक विकास तर्फ कृषिमा ः एक घर दुई बारी तोरी, पाँच घार मौरी अनिवार्य गर्ने, कृषकहरुलाई व्यवसाय अनुसारको अनुदान उपलब्ध गराईने, एक घर एक ग्रीनहाउस उपलव्ध गराईने, पालिकामा कोल्डस्टोर स्थापना गर्ने नीति लिएको छ ।
उत्पादनलाई वजार सम्म पुगाउने अनुदानको व्यवस्था गरिने, सबै प्रकारका वीउविजन निःशुल्क उपलव्ध गराइने, एक घर एक जडीबुटी नर्सरीको नीतिलिई राहात कार्यक्रम अघि बढाउने कार्यक्रममा उल्लेख छ ।
पालिकाले महिला मात्र ब्यबसायी भई यस आर्थिक बर्ष देखि दर्ता हुने नयाँ ब्यबसायहरुमा लाग्ने ब्यबसाय कर २५ प्रतिशत छुट् गरिनुका साथै विदेशमा श्रम गरेर फर्किएका युवाहरुले लगानी गरि कम्तिमा ५ जनालाई रोजगार दिने गरि स्थापना भएका उद्योग ब्यबसायीहरुमा सतप्रतिशत कर छ्ट् र रैथाने वालि सबन्धि उद्योग ब्यबसायको करमा ५० प्रतिशत छुट गर्ने नीति लिएको छ ।
घर एक धारा नीति २ वटा गाउँमा सुरु भएको र ४ वर्ष भित्र सबै घरमा पुर्याउने नीति लिएको छ । घरको आँगनमा बगैंचा तथा वृक्षारोपण कार्यक्रम लागु गरिने महिनावारीलाई सुरक्षित तथा व्यवस्थित बनाउन हरेक टोलमा सेनेटरी प्याड बैंक स्थापना गरिने, हरेक टोलमा एउटा आधुनिक सार्वजनिक शौचालयतथा स्नान गृह निर्माण गरिने नीति लिईएको छ ।
प्रत्यक बर्षको १ पटक खेल महोत्सब सञ्चालन गर्ने, दलित समुदायका सबै परिवारका लागि एक परिवार एक आयआर्जन कार्यक्रम लागु गरिने, भुमिहिन दलित तथा विपन्न परिवारलाई जमिनको व्यवस्था गरिने, दलित तथा विपन्न समुदायका उच्च शिक्षा अध्ययनरत छात्रा छात्रहरुलाई छात्रबृत्तिमा विशेष प्राथमिकता दिने नीति लिएको छ ।
पालिका अध्यक्ष हरिबहादुर रोकायाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपाध्यक्ष सिता थापाले प्रस्तुत गरेको आगामी वर्षको प्रस्तावित बजेट सर्वसम्मत पारित गरिएको छ ।
प्रतिकृया दिनुहोस