बाजुरामा राष्ट्रिय परिचयपत्र कार्ड बनाउने टोली गाउँ गाउँमा, बडीमालिकाको सकियो

प्रमित वि‌क‌    

बाजुरामा राष्ट्रिय परिचयपत्र कार्ड बनाउने टोली गाउँ गाउँमा, बडीमालिकाको सकियो

बाजुरा : बाजुरामा राष्ट्रlय परिचयपत्र बनाउने अभियान सञ्चालन रहेको छ । बैशाख १८ गतेदेखि सञ्चालन गरिएको राष्ट्रिय परिचयपत्र बनाउने टोली यतिबेला गाउँ टोलमै पुगिरहेको छ । 

जिल्ला प्रशासन कार्यालय बाजुराको आयोजनामा जिल्लाका ९ वटै स्थानीय तहका विभिन्न वडामा परिचयपत्र वितरण कार्य जारी रहेको छ । नागरिकलाई पायक पर्ने स्थानमा पुगेर परिचयपत्र बनाउने अभियान सञ्चालनमा रहेको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताएका छन् । 

भौगोलिक विकटता र विभिन्न समस्याका कारण परिचयपत्र बनाउन जिल्ला सदरमुकाम मार्तडीसम्म पुग्न नसकेका नागरिकलाई लक्षित गर्दै कोही नछुटोस् भन्ने उद्देश्य सहीत प्रत्येक स्थानीय तहका वडाहरुमै पुगेर परिचयपत्र बनाउने अभियान थालिएको खड्काले बताए । 

जिल्लाका ९ वटा स्थानीय तह मध्ये बडीमालिका नगरपालिकाको परिचयपत्र वितरण कार्य सम्पन्न भएको छ । भने त्रिवेण नगरपालिका र बुढीगंगा नगरपालिकामा वितरण कार्यजारी रहेको छ । यी दुई वटा स्थानीय तहको सकिएपछि हिमाली गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाका ३∕३ वडा र गौमुल गाउँपालिकामा सञ्चालन गर्ने तयारी रहेको छ । उक्त अभियानलाई सफल पार्न सबैले सहयोग, सहजीकरण र सहजता बनाउन प्रमुख जिल्ला अधिकारी खड्काले आग्रह गरेका छन् ।

आज गौमुल गाउँपालिकामा आयोजना गरिएको राष्ट्रिय परिचयपत्रको विवरण दर्ता सम्बन्धी जनप्रतिनिधी, वडा सचिव, पञ्जीकरणका कर्मचारीसंगको अन्तरक्रिया कार्यक्रममा डिजिटल प्रविधिसंगै विभिन्न क्रियाकलापहरु परिचयपत्रको माध्यमबाट मात्र हुने भएकाले नागरिकहरुको सहजताका लागि गाउँ टोलमै पुगेर परिचयपत्र वितरण कार्य सञ्चालन गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका बालकृष्ण प्रसाद भट्टले बताएका छन् । 

उनले कार्यक्रममा परिचयपत्र बनाउँदा आवश्यक तथा खटिएका कर्मचारीहरुले ध्यान दिनुपर्ने कुराहरुको जानकारी गराएको थियो । स्पष्ट नागरिकता भएका व्यक्तिहरुलाई मात्र राष्ट्रिय परिचयपत्र दिन आग्रह गरिएको छ । 

यद्यपी नागरिकतामा त्रुटि र स्पष्टता नभएको हकम वडाको सिफारिस सहीत जिल्ला प्रशासनबाट सच्याएको प्रतिलिपी लिएपछि मात्र राष्ट्रिय परिचयपत्र दिईने भएको छ । नागरिकतामा के्रमेट, दुईपटक लेखिएको, फोटो स्पष्ट नभए, जन्म मिति, जारी मिति र आमा बुवाको नाम स्पष्ट नभएका नागरिकलाई परिचयपत्र दिइने छैन् । 

यस्तो समस्या भएका व्यक्तिहरुले राष्ट्रिय परिचयपत्र बनाउने टोली गाउँमा नपुग्दै आवश्यक प्रक्रिया सहीत नागरिकता सच्याउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । दैनिक एक वटा स्टेशनबाट न्युनतम ४० जनाको विवरण दर्ता गरिने छ । भने प्रत्येक वडामा न्युनतम २ वटा स्टेशन राखेर काम सञ्चालन गरिने भएको छ ।

राष्ट्रिय परिचयपत्र बनाउँदा नेपाली नागरिकताको प्रमाणपत्रको सक्कली प्रति, जन्ममिति नखुलेको हकमा सो खुल्ने आधिकारीक प्रमाण जस्तै एस.एलसी वा सो सरहको शैक्षिक योग्यताको प्रमाण, नागरिकताको प्रमाण पत्रमा उल्लेखित भन्दा फरक स्थायी ठेगाना भएमा बसाई, सराई दर्ताको प्रमाणपत्र र विवाहीतको हकमा नागरिकताको प्रमाणपत्र पति पत्नीको नाम उल्लेख नभएमा वा फरक परेमा विवाह दर्ताको प्रमाणपत्रको सक्कली प्रति लगायतका कागजातको आवश्यक पर्ने बताईएको छ ।

परिचयपत्र लागु भएपछि राज्यबाट प्रदान गरिने सबै सेवा सुविधा प्राप्त गर्न र सेवा सुविधा माग गर्दा अनिवार्य परिचयपत्रको आवश्यक हुने भएको छ । साथै यसलाई सार्वजनिक सेवा प्राप्तिको मुख्य आधार तथा व्यक्तिको पहिचानको प्रमाणको रुपमा मान्यता दिइने भएकाले राष्टिय परिचयपत्र कार्डको बनाउँन नछुटाउन अनुरोध गरिएको छ । 

कर्यक्रममा गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले पालिकामा केही दिनमै प्रत्येक वडामा राष्ट्रिय परिचयपत्र वितरण कार्य अभियान सञ्चालन हुने भएकाले सबै नागरिकले सहज सेवा उपलब्ध गर्न आग्रह गर्नुभएको छ । सबै नागरिकलाई सहज हुने र परिचयपत्र बनाउनबाट कुनैपनि व्यक्ति नछुटाउने गरी व्यवस्थापन गर्ने बताएकी छन् ।

उपाध्यक्ष थापाकै अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रमको प्रमुख अतिथिमा बाजुरा प्रमुख जिल्ला अधिकारी पुष्क खड्का रहनुभएको थियो । भने सहायक प्रमुख जिल्ला अधिकारी राम कुमार तिमिल्सेना, प्रहरी नायव उपरीक्षक कविन्द्र सिंह बोहरा लागयत अतिथिमा रहनुभएको थियो । 

गौमुल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदि प्रसाद भट्टले सञ्चालन गर्नुभएको कार्यक्रममा जनप्रतिनिधी, कार्यपालिका सदस्य, वडा सदस्य, वडा सचिव, पञ्जीकरण शाखाका कर्मचारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।



शनिबार २०, जेठ २०८० ०७:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.