संघर्षले गीत संगीतमा जमेकी शोभा सम्मानीत

नजिक न्युज संवाददाता    

संघर्षले गीत संगीतमा जमेकी शोभा सम्मानीत

बाजुरा : संघर्षको अर्को नाम हो, शोभा थापा । जहाँ छन्, त्यो उनको एकल संघर्षकै उपज हो । हालको स्थानमा सहज पुग्ने नत उनीसँग त्यो बेला योग्यता र अध्ययन थियो, नत कुनै परिवारीक विरासत र सम्बन्ध नै । सानै देखिको गीत गाउने रहरलाई जीवनको परिचय बनाएरै छोड्ने संकल्प पुरा गरेकी छन्, शोभाले ।

त्यो पनि विपन्न परिवार, अधिकांशको सपना भारतको दिल्ली जाने र परिवार पाल्ने नै थियो, त्यो बेला । सन्तान उमेरपुगेपछि अध्ययन भन्दा भारतको दिल्ली लिने र नोकरीमा लगाउने अनि परिवारका लागि पैसा कमाउने सपना हर कोहीको हुने गथ्र्यो, त्यही समुदायमा हुर्केकी शोभाले केही फरक सोच राखिन् ।

सानै उमेरमा सामाजिक सेवा गर्ने रुचि राख्ने शोभाले गीत गुन्गुनाएर नै धेरैको मन जित्ने गर्थिन् । बाल क्लबमा आवद्ध भएदेखि सडक नाटक अनि साँस्कृतिक कार्यक्रममा शोभाले कुनै न कुनै गीत सुनाएकै हुन्थ्यीन् । क्यासेट निकाल्छ होली भन्ने सोचेको थियौं, तर अहिलेकै जत्तिको चर्चा हुन्छ भन्ने सोचेकै थिएनौं, सँगैका साथीसंगीहरुले सुनाउने गरेका छन् ।

बाजुरा विकट र दुर्गम जिल्ला । एउटा एल्बम निकाल्न पनि ठुलो खर्च गर्नु पर्ने बाध्यता थियो । चिनेजानेका कोही थिएनन्, भनेको जत्ति लगानी तिर्नु पर्ने हुन्थ्यो, छिमेकी अंकल पनि गाउने र एल्बम समेत निकालिसकेको हुनाले पनि उनलाई केही राहत मिल्यो । तर परिवारको चाहना गीत गाउने नै नभइदिए भन्ने थियो । स्वर सुन्दा रमाएपनि गाउने भन्दा अरु नै पेशा रोजिदिएको भए भन्नेमा परिवार थियो ।

रपनि १८ वर्षको उमेर देखि नै शोभाले आफूलाई गीत संगीतमै स्थापित गर्ने अठोट गरिसकेकी थिइन् । तर उनले के कसरी स्थापित हुने मेसो भने पाएकी थिइनन् । धेरैलाई आफ्नो इच्छा पुरा गर्न भनिन्, आफै मेहनत गरिन्, दिल्ली पुगेर आफ्नो सपना आफन्त र भेटेजति नेपालीलाई पनि सुनाईन्, तर सोचे जस्तो सहयोग पाइनन् ।

लामो समय बाल अधिकार मञ्च, गाउँमा बाल क्बल र सामाजिक रुपान्तरणको अभियानमा सक्रिय शोभालाई मानवीय सेवा, सामाजिक रुपान्तरण र परिवर्तनको मुल मुद्दामा गीत गाउने क्रान्तिमय जोश थियो । तर उपयुक्त बाटो र अवसर भेटाउन सकेकी थिइनन् ।

बीचमा दल र विचार विशेष गीत गाउन थालिन्, जुन कारण जेनतेन पाएको जागिर नै छोड्नु पर्ने अवस्था आयो । फेरि अर्को समस्या थपियो । भौतारिएको जीवन, केही गर्ने तिब्र इच्छा र केही क्षमताले भरिएको व्यक्तित्वका लागि राहत मिल्ने पात्रसँग भेट जुर्यो । ती पात्र थिए, शोभाका जीवन साथी विजय थापा । त्यही भेट र ती पात्रले नै शोभाको परिचय र्फेर्न सहज भएको निर्णायक मोड थियो ।

हालको खप्तड छेडेदह गाउँपालिका ४ र साविक गुदुखाती गाविसमा जन्मीएकी हुन्, शोभा । लाल सिंह र आमा मिनाकी जेठी सन्तान शोभालाई यो अवस्थासम्म पुर्याउन घर परिवारसँगै व्यक्तिगत संघर्ष नै पहिलो बन्यो । थापाले गायक ध्वज महरासँग ‘हरिया छन् कि मेला’ गीतमा पहिलो पटक स्वर भरेकी हुन् । 

२०६१ साल देखि नै गीत संगीतमा सक्रिय शोभाले हालसम्म १ हजार बढी गीतमा स्वर दिएकी छन् । दुई दर्जन बढीमा अभिनय गरेकी छन् । भने आफ्नै स्टुडीयो मार्फत हजारौं गीत रेडर्कमा समेत योगदान गरेकी छन् । शोभाको देउडा गीतका लागि नै बनेको स्वरमा हजारौं प्रंशसक झुम्मीने गरेका छन् । 

तीनै शोभा थापालाई पछिल्लो समय एक पछि अर्को सम्मान थाम्ने अवसर मिलेको छ । गीतहरु चर्चामा आउनुले मात्रै शोभाको चर्चा छैन् । शुन्य अवस्थाबाटको प्राप्त उचाई र गीत संगीमा पुर्याएको योगदानको चर्चाले पनि सम्मान गर्ने गरिएको छ ।

सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुरामा जन्मिएर गीतसँगीतका क्षेत्रमा काठमाण्डौलाई कर्मथलो बनाएकी गायिका शोभा थापा यसै साता पनि सम्मानित भएकी छन् । राष्ट्रिय सङ्गीतकर्मी संघ काठमाण्डौले यसै साताको सोमबार आयोजना गरेको ‘राष्ट्रिय स्रष्टा सम्मान तथा बृहद सांस्कृतिक कार्यक्रम’ मा उनि सम्मानित भएकी हुन् ।

नेपाली गीत, सँगीत, कला, सँस्कृति संरक्षण, संवद्र्धन र विकासमा खेलेको भूमिकाको उच्च मुल्याङ्कन गर्दै विभिन्न विधाका करिब दुइ दर्जन गीतसँगीतकर्मीहरुलाई सम्मान गर्ने क्रममा गायिका थापा पनि सम्मानित भएकी हुन् ।

थापालाई कार्यक्रमका प्रमूख अतिथी एवं राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय सँगीतकर्मी संघका अध्यक्ष निरेन श्रेष्ठले खादा तथा सम्मान–पत्रले सम्मान गरेका हुन् । शोभाले आफूले पाएको माया नै जीवनमा कमाएको ठूलो सम्पती भएकोले सदा संरक्षण गरि राख्ने गरि गीत संगीतमा योगदान पुर्याउने बताएकी छन् । 



शुक्रबार १९, जेठ २०८० ०८:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.