बाजुरा : गौमुल गाउँपालिकामा मदिरा व्यसथापनलाई थप कडाईका साथ लागु गरिने भएको छ । नियमलाई मिचेर लुकिछिपी पालिका बाहिरबाट अवैध घरेलु मदिरा र प्लाष्टिकको बोतलमा प्याकिङ्ग भएको मदिरा पैठारी गरि विक्रि वितरण हुने गरेको जनगुनासा आएपछि गाउँपालिकाले नियम थप कडा पार्ने भएको हो ।
गाउँपालिकाले सर्वसाधारण जनताको स्वास्थ्य तथा आर्थिक हित कायम राख्न र समाजलाई सभ्य, शान्ततथा सकारात्मक बाटोमा लैजान मदिराको नियन्त्रण तथा व्यवस्थापन गर्न २०७५ सालमा कार्यविधि बनाई कार्यान्वयनमा ल्याएको थियो ।
सोही नियमलाई थप कडाइ गरिने गाउँपालिका उपाध्यक्ष सीता थापाले बताएकी छन् । मदिरा नियन्त्रण तथा व्यवस्थापन नियम लागु गरिएको पाँच वर्षभित्र सकारात्मक समाज निर्माण भएपनि केही मात्रामा फितलो देखिएपछि थप कडा रुपमा कार्यान्वयनमा ल्याउन लागिएको थापाले बताईन् ।
त्यस्तै समाजमा मदिरा सेवन गरि होहल्ला अनैतकि क्रियाकलाप गर्ने र व्यापारीहरुले नियमको पालन नगरी मदिरा जथाभावि विक्रि वितरण गरेको थाहा पाउने जुसूकै व्यक्ति सम्बन्धित निकायमा खबर गरेपछि सो व्यक्तिलाई गाउँपालिकाले पुरस्कार प्रदान गर्ने भएको छ ।
गाउँपालिकाको नियम विपरीत मदिरा पिउने, पैठारी गर्ने, घरेलु मदिरा उत्पादन गरेको र कुनै पनि व्यक्तिले तोकिएको भन्दा बढी सेवन गरि समाजमा अनैतिक क्रियाकलाप गरेको खबर सम्बन्धित निकायमा पुर्याउने व्यक्तिलाई गाउँपालिकाले पुरस्कार स्वरुप एक हजार रुपैयाँ दिने भएको हो ।
खबर गर्ने व्यक्तिको नाम भने गोप्य राखिने भएको छ । खबर नजिककैको प्रहरी चौकी र गौमुल गाउँपालिकाको कार्यालयमा प्रत्यक्ष सम्पर्क गरि गर्न सकिनेछ । उक्त व्यक्तिलाई धन्यवाद सहीत पुरस्कार प्रदान गरिने बताईएको छ ।
गौमुल गाउँपालिकाको केन्द्र घट्मुनामा मदिरा नियन्त्रण तथा व्यवस्थापन गर्न त्रिपक्षीय छलफल समेत भएको छ । जनप्रतिनिधी, व्यवसायीबीच भएको छलफलमा प्रत्येक वडाका जनप्रतिनिधीले कडा रुपमा लाग्नुपर्ने बताईएको छ ।
उपाध्यक्ष सीता थापाको अध्यक्षतामा बसेको बैठकले मदिरा नियन्त्रण गर्न वडाका नागरिकलाई सचेत गराउन र कडा रुपमा लाग्न थापाले वडाध्यक्षलाई निर्देशन समेत दिएकी छन् । मदिरा सेवनकर्ताले आफुलाई आवश्यकता अनुसार दैनिक रुपमा सेवन गर्नाको लागि गाउँपालिकाबाट नामदर्ता गरि लिएको मदिरा सेवन कार्ड प्रयोग गर्न आग्रह गरिएको छ ।
मदिराको उत्पादन तथा बिक्री वितरणमा कसैले पनि प्लाष्टिकको पोका प्लास्टिकको बोत्तलमा मदिरा राखी मदिराको उत्पादन तथा बिक्री वितरण गर्ने गरेको पाईएमा कडा कारबाही गरिने बताईएको छ ।
त्यस्तै सेवनकर्ताले दैनिक रुपमा १८० मिलिटर र वियर परिकारमा एक बोत्तल मात्र सेवन गर्न पाइने नियम लागु अघिल्लो पाँच वर्षमै गरिसकेकोले सो नियम थप प्रभाकारि रुपमा पालना गर्न उपाध्यक्ष थापाले आग्रह गरेकी छन् ।
सो वापत बार्षिक एकमुष्ट ५०० नविकरण र कार्ड वाफत ५०० मात्र बुझाउनु पर्छ र अतिथिको हकमा २०० बुझउनु पर्ने गाउँपालिकामा नियम सहीत कार्यान्वयमा रहेको छ ।
बैठकमा मदिराको उत्पादन तथा बिक्री वितरणमा बन्देज र मदिरा निकासी पैठारीमा नियन्त्रण गर्न छलफल भएको थियो । गाउँपालिका बाहिरबाट अवैध घरेलु मदिरा पैठारी गर्ने गरेको पाईन थालेकाले नाकामा चेक पोष्ट राखिने उपाध्यक्ष थापाले बताईन् ।
मदिरा विक्रि वितरण, ओसार पसार र सेवनकर्ताले तोकिएको ढाँचामा गाउँपालिका वा सम्वन्धीत निकायमा निवेदन दिइ सो निकायबाट अनुमति पत्र पाएको अवस्थामा मात्र विक्रि वितरण, ओसार पसार र सेवन गर्न पाइने बैठकमा जानकारी गराईएको छ ।
त्यस्तै बैठकमा समाजमा नियमको उल्लघन गरि मदिरा सेवन गरेर कुनै पनि व्यक्तिले होहल्ला गरेको पाईएमा कानुन बमोजिम कडा कारबाही गरिने गौमुल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जगदिशप्रसाद भट्टले बताएका छन् ।
बेलुकी ६ बजेको समयदेखि रातीको समयमा कुनै पनि व्यक्तिले मदिरा सेवन गरि अर्को व्यक्ति वा टोलमा असर पुग्ने गरि होहल्ला नगर्न र गाउँपालिकाले आफ्नो सेवा क्षेत्रमा एकमात्र होलसेल मदिरा पसल र ओसार पसार मदिरा पसलका लागि मात्र अनुमति दिएकोले सोही अनुसार कार्यान्वयन गर्न आग्रह गरिएको छ ।
मदिरा होलसेल बिक्रीकर्ता र ओसार पसारकर्ताले थोक विक्रिकर्तालाई विहाना ७ बजेदेखि बेलुकी ५ बजेसम्म विक्री वितरण गर्नु पर्ने छ र सेवनकर्तालाई बेलुकी ६ बजेदेखि ९ बजेसम्म मात्रै मदिरा बिक्री वितरण गर्नुपर्नेछ । मदिराको कारोवार गर्ने व्यापारीले आफुले लिएको इजाजत पत्र पसलमा सबैले देख्ने गरि राख्नु पर्नेछ भने मदिराको रेट निर्धारण सहितको लिस्ट टासेर राख्न अनुरोध गरिएको छ ।
व्यपारीलाई प्रत्येक दिन आफुले बिक्री वितरण गरेको मदिराको दुरुस्त रेकर्ड राख्न र किन्ने व्यक्तिको नाम, ठेगाना, उमेर र किनेको परिणाम कानून बमोजिम इजाजत पत्र नविकरण गर्न अनुरोध गरिएको छ ।
प्रतिकृया दिनुहोस