मे २८ महिनाबारी स्वच्छता दिबस "मर्यादित महिनाबारी हाम्रो जिम्मेवारी " भन्ने विषयमा देउडा प्रतियोगिता गर्दै बुढीगंगा नगरपालिका वडा न. २ को ताप्रा गाउमा भब्य रुपमा मनाइएकाे छ ।
बुढीगंगा नगरपालिका २ नम्बर वडा कार्यालयको आयोजना गुड नेवर्स ईन्टरनेशनल नेपाल र पीसविन बाजुराको सहयोगमा आयोजित उक्त देउडा प्रतियोगिता वडा अध्यक्ष श्री पदम भन्डारीको अध्यक्षता तथा तुला बहादुर थापाको प्रमुख आतिथ्यता र निबर्तमान नगर उप प्रमुख तारा खातीको बिशिष्ट आतिथ्यतामा भएकाे थियो ।
समाजमा सामाजिक कुसंस्कारको रुपमा रहेको छाउपडी कुप्रथाको अन्त्य गर्न र समुदायमा महिनाबारी प्रति सकारात्मक धारणा ल्याइ समाजमा महिनाबारी स्वच्छता ब्यबस्थापनमा सचेतना फैलाउने उद्देश्यका साथ संचालन भएको उक्त प्रतियोगितामा ६ भन्दा बढी समुहको प्रतिस्पर्धा रहेको थियो । देउडा गित मार्फत सहभागीले महिनाबारी प्राकृतिक प्रक्रिया भएको र स्वस्थताको प्रतीक भएकोले यसलाई नकारात्मक रुपमा नबुझ्न र महीनाबारीको समयमा महिलालाई विभेद गर्न नहुने कुरा प्रस्तुत गरेका थिए । महिनाबारीलाइ मर्यादित र सम्मानित बनाउनु पर्ने र महिलाहरुले पनि महिनाबारी हुदा सरसफाइ स्वच्छतामा ध्यान दिनुपर्ने ,सुरक्षित बसाइ ,आराम र पोषणयुक्त खाना खानुपर्ने सुझाब पनि सहभागीले देउडा मार्फत दिएका थिए । ३०० जनाभन्दा बढी सहभागी उपस्थित उक्त कार्यक्रममा छाउपडी कु प्रथाको अन्त्य गर्न बुढीगंगा नगरपालिकाको वडा नम्बर २ लाई महिनाबारी स्वच्छतामैत्री वडा बनाउन सबै सहभागीले प्रतिबद्धता ब्यक्त गर्दै प्रतिबद्धता ब्यानरमा हस्ताक्षर समेत गरेका थिए ।
प्रतिकृया दिनुहोस