बाजुरा : गौमुल गाउँपालिका वडा नं.२ ले एक वर्षे कार्यकालको उपलब्धी सार्वजनिक गरेको छ । वडामा एक वर्षसम्म गरेका कामहरुको एक औपचारिक भेलाका साथ सार्वजनिक सुनुवाई गरेको हो ।
जनगुनास तथा समस्याहरु सुन्न र वडाले आगामी दिनमा गर्नुपर्ने कामहरुको पहिचान सहीत सुझाव प्राप्त गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई गरिएको वडाध्यक्ष देवबहादुर रोकायाले बताएका छन् । वडाध्यक्ष रोकायाले वडामा विभिन्न विद्यालयका भौतिक संचरना निर्माणदेखि जोखिम क्षेत्रको तटबन्ध र राष्टका लागि दुई दिन श्रमदान कार्यक्रमलाई पहिलो उपलब्धीको रुपमा राखेका छन् ।
दुर्गम भएकै कारण वडा सडक सञ्जालसम्म नजोडिए पनि एक वर्षको अवधीमा धेरै राम्रा काम र उपलब्धि गरेको रोकायाले बताएका छन् । विभिन्न असहजता र कठिनाईका बीचमा पनि जनताको पक्षमा गरिएका कामको उपलब्धिहरु भेला गरेरै सार्वजनिक गर्दा खुसी लागेको रोकायाले बताए ।
वडामा राष्टका लागि दुइ दिन श्रमदान कार्यक्रम अन्र्तगत एक वर्षको अवधिमा मात्र स्थानीयले ५ वटा टोलका ३८ संरचनामा श्रमदान गरेका छन् । उक्त संरचना निर्माणमा आफ्नो स्थानको विकास गर्नका लागि स्थानीयले निःशुल्क रुपमा काम गरेका हुन् ।
वडामा गरिएका गतिविधी सहीतको प्रतिवेदन वडाध्यक्ष रोकायाले नै प्रस्तुत गरेका थिए । वडामा विभिन्न किसिमका गरि ३३८ व्यक्तिहरु सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् । एक वर्षको अवधिमा २८ हजार ५ सय ५० रुपैयाँ राजश्व संकलन भएको प्रतिवेदन मार्फत सार्वजनिक गरिएको छ । केही समस्याका कारण आफूहरुले सोचे जति राजश्व संकलन गर्न नसकिएको वडाध्यक्ष रोकायाले बताएका छन् ।
एक वर्षको अवधिमा वडामा मालीवन तटबन्धन निर्माण, मालेखेरा गोरेटो बाटो निर्माण, जनज्योती माविको ५ कोठे भवन निर्माण तथा अर्को भवन निर्माधीन अवस्थामा रहेको, हिमशिखर आधारभुत विद्यालयको भवन निर्माण, फुलपाटा माविको घेरबार निर्माण, प्रधामन्त्री स्वरोजगार चौकादेखि पदमपुर आधारभुत विद्यालय सम्मको बाटो मर्मत र दलित शसक्त्तीकरणको घेरबार निर्माण गरिएको छ ।
टोलटोलमा आमा समूह, बाल समूह बनाएर शसक्तिकरण, जागरण र स्वास्थ्य सुधार तथा परिवारीक योजनाबारे छलफल गर्ने अवस्थाको सिर्जना गरिएको छ । संसस्थासंग समन्वय गरि रोजगारी सिर्जनाका कार्यक्रम सहीत कृषि, स्वास्थ्य, शिक्षाको क्षेत्रमा काम गरिरहेको अवस्था छ ।
वडाका स्वास्थ्य संस्थालाई शसक्तिकरण र औषधी अभावमुक्त संस्थाको रुपमा विकास गर्दै आएको छ । स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन सम्बन्धित निकायसंग समन्वय गरि बजारसम्म निर्यात गर्ने गरेको छ ।
गिफट नेपाल, युएनएफपीए, सहास नोपल, एचआरसी बाजुरा, सहकर्मी समाज, आइडीएस नेपाल लगायतका संस्थाहरु वडामा लागु रहेका छन् । वडामा धार्मिक तथा पर्यटकीय, जडीबुटी संकलन तथा प्रशोधन, कृषी जन्य बस्तुको बजारीकरण तथा प्रशोधन, पशुपालन उत्पादन, विभिन्न खानी, नगदेवालीको उत्पादन, फलफुल खेतीको उत्पादन लगायतको सम्भावना रहेकोले निकै उपलब्धीका रुपमा मानेको छ ।
भौगोलिक विकटताको कारण विकास निर्माणमा बाधा, विभिन्न प्रकोप सृजना हुनु, नियमित रुपमा ब्यवसायिक खेती र पशुपालन नगर्नु, राजनैतकि र सामाजकि रुपमा समुदायको साझा बुजाई नहुन, जनचेतनाको अभाव जस्ता थुप्रै कुराहरुलाई वडाले प्रमुख चुनौतिका रुपमा राखेको छ ।
जनताका सामु एक वर्षको अवधीमा गरिएको कामको केही उपलब्धी सार्वजनिक गर्न पाउँदा थप हौसला मिलेको बताउँदै आगामी दिनमा जनताका पक्षमा काम गर्ने बताएका छन् । जनताका आधारभूत आवश्यकतालाई मध्येनजर गरि सोही अनुसारका कामहरु गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
वडाको सार्वजनिक सुनुवाईप्रति स्थानीय निकै खुसी भएका छन् । यसअघि वडाले गर्ने काम, दिने सेवा सुविधा र वडाका विविभन्न गतिविधीहरु थाहा हुदैन् थियो । नयाँ जनप्रतिनिधी आईसकेपछि धेरै कुराहरु थाहा पाउने गरेको स्थानीय मना रोकायाले बताएकी छन् ।
उनले भनिन् अघिल्लो पाँच वर्षमा सार्वजनिक सुनुवाइ नहुँदा मनमा लागेका कुराहरु भन्न पाएनौं, सुन्न तथा बोल्न पाएका थिएनौं र सार्वजनिक सुनुवाई भनेको पनि थाहा थिएन्, तर अहिले सबै कुराहरुको थाहा पाउने गरेको छ ।
वडाले नागरिकलाई राम्रो सेवा सुविधा सहीत अन्यमा पनि त्यत्तिकै सहजता पुर्याएको उनीहरुको भनाइ छ । सार्वजनिक सुनुवाई गरेकाप्रति धेरै प्रशंसा गरेका छन् । बाजुरा जिल्ला भरीका वडा मध्ये सार्वजनिक सुनुवाइ गर्ने पहिलो वडाको रुपमा स्थापित भएको छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा राष्टका लागि दुइ दिन श्रमदान कार्यक्रम अन्र्तगत काममा स्थानीयको सक्रियाताप्रति वडाले धन्यवाद व्यक्त गरेको छ । धेरै संरचना निर्माणमा नागरिकहरुले देखाएको इमान्दारीता तथा सक्रियताले ठुलो टेवा पुगेको बताईएको छ । आगामी दिनमा शिक्षा, स्वास्थ्य, कृषि र सडकलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने लक्ष्य वडाको रहेको छ ।
यस्तै प्लाष्टिकमुक्त वडा बनाउने लक्ष्य पनि लिएको छ । वडालाई स्वच्छ तथा सुन्दर बनाउन प्लाष्टिकमुक्त बनाउने अभियान थालिने भएको छ । पाँच वर्षभित्र वडालाई प्लाष्टिकमुक्त बनाउने लक्ष्य रहेको वडाध्यक्ष देवबहादुर रोकायाले बताएका छन् ।
प्रतिकृया दिनुहोस