बाजुरा : बुढीनन्दा नगरपालिकाले एक वर्षको बार्षिक उपलब्धी सार्र्वजनिक गरेको छ । पालिका स्तरीय बार्षिक समीक्षा कार्यक्रम मार्फत वर्षदिनको उपलब्धी सार्वजनिक गरेको हो । स्थानीय तह २०७९ को निर्वाचन पछिको पहिलो एक वर्षको समीक्षा सहीत उपलब्धी सार्वजनिक गरिएको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् ।
नगरपालिकाले कोल्टी बजारको खानेपानी र विद्युत निरन्तरतालाई पहिलो उपलब्धीका रुपमा लिएको छ । बर्षौदेखि अँध्यरोको सास्ती र खानेपानीको समस्यामा रहेका बजार बासीले हाल नियमित पानी र विजुलीको उपयोग गर्न पाएका छन् । मोबाइल चार्ज समेत गर्न नपाउने र खानेपानी समेत खच्चडबाट बोक्नु पर्ने बाध्यता एक वर्षको अवधीमा हटेको छ ।
मार्तडी पछिको ठुलो र विमान स्थल समेत भएको कोल्टी बजारको समस्या समाधान गर्न पदभार ग्रहणसँगै जनप्रतिनिधीले कामको थालनी गरेका थिए । केही महिला भित्र हालको अवस्थामा पनि थप सुधार आउने र साना उद्यम समेत सञ्चालनका लागि सहयोग पुग्ने नगरपालिकाले बताएको छ ।
आर्थिक वर्ष २०७९।८० को बार्षिक कार्यक्रमको उपलब्धी सार्वजनिक तथा समीक्षा कार्यक्रममा सबै दलका प्रतिनिधी र ३ सय बढी स्थानीय सर्वसाधारण सहभागि थिए । उनीहरुबीच नगर प्रमुख जनक कुमार बोहराले धेरै कुराको सुरुवाद गरिसकेकोले पहिलो वर्षमा धेरै कुराको अनुभूति गर्न नपाएपनि जनताका पक्षमा काम भएकोमा विश्वस्त हुन आग्रह गरेका थिए ।
पालिकाका तर्फबाट प्रदीपराज जैशीले प्रस्तुत गरेको उपलब्धीहरुमा शिक्षा र स्वास्थ्यमा राम्रो सुधार आएको देखाइएको छ । नगर प्रमुख रोजगार कार्यक्रम अन्र्तगत शैक्षिक सुधारका काम अघि बढेको, परीक्षा प्रणाली सुधार गरिएको, थप कक्षा र अतिरिक्त कक्षा सञ्चालन गरिएको खेलकुदमा राम्रो प्रगति देखिएको समीक्षा कार्यक्रममा जानकारी गराइएको छ ।
पालिकाले सबैभन्दा राम्रो र जनताको पक्षमा स्वास्थ्य क्षेत्र मार्फत काम गर्न सकिएको नगर उपप्रमुख रामबहादुर बोहराले बताएका छन् । हाल प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा चार जना चिकित्सक छन् । एक जना एमडी, एक जना स्त्रीरोग विज्ञशेष र २ जना स्थायी दरबन्दी सहीत मेडिकल अधिकृत कार्यरत छन् । लामो समय प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी डाक्टर नै नपाएको भन्दै आलोचना हुने गरेको थियो ।
नयाँ जनप्रतिनिधीसँगै दुई पटक निशुल्क बिशषेज्ञ सेवा सञ्चालन भइरहेको छ । भने अप्रेशस सहीतको सेवा प्रवाह प्राथमिक स्वास्थ्य केन्द्रबाटै भइरहेको छ । ६ महिनाको अवधीमा १६ जना गर्भवतीलाई अप्रेशन मार्फत बच्चा जन्माउने कार्य गरिएको छ । एक्सरे, प्रसुती, विरामीहरुलाई समेत चेकजाँच र परामर्श सेवाका लागि सहज भएको छ ।
पालिकाले साउन भित्र एम्बुलेन्स सेवा सुचारु गरिसक्ने गरि खरिद प्रक्रिया अघि बढीसकेको, नगर बस खरिदको नीति अघि बढाइएको, कृषिमा आधुनिकरण र उत्पादनका लागि लगानी बढाइएको र कोल्टी बजारमा दुध समेत नपाउने स्थिति सुधारका लागि जर्सि गार्य पालनका लागि अनुदान सहीत व्यवसाय सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार शाहले बताएका छन् ।
बीचमा प्रशासकीय अधिकृत नहुँदा केही काममा बाधा पुगेपनि हालसम्म ५१.७५ प्रतिशत आर्थिक प्रगति गरेको छ । एक वर्षको अवधीमा सय बढीले उद्यम तथा सीप विकास तालिम लिइसकेको अवस्था छ । तालिम प्राप्त युवाहरुले व्यवसाय सञ्चालन समेत गरेर आयमुलक गतिविधीमा संलग्न भएको पालिकाले उपलब्धीमा देखाएको छ ।
पालिका स्तरीय न्यायीक समितिमा एक वर्षको अवधीमा परेका १५८ वटा उजुरी मध्ये १४६ वटा मेलमिलाप गरिएको र बाँकी १२ वटा सम्पादनको प्रक्रियामा रहेका छन् । नगरका समस्या सुनुवाई र संवोधनका लागि सञ्चालन गरिएको हेलो मेयर कार्यक्रम अन्र्तगत वर्षदिनको अवधीमा ३५० वटा गुनासा आएको र ती मध्ये ३ सय बढीको सुनुवाई गरिसकेको अवस्था छ ।
नगर प्रमुख जनक कुमार बोहराले बार्षिक समीक्षा काम गरेको दाबी पेश गर्न नभई जनताको सेवाका लागि थप जिम्मेवार हुन प्रेरणा मिलेको बताएका छन् । काँग्रेसका उपसभापति नारायण पाध्याय, एमालेका धनबहादुर विक, माओवादीका रामलाल कार्की, राप्रपा नेपालका जीतबहादुर शाही सहीत पालिका स्तरीय सबै दलका नेताहरु सभागि थिए ।
नगर प्रवक्ता जंगवीर रोकायाले सञ्चालन गरेको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत सन्तोष कुमार शाहले स्वागत गरेका थिए । भने प्रदीपराज जैशीले सहजिकरण गरेका थिए । सहभागिका तर्फबाट नगरको आगामी बजेटका बारे सुझाव समेत संकलन गरिएको थियो । सहभागिले नगरको विकासका लागि लिएको नीति र एक वर्षको काम गराइले विकास हुनेमा आश पलाएको बताएका छन् ।
प्रतिकृया दिनुहोस