बाजुरामा विहे गर्न मन्दिर पुगेका जोडी जातीय विभेद सहेर फर्के

नजिक न्युज संवाददाता    

बाजुरामा विहे गर्न मन्दिर पुगेका जोडी जातीय विभेद सहेर फर्के

बाजुरा : बाजुराका प्रकाश विक र कंचनपुरकी पार्वती सुनारको भेट सामाजिक सञ्जाल फेसबुकले गरायो । फेसबुकबाटै उनीहरु बीच चिनजान भयो । दुबै जना साथी बने । त्यो क्रम रोकिएन् विस्तारै कुराकानी गर्न थाले । कुराकानीले दुबैलाई नजिक बनाउँदै लियो । जीवन अन्तरंगका गफगाफ हुन थाले । फेसबुकको कुराकानीको क्रम हेलो हाइमा मात्र सीमित भएन्, दुबै जना एक अर्कालाई प्रेम गर्न थाले । 

सामाजिक सञ्जालले नै जुराएको भेटलाई प्रेम सम्बन्धमा मात्रै सीमित उनीहरुले राखेनन् अन्ततः प्रकाश र पार्वती दुबै जनाले अलग नबस्ने र विहे गर्ने निधो गरे । सामाजिक सञ्जालको प्रेम विस्तारै विवाहमा परिणत भयो । प्रकाश पार्वती लिन कंचनपुर पुगे र पार्वती प्रकाशसँगै बस्ने निर्णय सहीत बाजुरा आइन् । 

गएको चैत्रदेखि नै प्रकाश र पार्वतीसँगै बस्दै आएका थिए, तर औपचारिक विहे भने गरेका थिएनन् । दुबै तर्फका आफन्तसँगको परामर्शपछि जेष्ठमा विहे गर्ने साइत जुराए । त्यही साइत अनुसार नै प्रकाश र पार्वतीको विहे मालिका मन्दिर मार्तडीमा जेष्ठ ८ गते जुरेको थियो । 

साइत अनुसार नै माइती पोइली पक्षबाट आफन्त इष्टमित्र छरछिमेकको टोली बाजुरा सदरमुकाम मार्तडीमा रहेको मालिका मन्दिर पुग्यो । मन्दिरमा विहे गर्ने बारे अघिल्लो दिन नै नियमित पुजापाठ गर्ने ब्राह्मणलाई जानकारी गरिसकेकोले आफन्त बडो उत्साहका साथ मन्दिर पुगे । विवाहको पोशागमा सजिएका बेहुला बेहुली र आफन्तहरु मन्दिर परिसर पुग्दा मुल मन्दिरको ढोका बन्द देखेँ र झस्किए । 

मुल मन्दिरको ढोका बन्द थियो । तर मन्दिर भित्र दीप जलिरहेको देखिन्थ्यो । मन्दिर परिसरमा नियमित पुजा पाठ गर्ने कुनै ब्राह्मणहरु थिएनन् । विहेको जानकारी गराएका नियमित पुजापाठमा सरिक हुने पुजारी देवराज पाध्यायलाई फोन गरे, तर सम्पर्क हुन सकेन भन्यो । 

खुसीका साथ मन्दिर पुगेकाहरुको मुहार मलिन हुन थाल्यो । एकअर्का बीच कानेखुसी भइरह्यो, विक थर भएकै कारण पुजारी मन्दिर बन्द गरेर गएको हुन सक्ने कुराकानी पनि चल्यो । अघिल्लो दिन हुन्छ, आउनु भनेका ब्राह्मण नै सम्पर्क बाहिर भएपछि जातकै कारण विभेदपूर्ण व्यवाहार गरिएको निष्कर्षमा पुगे । 

नत मन्दिरको ढोका खुला हुने, नत ब्राह्मण नै आएर पुजापाठ ब्रतबन्ध गराउने त्यो सबै कुरा अनिश्चित बन्यो । अन्ततः आफन्तहरु ब्राह्मण नआएपछि मन्दिरको झ्यालबाट प्रसाद चढाएर निराशा बोकेर घर फर्किए । 

हरेक जनमसँगै हुने, अर्काबीचको प्रेम सदा जीवीत राख्न मन्दिरलाई साक्षी राखेर हिन्दुपरम्परा अनुसारको विहेका लागि मन्दिर पुगेको जोडिले अपमान र विभेद सहेर फर्किनु परेको पीडा शब्दमा लेखि साध्य छैन्, यो तहसम्मको अन्याय र विभेद हुनै सक्दैन्, भन्छन् पत्रकार मदन विक । 

प्रेस चौतारी बाजुरा अध्यक्ष समेत रहेका विकपनि सँगै थिए । मालिका मन्दिरलाई यहाँका स्थानीयले बडीमालिकाको आस्थाका रुपमा पुजा गर्ने गरेका छन् । त्यही विभेदकारी मानसिकताले नै काम गरेको हुन सक्ने अनुमान बेहुला पक्षको छ । ढोका बन्द हुनु, ब्राह्मणको मोबाइलमा फोन नलाग्नु, अघिल्लो दिन हुन्छ भनेर पछिल्लो दिन फरार हुनु नै विभेद गरिनु हो, हामीलाई सह्य छैन्, कानुनी बाटो रोज्छौं, बेहुलाका आफन्तले बताएका छन् । 

उसोत प्रहरीमा मन्दिर व्यवस्थापन समिति, पुजारी सहीतलाई विपक्ष बनाएर निवेदन दिइसकेको छ । जाहेरी नै दर्ता गर्ने तयारी अधिकार कर्मी र आफन्तहरुले तयारी गरेका छन् । हामीले ब्राह्मण मन्त्र सहीत विहे गरिदिन भनेकै होइन्, ढोका खुला गरिदिए हुन्थ्यो, म गर्दिन पनि   भन्न पुजारीले पाउनु हुन्छ, तर जातकै कारण विभेद गरेर सम्पर्क विहिन हुनु जीवनकै ठुलो अपमान र अन्यायपूर्ण क्षण बिताउनु पर्यो, बेहुला प्रकाश विकले दुखेसो पोखे । 

मालिका मन्दिरमा यस अघि पनि दशैं मनाउने विषयलाई लिएर दलित र गैर दलित समुदायबीच विवाद भएको थियो । दुबै पक्षका केही व्यक्तिहरु घाइते भए, केही बालबालिका समेत कुटिएका थिए । त्योपछि दुबैपक्षबीच मन्दिरमा कोही कसैले अवरोध नगर्ने सहमति भयो । त्यस यता जान आउन र पुजा पाठ गर्न अवरोध गरिएको थिएन् । 

फेरि विहेका लागि पुगेको दलित समुदायको जोडी माथि अर्को प्रहार भयो । पत्रकार बसन्त विश्वकर्माले विहेका लागि गरिएको अवरोध र विभेदलाई भोट माग्ने, सीप चलाउने तर मन्दिरमा समान इज्जत नदिने उपल्लो भनिएका व्यक्तिहरुको मनोविज्ञानकै प्रकाष्टाले दलित समुदाय विभेदमा परेको विचार राखेका छन् । मानव भएर मान्छेको पहिचान र परिचयले नबाँच्ने अवस्थामा पुर्याउनु जति निन्दनीय र अमानवीय अर्को घटना हुनै नसक्ने आक्रोश सामाजिक सञ्जालमा थपिदैं गएको छ । 

विवाह जीवनमा एक पटक हुने हो, जन्म र मृत्यु आफूलाई थाह हुदैन्, थाह हुने, महशुस गरिने र अनुभव लिन मिल्ने जीवनमै महत्वपूर्ण क्षण विवाह हो, त्यही पल पनि पीडादायी बिताउनुको पीडा कुनै सजाय र सम्मानले पूर्ति हुने दुखेसो बेहुली पार्वती सुनारले गरिन् । आफन्त छोडेर अर्काको ठाउँमा आएर खुसी मनाउने दिन अपमानीत हुनु पर्दाको आफ्नै जीवनदेखि धिक्कार लाग्यो पार्वतीले थपिन् । 

दलित समुदायले मन्दिरमा विहे गर्न नपाउने कँहि कतै कुनै प्रावधान छैन् । नेपालको संविधानको धारा २४ मा छुवाछुत तथा विभेभाव विरुद्धको हक उल्लेख छ । मुलुकी अपराध संहिता २०७४ को दफा १६६ मा सार्वजनिक स्थल वा कुनै पनि कारण देखाइ कसैलाई विभेद वा भेदभाव गर्न पाइने छैन्, यदी त्यो भएको खण्डमा ३ वर्षसम्म कैद र ३० हजार जरिवाना वा दुबै हुने व्यवस्था रहेको अधिवक्ता हर्क खडायतले बताएका छन् ।

जातीय विभेदको रंग देखाउने गरि मन्दिरमा पुजा गर्ने ब्राह्मणले विभेद गरेको आरोप बेहुला पक्षको छ । विहे कार्यमा सहभागि नभएपनि मन्दिरको ढोका नै बन्द गर्नु सिंगो दलित माथि र देशको मुल कानुन संविधान माथि नै प्रहार भएको दलित अधिकार कर्मीको आक्रोश छ ।

बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले बास्तविकता पत्ता लगाएर दोषी माथि कानुनी कारवाही हुनु पर्ने बताएका छन् । खड्काले बडीमालिका नगरपालिका ९ का वडा अध्यक्ष सुर्यकिरण विकलाईलाई फोन गरेर सम्वन्धित निकायमा निवेदन दिन भनिसकेको बताएका छन् ।

बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बडिमालिका नगरपालिका ९ का वडा अध्यक्ष सुर्यकिरण विकले फोन गरेर घटना बारे जानकारी गराएको र घटनाबारे थप आफूले जानकारी लिइरहेको बताएका छन् । उहाँले घटना सत्य सावित भए कानुनी रुपमा अघि बढाउने आश्वासन दिएका छन् । बाजुरामा दलित समुदाय माथि बेलाबेला छुवाछुतका घटनाहरु हुदै आएपनि संरक्षणकै कारण पीडितले न्याय नपाएको अवस्था छ । 

 



सोमबार ०८, जेठ २०८० १०:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.