खप्तड छेडेदहले बनायो आफ्नै पालिकामा हेलिप्याड

नजिक न्युज संवाददाता    

खप्तड छेडेदहले बनायो आफ्नै पालिकामा हेलिप्याड

बाजुरा : खप्तड छेडेदह गाउँपालिकाले आफ्नै लगानीमा पालिकामा हेलिप्याड निर्माण गरेको छ । आपतकालिन उडान तथा उद्दारका लागि हेलिकप्टर अवतरण गर्न हेलिप्याड निर्माण गरेको हो । पालिकाको ७ नम्बर वडामा हेलिप्याड निर्माण गरिएको वडा अध्यक्ष खगेन्द्र रावतले बताएका छन् ।

हेलिप्याड गाउँपालिका र नेपाली सेनाको सहकार्यमा निर्माण गरिएको हो । निर्माण सहकार्य गरेको दुर्गाभञ्जन गुल्म बाजुराले पालिकालाई नै हस्तान्त्रण गरेको सेनानी दिवाकर खड्काले बताएका छन् ।

निर्माण सम्पन्न हेलिप्याड खप्तड छेडेदह गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जिल्ला सुरक्षा प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी, गाउँपालिका कार्यकारी अधिकृत, वडा अध्यक्षहरु तथा सर्वसाधरणहरुको उपस्थितिमा हस्तान्त्रण गरिएको पालिका अध्यक्ष दिलबहादुर रावतले बताएका छन् ।

विपद् मा परेका,जटिल अवस्थाका गर्भवती÷सुत्केरी तथा गम्भीर खालका बिरामीहरुलाई आकस्मिक उद्धार गर्न सहज होस भन्ने उद्धेश्यका साथ हेलिप्याड निर्माण गरिएको पालिका उपाध्यक्ष बिशुदेवी नाथले बताएकी छन् । 

जिल्ला सदरमुकाम देखि टाढा दुर्गम क्षेत्रमा रहेको पालिकाबाट सडक यातायातबाट लामो यात्रा गर्नु पर्ने बाध्यता रहेको र आपतकालिन अवस्थामा उद्दार गर्नु पर्ने विरामी वा विपदको बेलाका लागि पालिकामा एक वटा हेलिप्याड निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जैशीले बताएका छन् ।

हेलिप्याड निर्माण गरेर खप्तड छेडेदह, छिमेकी जिल्ला बझागको छान्ना क्षेत्र र बुढीगंगा नगरपालिकाको आसपास क्षेत्रका विरामीलाई उद्दारका लागि सहज हुने सेनानी दिवाकर खड्काले बताएका छन् ।

हेलिप्याड सिंगा मार्तडी सडक नजिकै, आटीचौर डेल्टा बेतालमाण्डौ सडकको साइडमै निर्माण गरिएको छ । हेलिप्याड निर्माण पछिको संरक्षण, सुरक्षा र स्थायीत्वका लागि पालिकाले नै जिम्मा लिने भएको छ । प्राविधिक स्टमेट बनाएर हेलिप्याड पालिकाले पहिलो पटक बनाएको हो ।  

 



सोमबार ०८, जेठ २०८० १०:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.