बाजुरालाई पहिलो पटक महिला भलिबलको उपाधी, प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्डमा चौथो बन्यो

नजिक न्युज संवाददाता    

बाजुरालाई पहिलो पटक महिला भलिबलको उपाधी, प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्डमा चौथो बन्यो

बाजुरा : बाजुराले पहिलो पटक प्रदेश स्तरीय खेलकुदमा राम्रो सफलता हात पारेको छ । राष्ट्रपति रनिङ सिल्डका १३ औं संस्करण सकिदासम्म पहिलो पटक बाजुराले प्रदेशमै चौथो स्थान हात पारेको हो । नौ वटा जिल्ला मध्ये चौथो स्थान ल्याएको बाजुराले महिला भलिबलमा स्वर्ण जितेको छ ।

प्रतिस्पर्धी नौ वटा जिल्ला मध्ये बाजुराले पहिलो पटक महिला भलिबलको उपाधी हात पारेको जिल्ला खेलकुद समिति बाजुराका अध्यक्ष राकेश थापाले बताएका छन् । प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्डमा कैलाली पहिलो, कंचनपुर दोस्रो, डडेल्धुरा तेस्रो र बाजुरा चौथो स्थान ल्याउन सफल भएका छन् ।

कैलालीले २७ स्वर्ण, १२ रजत, ७ कास्य गरी ४७ पदक हात पारेको छ । कन्चनपुरले १० स्वर्ण, १४ रजत, १० कास्य गरी ३४ पदक हात पारेको छ । यस्तै डडेल्धुराले ४ स्वर्ण, ८ रजत, ९ कास्य गरी २१ पदक सहित तेस्रो भएको छ । 

बाजुराले ३ स्वर्ण, २ रजत, ६ कास्य गरी ११ पदक हात पार्दै चौथो स्थान हासिल गरेको हो । यस्तै २ स्वर्ण, ४ रजत, ७ कास्य गरी १३ पदक हात पार्दै दार्चुलाले पाँचौ स्थान हासिल गरेको छ  ।  

यसैगरी बैतडीले १ स्वर्ण, ४ रजत, ४ कास्य गरी ९ पदक हात जित्दै छैटौ स्थान हाँसिल गरेको छ । अछामले १ स्वर्ण, ८ कास्य गरी ९ पदक हात पार्दै सातौँ स्थान हासिल गरेको छ । उता बझाङले ३ रजत, ५ कास्य गरी ८ पदक जित्दै आठौँ स्थानमा रहेको छ भने डोटीले ७ कास्य पदक जित्दै नबौँ स्थान हासिल गरेको छ ।

बाजुराले महिला तर्फको भलिबलको उपाधी जितेसँगै २ जना खेलाडी पनि राष्ट्रिय खेलका लागि छनोट भएका छन् । छनोट भएका सूचना अयडी र विन्दू बोहरा मध्ये सूचना अयडीले प्रदेशकै टिमको कप्तानी गर्ने अवसर पाएकी छन् । महिला भलिबलको टिम सुदूरपश्चिम सूचना अयडीकै नेतृत्वमा रहने जिल्ला खेलकुद समितिका अध्यक्ष राकेश थापाले बताएका छन् ।

बाजुराले हालसम्म प्राप्त गरेका मध्ये ठूलो सफलता नै यही हो, यस अघि ठुला खेलमा स्वर्ण नै जित्न नसकेको र कुनै टिमको कप्तान भएर जाने अवसर पनि नपाएको अध्यक्ष थापाको भनाई छ । बाजुराबाट सबै खेल गरी ७४ जना खेलाडीले भाग लिएका थिए । प्रदेश स्तरीय खेल बाजुरा बाहेक अन्य सबै जिल्लामा आयोजना गरिएका थिए । 



सोमबार ११, बैशाख २०८० ०९:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.