बाजुरा : कर्णाली, कथा र व्यथाले भरिएको क्षेत्र । भोक, अभाव र गरिबीले थलिएको क्षेत्र । शहरका वौद्धिक भनिएका वर्गले बुझ्ने परिभाषा यही हो । अनि कर्णालीको छोटो परिचय पनि । वास्तविकता नबुझेका र बुझ्न नखोजेकाहरुका लागि समस्या र कर्णाली भेग पर्यावाची नै हुन् ।
भोक, अभाव र गरिबी नभएको पनि होइन् । मानव जीवनका समस्या पनि कम छैनन् । विकटताको सेकाइ भोग्नु पर्ने बाध्यता पनि बाँकी नै छ । यसो भन्दा कर्णालीमा कथा धेरै भेटिन्छन् र अवस्था हेर्दा पनि त्यस्तै लाग्छ । कथा र व्यथाको खानी नै हो, कर्णाली ।
कर्णालीसँग यी मात्रै छन्, भन्ने कुरा बाहिर देखाइएका र वौद्धिक वर्गले बेच्न बनाइएका तस्वीर मात्रै हुन् । कर्णाली समस्याले मात्रै भरिएको छैन्, संभावनाले पनि भरिपूर्ण छ । भव्य अनि विशाल छ । यो सन्देश र सूचना कमैले मात्रै थाह पाएका छन् । सबैलाई थाह पाउने अवस्था नै निर्माण गरिएको छैन् ।
नगन्य सुरुवाद भए र भइरहेका छन् । त्यत्तिले मात्रै प्रर्याप्त छैन् । कर्णाली कहर र पीडाको मैदान मात्रै होइन्, संभावनाको पहाड र समृद्धिको सागर पनि हो, भन्ने कुरा नबुझाइएसम्म, प्रमाणित नगरिएसम्म कर्णालीले परिचय फेर्ने अवस्था नै छैन् । एउटै विकल्प कर्णाली कथा र व्यथाको खानी मात्रै होइन्, कर्णाली सभ्यता, संभावना र समृद्धिको स्वर्ग हो, भन्ने कुरामा ज्ञात गराउने प्रयास ढिलो चाँडो हुनै पर्ने छ ।
त्यसको सानो र सकारात्मक सुरुवाद नै हो, माथिल्लो कर्णाली जल महोत्सव । कमजोरी धेरै थिए । समन्वय र सहकार्यको अभाव थियो । मञ्चमै उद्घाटन समारोह सञ्चालनमा गर्न नहुने र नियत राखेरै धेरै कमजोरी गरियो । व्यवस्थापन अस्तव्यस्त लाग्ने थियो । कार्यक्रम तालिका पट्यार लाग्दो गरि तयारी पारिएको थियो । र पनि जुन उदेश्य सहीतको सुरुवाद हो, त्यो अघि यी सबै कुरा गौण हुन् ।
महोत्सवको उदेश्य कुन्ना क्षेत्र चिनाउने थियो । कुन्नाको मुहार देखाउनु थियो । कर्णालीसँग बाजुराको नाता स्थापित गर्नु थियो । स्थानीय कला सँस्कृति, भेषभुषा र पहिरनले दर्शकलाई लोभ्याउनु थियो । संभव भएजति रैथाने बालीको खाना, खाजाले पेट भरिदिनु थियो । र बाजुराकै माटोमा जन्मिएर राष्ट्रिय छवी बनाएका कलाकारहरुलाई स्थानीय माझ चिनाउनु र स्थानीयलाई मनोरञ्जन दिनु थियो ।
समग्रमा भन्दा नारा र नाम जे राखिएपनि कर्णाली जल महोत्सवले कर्णाली सभ्यताको संरक्षण, खस भाषा उद्गम भूमिको चिनारी, कर्णालीमा जल पर्यटनको संभावना र सुदूरपश्चिमकै सुदूरमा पर्ने क्षेत्रको विकास समृद्धिको यात्रा प्रारम्भको अभ्यास थालनी गरेको छ ।
छेउमै बग्ने कर्णाली हुँदा पनि धुलाचौर बजारमा खानेपानीको अभाव थियो । मदिरा निषेधीत पालिका भनिएपनि बजारमा खुला जस्तै थियो । बासमा लागि उचित होटल पसल थिएनन् । र पनि छिमेकी जिल्ला मुगु र हुम्लाको समर्थन थियो । हजारौको संख्यामा स्थानीयको उपस्थिति थियो ।
स्थानीय मेला पर्व बाहेक रहर र रमाइलो नगर्न पाएका स्थानीयका लागि महोत्सव उत्साह र उमंगको महोत्सव नै थियो । काखीमा रोटी च्यापेर, खुला चौरमा सुतेर पनि महोत्सवमा आउनेको लस्कर बाक्लो थियो । राम्रो पक्ष त, के भने खानाका लागि अर्डर गरिएका अधिकांश होटलले भात देखि दालसम्म, तरकारी देखि चियासम्म स्थानीय नै खुवाउने प्रबन्ध गरिएको थियो ।
प्रतिनिधी सभा सदस्य बद्री पाण्डे, प्रदेश मन्त्री नरेश कुमार शाही, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष, जल विज्ञ, कृषि विज्ञ, शिक्षा विद् सबै क्षेत्रको सहभागि थियो । विकास र संभावनाका लागि स्वामिकात्र्तिक खापर गाउँपालिकामा गरिएको विकास बहस पनि सार्थक लाग्ने र अर्थपूर्ण नै थियो । कर्णालीमा गरिएको र्याफ्टीङ झनै लोभ लाग्दो र कुन्ना क्षेत्रकै पर्यटन विकासको आधार स्तम्भ नै हो ।
बाजुरामै जन्मिएर राष्ट्रिय छवी बनाएका विनोद बाजुराली, प्रकाश थापा, सुप्रीम मल्ल, हर्क खडायत, प्रभुराज पाण्डे, धमेन्द्र सुनार, पविन्द्र सुनार, मनबहादुर रोकाया, डम्मर विसी, मिना खत्री, उषा विक, संगीता विक, धिरेन विक लगायतलाई मात्रै स्थान दिने आयोजकको निर्णय उच्च सम्मान योग्य छ । जिल्लाकै प्रतिभाको प्रवद्र्धन र संरक्षण गर्ने नीति संघियताको मर्म र भावनासँग मेल खाने गर्व लायक नै छ ।
हिमाली र स्वामिकात्र्तिक खापर गाउँपालिकाले गरेको आयोजना प्रति धेरै टिकाटिप्पोणी भयो । विरोध पनि भए । सामाजिक सञ्जालमा कर्णालीमा बगाइयो बजेट पनि भनियो । तर जस्ले विरोध गरे, आयोजनामा समर्थन गर्न लायक ठानेनन्, त्यो अधिकार पनि नागरिकसँग छ ।
तर एउटै कुरा कर्णाली जल महोत्सव कुन्ना क्षेत्रको विकास र समृद्धिका लागि कुनै न कुनै इतिहासको पानामा लेखिने गरि दर्ज भइसक्यो । नेकपा एकीकृत समाजवादीका बाजुरा अध्यक्ष पुरबहादुर रावतले बाजुराली हुनुको परिचय, भाषा, साहित्य, कलासँस्कृति र सभ्यताले दिने कुरामा समर्थन हो, भने, सबैका पहिरन र पहिचानका विषय पनि स्थानीय नै हुनु पर्छ, भन्ने कुरामा महोत्सवमा जोड दिँदा स्थानीय नागरिकले वडा, टोलको प्रतिनिधी हुने गरि गरिएको प्रस्तुतीमा त्यही झल्को आउने गरि प्र्रस्तुत गरिएको थियो ।
बाजुराका चार पालिकाको छाती चिरेर बग्ने कर्णाली नदी । तर हामी कर्णाली सभ्यताको परिचयले चिनिन पाएका छैनौ । कर्णालीको पानीको उपयोग गर्न पाएका छैनौ । कर्णाली सभ्यताको परिचयमा बाँच्न पाएका छैनौ । यहि बाध्यता र विडम्वनाको विरुद्धको संघर्ष नै कर्णाली जल महोत्सव हो ।
बाजुरा जिल्ला र सँगै जोडिएका हुम्ला र मुगु जिल्लाका फाग, पयानु, नेजा, चाँड्ची, रनपुतली, छैठ, देउडा, चम्पा नाच, हुड्केउली, चाली, भोटे सेलोका परम्परागत झाँकी, स्थानीय भेषभूषा र यस क्षेत्रका कलासंस्कृतिहरूको प्रस्तुतिले कर्णाली सभ्यतालाई एउटै मञ्चमा पस्कीने अवसर कर्णाली महोत्सवले तयार पारिदिएको छ ।
कुन्ना क्षेत्रमा यसरी एकै थलोमा एकै साथ यति धेरै स्थानीय कला संस्कृतिहरू प्रस्तुत गरिएको पहिलो पटक हो । विकासका सम्भावनाको पहिचान र कर्णाली सम्भयताको जगमा बनेका स्थानीय कला र संस्कृति प्रवद्र्धन गर्ने उद्देश्य आयोजकका लागि मात्रै नभई त्यो क्षेत्रका लागि पनि उपलब्धी र इतिहास बनेको छ ।
लगानी कस्को हो, कहाँ बाट गरियो, कति गरियो यो नागरिक चासो र सरोकारका विषय हुन् । हुनु पनि पर्छ । हिसाब किताब सबैले थाह पाउने गरि, सबैलाई जानकारी हुनु गरि राखिनु पर्छ । यसो भन्दैमा लगानी नै व्यर्थै भयो र कर्णालीमा बग्यो भन्नु कुतर्क बाहेक अरु होइनन् ।
मानव विकास सूचकांकको पुछारमा छ । व्यापारी शैलीमा धेरै काम गर्न सकिने अवस्था छैन् । यसो भन्दैमा कुनै काम पनि पालिकाको लगानी, राज्यको लागनीमा हुदैन् भन्ने होइन् । यो नेपाल र अरु देशको अभ्यास पनि हो, केही पाउन केही गुमाउन पर्छ । कर्णाली सभ्यता देखाउनु थियो, नागरिक विझाउनु थियो, त्यसको सुरुवादका लागि खर्च गरियो, लगानी भयो, रिजल्ट बाटो बनेजस्तो नदेखिएपनि सभ्यता जोगाउने र चिनाउने इतिहास नै हो ।
मुगु, हुम्ला र बाजुराको त्रिवेणीका रुपमा रहेको धुलाचौर र पीलुचौरमा बाजुरा र मुगुलाई जोड्ने बेलिब्रिजको सञ्चालनले राराको यात्रा दुरीलाई छोट्याएसँगै कर्णाली जल पर्यटनले थप स्थान पाएको छ । कवाडी, रानीसैन, हिल्सा सिल्क सडक निर्माणको कामलाई दबाब दिन पनि महोत्सव उपलब्धी मुलक बनेको छ ।
९ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको चार दिने महोत्सव हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्ल, उपाध्यक्ष राजकला सार्की र स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकाया र उपाध्यक्ष नैनादेवी जोशी, महोत्सव संयोजन गर्ने मध्येका अगुवा जनेश भण्डारी, पालिकाका तर्फबाट खटिएका राजबहादुर भण्डारी र अमर रावत सहीतसँग मात्रै जोडेर गरिने टिकाटिप्पोणी भन्दा त्यो अभियानले पार्ने दुरगामी प्रभाव नै महोत्सवको उपलब्धी हो ।
यस्ता अभियान र कामको थालनी सामाजिक हित र पवित्र सोचका साथ हुन सके र समाजले सकारात्मक सोचका साथ सहयोग गर्न सके कुन्ना क्षेत्रलाई विकासको मुल प्रवाहमा ल्याउन सहज हुने छ । कुन्ना क्षेत्र राज्यको मुलधारमा जोड्न सके स्थानीय जीवन स्तरमा सुधार र कर्णाली सभ्यताको संरक्षण हुनेमा शंका नै छैन् ।
प्रतिकृया दिनुहोस