बाजुरा : बाजुराको सेराबगरमा बार्जु महोत्सव सञ्चालन हुने भएको छ । बैशाख १५ देखि २५ गतेसम्म १० दिने प्रथम बार्जु महोत्सव गर्न लागिएको हो । बाजुराको पर्यटन प्रवद्र्धन र समग्र जिल्लाको विकासमा टेवा पुर्याउने र कला सँस्कृतिक साहित्यको संरक्षण गर्ने उदेश्य सहीत महोत्सव आयोजना गर्न लागिएको हो ।
सुदूर साहित्य प्रतिष्ठान बाजुराको आयोजनामा महोत्सव आयोजना गर्न लागिएको महोत्सव मुल आयोजक समितिका संयोजक नरेन्द्र थापाले जानकारी गराएका छन् । प्रतिष्ठानले बाजुरा सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन मार्फत महोत्सव आयोजनाको मिति सार्वजनिक गरेको छ ।
आयोजक बनेर रहर पुरा गर्न र केही मुनाफा गर्ने सोचबाट मुक्त भएर स्थानीय कला, साहित्य र सँस्कृतिको विकासमा टेवा पुर्याउने लक्ष्य सहीत आयोजना गर्न लागिएको संयोजक थापाले बताएका छन् । महोत्सवको नारा नै नयाँ वर्ष नयाँ उत्सव प्रथम बार्जु महोत्सव राखिएको छ ।
उर्वरभूमि बुढीगंगा र गुइगाडले महिमा विस्तार तथा बालुवाको बगर सेरा बगरमा गीत संगीतको रमाइलो गराउन आर्थिक कारोबारका लागि विशुद्ध व्यवसायीक महोत्सव गर्न लागिएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
१ सय ५० बढी व्यवसायीक स्टल, बाजुराको पहिचान देउडा हुर्केउनी, हरिनो, लाखेनाच, गौरा, पुतला, भूवानाच सहीतका स्थानीय कला सँस्कृति झल्किने प्रस्तुती, साहित्य विधाका गीत, गजल, कविता, मुक्त दोहोरी सहीतका स्रष्टाको जमघट सहीतको प्रस्तुती महोत्सवका प्रमुख आकर्षण रहने छन् ।
बुढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका खप्तड छेडेदह गाउँपालिका सहीतका स्थानीय तहका आफ्ना पहिचान झल्किने स्टलहरु, उत्पादन तथा कृषि मेला प्रर्दशनी र व्यापारी मेलाका रुपमा महोत्सवलाई उपयोग गराउने तयारी आयोजकको छ ।
करिब ५० लाख बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको महोत्सवमा ८० हजार बढी दर्शकहरुले प्रत्यक्ष अवलोकन मात्रै गर्ने दाबी आयोजकको छ । बाजुराका बढी जनसंख्या भएको पालिका, व्यापारी केन्द्र र अछाम जिल्ला समेत नजिक पर्ने स्थान भएकोले महोत्सवमा मान्छेहरुको चाप बाक्लो हुने संयोजक नरेन्द्र थापाले बताएका छन् ।
बाजुरा जिल्लाका प्रमुख पर्यटकीइ गन्तव्य धार्मीक स्थल, संभावनाका क्षेत्रहरु र उत्पादनसँग सम्बन्धीत स्टलहरु पनि महोत्सवमा प्रर्दशनमा राखिने छ । बाजुराको शान बडीमालिका, नाटेश्वरी, छेडेदह, बढालेक, बार्जुकोट लगायतका पर्यटकीय एवं ऐतिहासिक गन्तव्यहरुको महिमालाई थप विस्तार गर्न महोत्सवले सहयोग पुर्याउने आयोजक सुदूर साहित्य प्रतिष्ठानका सचिव कृष्ण ओलीले बताएका छन् ।
कला संस्कृतिको उद्गम नै बाजुरा हो । सुदूरपश्चिमको ढुकढुकी देउडाको उद्गम स्थल, होलि, गौरा, अनन्ते, हरिनो, हुड्केउली, भुवा नाच, लाखे नाच, भोटे जनजातिको आफ्नै पहिचान अनेकतामा एकताले भरिएको क्षेत्र बाजुरा हो, भन्ने कुरा महोत्सव पछि थप प्रमाणित हुने विश्वास आयोजकले लिएको छ । सबै प्रस्तुती, व्यापार व्यवसाय र सिंगो महोत्सव अवधीको दृश्य सामाग्री समेत निर्माण गर्ने प्रतिष्ठानका अध्यक्ष हर्कबहादुर खडायतले बताएका छन् ।
महोत्सवमा विनोद बाजुराली, ज्योती मगर, राजु परियार, शान्तिश्री परियार, एलिना चौहान, अनु चौधरी, रचना रिमाल, पशुपति शर्मा, सुप्रीम मल्ल, अञ्जली अधिकारी, चक्र बम, लालबहादुर थापा, प्रकाश थापा, लालबहादुर धामी, टंक तिमिल्सिना, रेखा जोशी, गौरी भट्ट, सर्जक राजेन्द्र शाह बिपी लगायतका ख्याती प्राप्त कलाकार सहीत करिब ५० जना बढी कलाकारको सहभागिता रहने बताइएको छ ।
साँझको समयमा खेल अवधीभर देउडा खेल सञ्चालन गर्ने, राष्ट्रका उच्च पदस्थ व्यक्तित्वहरुद्वारा उद्घाटन तथा समापन कार्यक्रम गराउने तयारी आयोजकको छ । बगर क्षेत्रको महिमा, इतिहासिक बार्जु राज्य र बार्जुकोटको महिमा प्रवाहका लागि पनि महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।
प्रयोजककर्तासँगको सहकार्यका लागि मुख्य प्रयोजक ३ लाद ५० हजार, सह प्रयोजक २ लाख ५० हजार, उप प्रयोजक १ लाख, संस्थागत प्रयोजन ६० हजार र व्यक्ति वा संस्थागत सहयोग ३० हजार रुपैया तोकिएको छ ।
सबै दल, सबै क्षेत्र, सबै भूगोलको प्रतिनिधित्व गराउने र प्रत्येक दर्शकलाई मेरो महोत्सव भन्ने महशुस गराउने गरी आयोजना गर्न लागिएको मुल आयोजक समिति संयोजक नरेन्द्र थापाले बताएका छन् । कला साहित्य, भाषा सँस्कृति, गीत संगीत सबै विधाका व्यक्तिहरुलाई समेत उचित सम्मान र स्थान दिने तयारी आयोजकको छ ।
महोत्सवको मिति घोषणासँगै तयारीका काम सुरु गरिएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । पालिकासँगको सहकार्य, सबै बजारका व्यवस्थापन समितिसँगको सहकार्य, गीत संगीत र मिडिया क्षेत्रको सहकार्यका लागि टिम नै बनाएर महोत्सवलाई भव्य र व्यवस्थीत गर्ने रणनीतिमा आयोजक लागि परेको छ ।
आयोजकले महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय बाजुरा र बुढीगंगा नगरपालिकाको अनुमति लिइसकेको छ । बाजुरामा यो वर्ष मात्र चैत्र ३ गतेबाट मार्तडीमा महोत्सव आयोजना गरिएको थियो, भने बैशाख ४ देखि माथिल्लो कर्णाली जलमहोत्सव आयोजना गर्न लागिएको छ ।
प्रतिकृया दिनुहोस