बाजुरा जिल्ला स्तरीय एकल लोक गायन प्रतियोगितामा हिमानी कार्की प्रथम

नजिक न्युज संवाददाता    

बाजुरा जिल्ला स्तरीय एकल लोक गायन प्रतियोगितामा हिमानी कार्की प्रथम

बाजुरा : बाजुरा जिल्ला स्तरीय एकल लोक गायन प्रतियोगितामा हिमानी कार्की प्रथम भएकी छन् । सहभागि नौ जना प्रतिस्प्रर्धीलाई पछि पार्दै कार्कीले लोक गायनको प्रथम हुन सफल भएकी हुन् । बडीमालिका नगरपालिका १ पिनालेख घर भएकी कार्की केही समय यता गायन क्षेत्रमा सक्रिय छन् । 

प्रतियोगितामा खप्तड छेडेदह गाउँपालिका ५ डोगडीका रोशन सुनार द्धितीय भएका छन् । भने बडीमालिका नगरपालिका ९ की जानकी नेपाली तृतीय स्थान ल्याउन सफल भएकी छन् । यस्तै हास्यकलाकार विनोद विकले सान्त्वना स्थान हात पारेका छन् । 

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान ल्याउन विजेतालाई क्रमश ५ हजार, ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार सहीत प्रमाण पत्र मार्फत सम्मान गरिएको छ । सहभागिसबैलाई प्रशसा पत्र पनि प्रदान गरिएको छ । 

नव प्रतिभाको पहिचान र प्रर्वद्धन गर्न, लोक गायन क्षेत्रमा युवाहरुको आकर्षण बढाउन प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष विष्णु धामीले बताएका छन् । प्रतियोगिता सामाजिक विकास कार्यालय बाजुरा र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बाजुराको सयुक्त सहकार्यमा आयोजना गरिएको हो । 

बडीमालिका नगरपालिकाको सभा हलमा आयोजित प्रतियोगिताको प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया रहनु भएको थियो । रोकायाले कला सँस्कृति, भाषा साहित्य र प्रतिभाहरुको संरक्षण, प्रवद्र्धनमा सबैको हातेमालो र सहकार्य आवश्यक रहेको बताएका छन् । 

रोकायाले बाजुराको चिनारी र मौलिकपनलाई बचाइ राख्ने जिम्मेवारी पनि कलाकारिता क्षेत्रकै मान्छेहरुको बढी हुने भएकोले आयोजकको काम प्रति प्रंशसा गरेका छन् । एकल गायन प्रतियोगिताको मूल्याकंन पुरबहादुर रावत, कृष्ण ओली र नरबहादुर विश्वकर्माले गरेका हुन् ।

प्रतिभा पहिचान र प्रवद्र्धन तथा संरक्षणका लागि प्रतियोगिताले ठूलो सहयोग पुग्ने निर्णायक टोलीका संयोजक एवं नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष पुरबहादुर रावतले विश्वास व्यक्त गरेका छन् ।

उहाँले निर्माणको काम र भौतिक विकासलाई महत्व दिन केही परिवर्तनको संकेत देखिएपनि समाजको सँस्कृति, भाषा, साहित्य र कला क्षेत्रको विकास नभएसम्म समाजको पहिचान नै नरहने बताएका छन् । उहाँले बाजुराका खेल, मागल, भारता, भुवा होरीना खेललाई लोक गाउनको प्रमुख गीतका रुपमा पस्कीनु पर्नेमा जोड दिएका छन् ।

बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का, पत्रकार, सुरक्षा कर्मी सहीतको कार्यक्रममा सहभागिता रहेको थियो । प्रतिष्ठानले प्रथम र द्धितीय हुनेलाई एक गीत गायनमा समेत सहयोग गर्ने आन्तरिक तयारी गरेको छ । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव डम्मर विश्वकर्माले गरेका हुन् । भने स्वागत मन्तव्य सहसचिव सुरेन्द्र रोकायाले गरेका हुन् ।

कार्यक्रमको अवसरमा प्रतिष्ठानले सुरेन्द्र रोकाया र देवबहादुर बोहरालाई सम्मान समेत गरेको छ । नव वर्ष २०८० को अवसर पारी जिल्ला स्तरीय एकल लोक गायक प्रतियोगिता आयोजना गरिएको हो । 

 



बुधबार २९, चैत २०७९ ०८:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.