बाजुरा : बुढीगंगा नगरपालिकाले फाइबर नेट सेवा जडान गरेको छ । अनलाइन मार्फत हुने काम छिटो र छरितो गर्न सञ्चालन गर्न पछिल्लो तिब्र गतिको नेट सेवा फाइबर जडान गरिएको हो । पालिकाले यस अघि निजि कम्पनीको वल्र्ड लिंक सेवा जडान गरेको थियो ।
वल्र्डलिंक कम्पनीको नेट सेवाले काममा अवरोध गरेको, नियमित नभएको र दिने भनिएको डाटा प्याकेज समेत नदिएपछि पालिकाले नेपाल टेलिकमसँग सहकार्य गरेर फाइबर नेट जडान गरिएको सूचना प्रविधि अधिकृत खडक बहादुर बमले बताएका छन् ।
नेपाल टेलिकमसँग सिंगो पालिकामै फाइबर नेट सेवा जडान गर्ने गरि सेवा विस्तार गर्न लागिएको बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बाँनीयाले बताएका छन् । फाइबर नेट सेवा एक महिला अघि मात्रै बाजुरा सदरमुकाम मार्तडीमा पहिलो पटक जडान गरिएको थियो ।
एडीएसएल सेवालाई विस्थापित गरेर नेपाल टेलिकमले सस्तो र गुणस्तरीय फाइबर सेवा सञ्चालन गरेको नेपाल टेलिकम बाजुरा शाखाका मानबहादुर रोकायाले बताएका छन् । बुढीगंगा नगरपालिकाले यस अघि मासिक ८ हजार तिर्ने गरि १ एमबिपीएस डाटामा चल्ने वल्र्डलिंक कम्पनीको इन्टरनेट चलाउने गरेको थियो ।
फाइबर नेट जडानसँगै मासिक खर्चमा पनि २ हजार ५ सय रुपैया बचत हुने भएको छ । पालिकाले ५ हजार ५ सय रुपैया मासिक तिर्ने गरि २५ एमबिपीएस गतिको डाटाको सेवा लिन सकिने पालिकाले बताएको छ । फाइबर नेट जडानसँगै पालिकाले अनलाइन सेवा थप प्रभावकारी रुपमा सञ्चालन हुने विश्वास लिएको छ ।
सबै वडामा विस्तार गर्ने र इबुढीगंगा सेवा सञ्चालनको तयारी पालिकाले गरेको छ । अनलाइन मार्फत नै सेवा सञ्चालन र विस्तार गर्ने नीति लिएको बुढीगंगाले बडीमालिका पछि फाइबर नेट सेवा जडान गर्ने दोस्रो पालिका बनेको छ ।
लेखा देखि अन्य सबै कामहरु अनलाइन मार्फत मात्रै गर्नु पर्ने हुँदा सेवाग्राहीलाई सहज र छिटो छरितो सेवा दिन नेट सुविधा अनिवार्य नै बनेको छ । पहिलो पटक बाम्का बजार, बुढीगंगा नगरपालिका र ५ र ६ नम्बर वडा कार्यालयमा सेवा विस्तार गरिएको छ ।
फाइबर नेट सेवा विस्तार सँगै इमेल, इन्टरनेट सेवा पनि तिब्र गतिमा चल्ने गरेको सेवा ग्राहीले बताएका छन् । उसोत एडीएसएल पनि सुरुमा प्रभावकारी रुपमा सञ्चालन भएपनि पछि निकै आलोचनाको विषय बनेको थियो । फाइबर नेट सेवा मासिक १ हजार देखि १० हजारसम्मको प्याकेजमा रहेको छ ।
प्रतिकृया दिनुहोस