मलेसियामा अलपत्र बाजुराका मकिन्द्रलाई नेपाल फर्काउने तयारी

नजिक न्युज संवाददाता    

मलेसियामा अलपत्र बाजुराका मकिन्द्रलाई नेपाल फर्काउने तयारी

बाजुरा : मलेसिया क्वालालम्पुरस्थित कोतरायामा अलपत्र अवस्थामा भेटिएका बाजुराका मकिन्द्र शाहीलाई नेपाल फर्काउने तयारी गरिएको छ । मलेसियास्थित नेपाली दूतावासले नेपाल फर्काउन प्रक्रिया अगाडि बढाएको बताएको छ ।  

उनलाई अहिले सुधारगृहमा राखिएको मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले जानकारी दिएका छन् । दूतावासले मकिन्द्रको ट्राभल डकुमेन्ट बनाइदिएको छ । तर, नेपाल फर्कन उनले मलेसियन सरकारलाई जरिवाना भुक्तानी गर्नुपर्छ । 

लामो समयदेखि मलेसियामा गैरकानुनीमा रूपमा बस्दै आएकाले उनले जरिवाना भुक्तानी गर्नुपर्ने मलेसियाका लागि नेपाली राजदूत पौडेलले बताएका छन् । मकिन्द्रले ३१ सय रिंगेट (करिब ९२ हजार रुपैयाँ) जरिवाना भुक्तानी गर्नुपर्नेछ । 

त्यस्तै, मलेसियाको इमिग्रेसनले उनलाई मलेसिया छोड्न पास उपलब्ध गराउनुपर्नेछ । मलेसिया छाड्ने पासका लागि निवेदन दिइएको राजदूत पौडेलले बताए । ‘निवेदन दिएका छौँ । मलेसिया प्रशासन यस्तो पास दिन समय लगाउँछ । 

राजदूत पौडेलका अनुसार सुधारगृहको लाग्ने शुल्क, गैरकानुनी रूपमा बस्दै आएको जरिवाना र जहाज टिकटका लागि तीन लाखभन्दा बढी रकम लाग्छ । मलेसियामा अलपत्र परेका बाजुराका मकिन्द्र शाहीको परिवार उनको सम्पर्कमा आएका छन् । क्वालालाम्पुरको कोतरायास्थित सडकमा बेवारिसे अवस्थामा भेटिएका मकिन्द्र शाहीको विषयमा नयाँ पत्रिकाले गत साता फोटोसहित समाचार प्रकाशन गरेको थियो । 

मकिन्द्रका आफन्त काका पर्ने पुरिन्द्र शाहीले बाजुरादेखि सम्पर्क गरेका थिए । त्यस्तै, उनका आफन्त भाइ पर्ने डेनिल शाहीले भारतको बिहारदेखि सम्पर्क गरेका थिए । फेसबुकमार्फत मकिन्द्रको बारेमा जानकारी पाएको मकिन्द्रका काका पुरिन्द्र शाहीले बताए । काका पुरिन्द्रका अनुसार मकिन्द्रका श्रीमती र एक छोरा छन् । 

त्यस्तै, मकिन्द्रका भाइ पर्ने डेनिल शाहीले पनि सामाजिक सञ्जालमा समाचार देखेपछि दाजुको बारेमा जानकारी पाएको बताएका छन् । मानसिक अवस्था ठीक नभएका शाहीलाई मलेसिया क्वालालाम्पुरस्थित कोतरायाको कार पार्किङ गर्ने स्थानमा अलपत्र भेटिएका हुन् ।

शाहीसँग नागरिकता र एउटा फुटेको मोबाइल मात्रै थियो । नागरिकताअनुसार उनी बाजुरा जिल्ला साबिक बाई गाविस वडा नम्बर २ का नागरिक हुन् । मलेसियामा अलपत्र भेटिएका शाहीले १४ दिनेदेखि भोकै रहेको बताएका छन् । उनले कम्पनीको तालिम चलिरहेकाले आफू पार्किङमा आराम गर्न आएको बताएका छन् ।

सन् २०१८ मा नेपाल र मलेसिया सरकारबीच निःशुल्क भिसा र टिकटमा कामदार लैजाने गरी श्रम सम्झौता भएको थियो । मलेसिया सरकारले हालै कामदारको न्यूनतम पारिश्रमिक मासिक १५ सय रिंगेट (नेपाली झन्डै ४५ हजार रुपैयाँ) पु¥याएको छ । 

पछिल्लो समय नेपालबाट मलेसिया जाने कामदारको संख्या बढी छ । खाडी मुलुकको तुलनामा उच्च पारिश्रमिक, सेवासुविधा, खुला नीति र सुहाउँदो हावापानी भएकै कारण नेपालीको आकर्षण मलेसियामा बढेको हो । मलेसियामा झन्डै चार लाख नेपाली कामदार रहेको अनुमान छ । साभार नंया पत्रिका 



आइतबार १२, चैत २०७९ ०७:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.