बुढीगंगाका स्वास्थ्य संस्थामा औषधीको अभाव, रित्तोहात फर्किन्छन् विरामी

नजिक न्युज संवाददाता    

बुढीगंगाका स्वास्थ्य संस्थामा औषधीको अभाव, रित्तोहात फर्किन्छन् विरामी

बाजुरा : बुढीगंगा नगरपालिकाका स्वास्थ्य संस्थामा औषधीको अभाव देखिएको छ । सामान्य टाउको दुख्ने देखि ज्वरो आउने सम्मको औषधी अभाव देखिएको छ । पालिकाले आर्थिक वर्षका दुई चौमासिक बित्नलाग्दा पनि औषधी खरिद नगर्दा स्वास्थ्य संस्थामा अभाव देखिएको हो ।

पालिकाले माग अनुसारको औषधी नै नदिँदा अभाव देखिएको देवलसैन स्वास्थ्य चौकीका प्रमुख पुष्पराज गिरीले बताएका छन् । स्वास्थ्य संस्थामा प्रेसर जाँच गर्ने बिपि सेटको अभाव देखिएको छ । अरुले दिएको एक थान विपी सेट बाहेक अर्को नभएको प्रमुख पुष्पराज गिरीले स्वीकार गरेका छन् ।

स्वास्थ्य चौकीमा औषधी देखि अन्य औजार उपकरणको चरम अभाव छ । विरामी उपचार कक्षदेखि भौतिक संरचनाको बाह्य संरचनाको अवस्था समेत दयालाग्दो छ । देवलसैन स्वास्थ्य चौकीमा औषधी अभावज हुन लागेको तीन महिना बढी भइसकेको स्वास्थ्य कर्मी बताउँछन् ।

केही पुरानै बाँकी रहेको र केही साझेदार निकायको सहयोगले चलेको भएपनि पालिकाले यो वर्ष औषधी नै उपलब्ध नगराएको स्वास्थ्य चौकीले बताएका छन् । संस्थामा निमोनिया, ज्वरो, पखाला लगायतका रोगको औषधी समेत अभाव छ । 

रुघाखोकी र ज्वरोको औषधी स्वास्थ्य संस्थामा अनिवार्य स्टक हुनु पर्ने हो, तर हामीसँगै विरामीलाई दिनलाई समेत छैन्, औषधी नभएकै कारण विरामी आउने र रित्तो हात फर्किने गरेको अनमी मिना कुमारी जैशीले बताएकी छन् । 

बुढीगंगाका सबै स्वास्थ्य संस्थाका औषधी अभाव देखिएको स्वास्थ्य शाखामा विष्णुाप्रसाद जैशीले स्वीकार गरेका छन् । पहिलो चरणमा गरिएको टेण्डर खारेज भएर पुनः खरिद प्रक्रिया सुरु गर्नु पर्ने हुँदा अभाव देखिएको बताएका छन् । हप्तादिन भित्रै खरिद प्रक्रिया पुरा गरेर औषधी पुर्याउने जैशीले बताएका छन् । 

बुढीगंगा नगरपालिका ९ का केही बस्तीमा भाइरल ज्वरोको संक्रमण फैलिएको छ । दैनिक ३० देखि ४० जना विरामी उपचारका लागि आउने गरेका छन् । तर विरामीलाई औषधी दिन नसकिएको देवलसैन स्वास्थ्य चौकीले स्वीकार गरेको छ ।

दिनपर्ने जति औषधीको मात्रा नै नदिएर पठाउनु पर्ने बाध्यता स्वास्थ्य संस्थालाई छ । उसोत सुरक्षित गर्भपतन सेवा समेत बन्द जस्तै छ । सूचीकृत स्वास्थ्य संस्थामा सेवा लिनका लागि सेवाग्राही आउने भएपनि स्वास्थ्य कर्मी नहुँदा फिर्ता हुने गरेका छन् ।

 

स्वास्थ्य अवस्था दयालाग्दो देखिएको, अब सुधारका लागि प्रयास गर्छौ, उपप्रमुख माया कुँवरले बताएकी छन् । उपचार गर्ने कक्ष, औषधीको अवस्था र केही स्वास्थ्य कमीले निर्वाह गरेको भूमिका सन्तोषजनक छैन्, त्यसका लागि कार्यपालिकामा नै छलफल गरेर सुधारका लागि पहल गर्ने उपप्रमुख कुँवरको जवाफ छ । 

स्वास्थ्य चौकीमा ७० बढी प्रकारको औषधी हुनु पर्ने सरकारी प्रावधान छ । तर स्वास्थ्य संस्थामा ७ प्रकारको समेत औषधी पाइदैन् । विरामी भएर थला परेका विरामीलाई समेत मेडिकलमा किन्न भन्दै फर्काउने गरेको स्वयम विरामीले बताउने गरेका छन् ।



आइतबार १२, चैत २०७९ ०७:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.