बाजुरा : जगन्नाथ गाउँपालिकाले तीन दलको नाम लिएर स्वार्थी समूहले तथ्यहिन आरोप लगाएर रिस पोखेको बताएको छ । केही दिनमै सम्बन्धीत राजनीतिक दलका प्रतिनिधी नै राखेर पत्रकार सम्मेलन गर्ने ध्यानाकर्षण पत्र जारी गर्दै पालिकाले व्यक्तिगत लाभ नहुने अवस्था आएपछि पालिकाको बद्नाम गर्न खोजिएको बताएको छ ।
पालिकाका प्रवक्ता गणेशराज गिरीले जारी गरेको ध्यानाकर्षण पत्रमा सबै विषयमा पत्रकार सम्मेलन मार्फत जानकारी दिने व्यहोरा उल्लेख गरिएपनि उपभोक्ता समितिमा बस्न नपाएका र योजनामा हालीमुहानी गर्न नपाएका समूहले गलत प्रचार बाजि गरेको प्रक्रिया पालिकाले दिएको छ ।
हिजो मात्र नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका तर्फबाट पालिका स्तरीय कमिटीले २७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए । कर्मचारी नियुक्ती देखि योजना छनोट र बाँडफाँडमा एकलौटी र व्यक्ति केन्द्रीत गरिएको आरोप सहीतको पत्र पालिकामा बुझाएपछि गाउँपालिकाले आफ्नो धारणा र वास्तविकता सार्वजनिक गर्न लागेको हो ।
गाउँपालिकामा कर्मचारी नियुक्ती र पालिका अध्यक्ष कालीबहादुर शाहीलाई जोडेर सामाजिक सञ्जालमा समेत गलत प्रचारबाजी हुन थालेपछि सम्बन्धीत दलहरु नै राखेर पत्रकार सम्मेलनको तयारी थालिएको पालिका प्रवक्ता गणेशराज गिरीले बताएका छन् । प्रमाणित गर्ने कुनै आधार नभएपछि केही आक्रोश पोख्ने स्वार्थी समूहले रिसमा तथ्य रहीत आरोप लगाएको प्रवक्ता गिरीको भनाई छ ।
तीन दलले बुझाएको ज्ञापन पत्रमा सबैभन्दा बढी कर्मचारीमा आफन्त मात्रै राखिएको आरोप छ । पत्रमा उल्ले भए अनुसार पालिकाका इन्जिनियर विनोद शाही अध्यक्ष कालीबहादुर शाहीका छोरा हुन् । २०७४ सालदेखि स्वामिकात्र्तिक खापर गाउँपालिकाले लिएको परीक्षामा नाम निकालेका शाही जगन्नाथमा खाली भएपछि मात्रै प्रक्रिया पुरा गरेर आएका हुन् ।
पालिकाले विज्ञापन गरेको कोटामा नाम निकालेर स्टाफ नर्समा नियुक्ती लिएकी छोरी बियान्का शाहीले केही महिना पहिला नै जागिर छोडीसकेको अवस्था छ । यस्तै भतिजि सिर्जना शाहीलाई आईटी अफिसरमा कार्यरत रहेको भनिएपनि गएको असार मै जागिर छोडिसकेकी छन् ।
पालिकामा आइटी इन्जिनियर अर्को नभएपछि तत्कालिन अवस्थामा शाहीको एकल उम्मेदवारी परेपछि नियुक्ती दिइएको थियो । गौमुल र स्वामिकात्र्तिक खापर गाउँपालिकामा कार्यरत लेखापाल दिलिप शाही नाता पर्ने भएपनि उहाँ स्थायी कर्मचारी हुन् ।
मित छोरा भनिएका लक्ष्मण जोशी पालिकाका रोजगार संयोजक हुन् । जोशी सरकारले लिएको परीक्षामा नै पास भएर २०७५ सालबाट नै कार्यरत छन् । स्टोर प्रमुख राजेन्द्र जोशी पनि प्रशासन तर्फका एक्ला स्थायी जागिर हुन् । स्थायी दरबन्दीमा कार्यरत राजेन्द्र जोशीलाई समेत अध्यक्षका आफन्त भनेर बद्नाम गरिएको छ ।
पालिकाका सबै वडामा सचिव अपुग भएपछि स्थानीय दरबन्दीमा कार्यरत स्वास्थ्य शाखामा कार्यरत पूर्णादेवी शाहीलाई जिम्मेवारी दिइएको थियो । शाही स्थानीय तह कार्यान्वयन नहुनु पहिला देखि नै जगन्नाथ गाउँपालिका क्षेत्रमा कार्यरत थिइन् । यी आरोपित विषयलाई हेर्दा बद्नाम गराउने नियतका साथ प्रचारबाजी गरिएको रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन् ।
दुई कार्यकाल अध्यक्ष जितेका कालीबहादुर शाहीले प्रक्रिया पुर्याएर परीक्षाबाट नाम निकालेका व्यक्तिहरुलाई जोडेर बद्नाम गरिनु राम्रो नभएको बताएका छन् । शाहीले दुर्गम क्षेत्रमा पनि त्यो अवस्थाको विकास निर्माणको अवस्थामा सुधार ल्याउने काम गरेकोले जनतामा सन्तुष्टी भएर पनि केही स्वार्थी मानसिकता भएकाहरुले मिथ्या आरोप मात्रै लगाएको बताएका छन् ।
उपभोक्ता समितिमा बस्न नपाएको, योजनामा मनोमानी गर्न नपाएको, व्यक्तिगत योजना नदिएको जस्ता विषय ल्याएर विरोध गर्नुको कुनै अर्थ नभएको पालिकाले बताएको छ । ज्ञापन पत्र बुझाउने केही व्यक्तिले नै जिम्मा लिएको काम समेत पुरा नगरि अर्को कामको स्वार्थ सहीत आरोप लगाउने कुराले केही अर्थ नराख्ने र केही दिनमै वास्तविकता बाहिर ल्याउने दाबी पालिकाको छ ।
प्रतिकृया दिनुहोस