बाजुरा : गौमुल गाउँपालिकाको १२ औं अधिवेशन विभिन्न नीति तथा कार्यक्रमहरु पास गर्दै आज सकिएको छ । सभाले यस अघि कार्यान्वयनमा रहेका नीति तथा कार्यक्रमहरुलाई थप प्रभावकारी र कडाई गर्दै नयाँ नीति तथा कार्यक्रमहरु अघि सारेको हो ।
आजको चलेको अधिवेशनबाट गत ०७९ माघ १० गते आएको भूकम्पमा परेर ज्यान गुमाएकी गौमुल गाउँपालिका २ जुरेली टोलकी मृतक जमुना रोकाया प्रति शोक प्रस्ताव पारित गरेको छ ।
यसैगरी गाउँपालिकामा भूकम्पका कारण ठुलो मात्रामा धनजनको क्षति भएकाले पीडित परिवारलाई गाउँपालिकाबाट तत्काल राहतको व्यवस्था गरिने र चर्केका भत्केका घरहरुको पुःन निमार्ण गर्नका लागि संघीय सरकार, प्रदेश र अन्य सहयोगी निकायहरुमा सहयोगका लागि अपिल गर्ने गाउँ सभाले पास गरेको छ ।
गाउँपालिकाले यस अघि लिएको मदिरा व्यवस्थापनको नीतिलाई प्रभावकारी र कडा बनाउँदै लैजाने, गाउँपालिकामा घुम्ती व्यापारीहरु छिरेर जनताहरुलाई ठगी गरेको व्यापक गुनासो आएका कारण घुम्ती व्यापारीहरुलाई गाउँपालिकाका कुनै पनि सिमा नाकाबाट छिर्न नदिने, स्थानीय बजार प्रवद्र्धन गरी स्थानीय उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन गर्ने नीति लिईएको छ ।
जडीबुटी कृषि उपज व्यवस्थापन पशुपालनको क्षेत्रमा आगामी आर्थिक वर्षबाट प्रयाप्त बजेटको व्यवस्थापन गर्ने, शिक्षा, स्वास्थ्य लगायतका सामाजिक विकासको क्षेत्रमा थप सुधारको लागि प्रभावकारी नीति लिने र उचित बजेटको व्यवस्थापन गर्ने, गाउँपालिकाबाट प्रवाह हुने सेवा प्रभावकारी बनाउँदैं जनमैत्री सेवा सञ्चालन गर्ने, गाउँपालिकामा सञ्चारको क्षेत्रमा व्यापक सुधारको लागि नेपाल टेलिकमलाई टेलिफोन सेवा फाईबर नेट सेवा र फर जी सेवाहरु तत्काल सुचारुका लागि पहल गरिने नीति अघि सारिएको छ ।
साथै टोल विकास संस्था गठन तथा परिचालन कार्यविधि ०७९, सूचना तथा अभिलेख केन्द्र स्थापना तथा सञ्चालन कार्यविधि ०७९, खानेपानी गुणस्तर अनुगमन निर्देशिका ०७९, खानेपानी सरसफाई तथा स्वच्छता सूचना व्यवस्थापन प्रणाली ०७९, कृषि विकास कार्यक्रम सञ्चालन कार्यविधि ०७९, संक्षिप्त वातावरणीय अध्ययन प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि ०७९, गौमुल गाउँपालिकाका पदाअधिकारीहरुको आचारसंहिता ०७९, स्थानीय तहका कर्मचारीहरुको आचारसंहिता ०७९, गौमुल गाउँपालिकाको भु–उपयोग कार्यविधि ०७९ गरी १० वटा कार्यविधि र प्रतिवेदन अधिवेशनमा अध्यक्ष हरि बहादुर रोकायाले पेश गरेसंगै बहुमतका साथ पारित भएको छ ।
चालु आर्थिक वर्षमा संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त तथा आन्तरिक आम्दानीबाट कुल आम्दानी रु ४० करोड ६४ लाख ३४ हजार रहेको छ । यस आर्थिक वर्षको दोस्रो चौमासिक सम्मको निकासा रु १८ करोड ५८ लाख ७४ हजार रहेको छ । हाल माघ ५ गते सम्म चालुतर्फ १९.०४ प्रतिशत र पुँजिगत तर्फ २२.५९ प्रतिशत खर्च भएको प्रतिवेदन उपाध्यक्ष सीता थापाले पेश गर्नुभयो ।
साथै आगामी आर्थिक वर्ष ०८०÷०८१ का लागि भौतिक पूर्वाधार क्षेत्रमा ११ करोड ५० लाख, आर्थिक विकास क्षेत्रमा ५ करोड ५० लाख, सामाजिक विकास क्षेत्रमा १२ करोड ५० लाख, वन वातावरण तथा विपद व्यवस्थापनमा २ करोड २० लाख, सुशासन तथा संस्थागत विकासमा ३ करोड ९० लाख र कार्यालय व्यवस्थापन तथा प्रशासनिक खर्चमा ५ करोड ९० लाख गरी जम्मा ४१ करोड ५० लाख बराबरको प्रस्तावित बजेट प्रस्तुत गरिएको थियो ।
गाउँपालिकामा गाउँपालिकाको भवन निर्माण सम्पन्न भई कार्यालय व्यवस्थापन भईरहेको, घट्मुना मानाकोट सडक खुलेको, १० शैया अस्पताल निर्माणाधिन चरणमा, फनपार्क निर्माण कार्य जारी, हिम शिखर आ.वि. र पाते आ.वि. भवन निर्माणाधिन चरणमा, कैलाश आवि भवन निर्माण र कीर्तिचौर मावि छात्रवास भवन निर्माणको काम सञ्चालनमा, गौमुल गाउँपालिका ६ सालीकोटमा विपद्बाट प्रभावित ४८ घरहरुको निर्माण कार्य जारी रहेका छन् ।
प्रतिकृया दिनुहोस