बुढीगंगा नगरपालिका ४ को दुगडीवाडा बाल विवाह मुक्त टोल घोषणा

नजिक न्युज संवाददाता    

बुढीगंगा नगरपालिका ४ को दुगडीवाडा बाल विवाह मुक्त टोल घोषणा

बाजुरा : बुढीगंगा नगरपालिका ४ को दुगडीवाडा टोललाई बाल विवाह मुक्त घोषणा गरिएको छ । टोलमा बसोबास गर्ने कुनै बालबालिका र अभिभावकले पनि उमेर नपुगी बाल विवाह नगर्ने र नगराउने प्रतिवद्धता पछि टोललाई बाल विवाह मुक्त टोल घोषणा गरिएको हो ।

बुढीगंगा नगरपालिकाले शुन्य बाल विवाह नीति लिएको छ । पालिकाले लिएको नीति अनुसार नै दुगडीवाडाबाट बाल विवाह मुक्त अभियान सुरु गरिएको नगर प्रमुख रामबहादुर बाँनीयाले बताएका छन् । २० वर्ष नपुगी कोही कसैलाई पनि विवाह गर्न नदिने वातावरण निर्माणमा पालिका नै सक्रिय भएर लागि परेको उपप्रमुख माया कुँवरले बताएकी छन् । 

नगरपालिकालाई बाल विवाह मुक्त घोषणा अभियानमा पीसविनले सहजिकरण गरिरहेको छ । पीसविन र गुड नेवर्स इन्टरनेशनलको सयुक्त सहकार्यमा सञ्चालित सामुदायिक विकास परियोजना र भिएसओ परियोजना अन्र्तगत अभियान सञ्चालन गरिएको पीसविन परियोजना अधिकृत टेकबहादुर थापाले बताएका छन् । 

पालिका प्रमुख रामबहादुर बाँनीयाले औपचारिक घोषणा गरेका हुन् । बाजुरामा बाल विवाह प्रमुख समस्याका रुपमा रहेको छ । कलिला उमेरका बुहारीहरुले यहाँका अधिकांश बस्तीहरु भरिएको अवस्था छ । 

घोषणा कार्यक्रममा सचेतना मुलक साँस्कृतिक झाँकी सहीत भव्य समारोहको आयोजना गरिएको थियो । वडा अध्यक्ष सहीत पालिकाका जनप्रतिनिधी सहीतको पनि उपस्थिति रहेको थियो ।



मङ्गलबार ०३, माघ २०७९ ०९:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.