बडीमालिका नगरपालिकाले दियो समता स्कुललाई सञ्चालनको अनुमति

नजिक न्युज संवाददाता    

बडीमालिका नगरपालिकाले दियो समता स्कुललाई सञ्चालनको अनुमति

बाजुरा : बडीमालिका नगरपालिकाले समता स्कुललाई सञ्चालनको अनुमति दिएको छ । बाजुरा सदरमुकाम मार्तडीमा सञ्चालनमा रहेकोसमता स्कुललाई कक्षा १ देखि ५ सम्म संचालन गर्न अनुमति दिएको हो । 

१२ औं नगर सभाले समता स्कुल सञ्चालनका लागि अनुमति दिने निर्णय गरेको नगर प्रमुख अमर खड्काले बताएका छन् । नगर सभा सकिए लगत्तै कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख खड्काले विद्यार्थीको भविष्य र अभिभावकको रोजाइलाई नै मध्येनजर गरेर अनुमति दिएको बताएका छन् । 

पदम बडुवाल नेतृत्वका रहेको नगर सभाले भने यस अघि खारेजीको निर्णय गरेको थियो । समता विद्यालय सञ्चालनका लागि कुनै प्रक्रिया नपुगेको र सञ्चालन गर्न समेत जरुरी नभएको निष्कर्ष सहीत खारेजी गर्ने र सञ्चालन बन्द गर्ने निर्णय गरिएको थियो ।

निर्णय विरुद्धमा विद्यार्थीको चाप र रोजाइ बाक्लीदै गएपछि विद्यालय सञ्चालनमा थियो । भने विद्यार्थीको प्रमाणित र अर्को विद्यालयमा भर्नाको आधार समेत नभएको विषयमा बहस हुदै आएको थियो । १२ औं नगर सभाले सञ्चालन अनुमति दिएपछि सबै समस्या हल भएको छ ।

समता फाउण्डेसन गुठी अन्तरगत सञ्चालनमा रहेको छ । देशभरी नै सञ्चालनमा रहेको विद्यालयलाई बाजुरामा मात्रै खारेजी गर्दा सन्देश पनि राम्रो नजाने र विद्यार्थीको भविष्य समेत अन्योल हुने अवस्था पछि सञ्चालन अनुमति दिएको नगर प्रमुख अमर खड्काले बताएका छन् ।

समता स्कुलले १ सय रुपैया मासिक शुल्कमा अंग्रेजी माध्यममा पठन पाठन गर्ने गरेको छ । जसमा न्यून आय भएका अभिभावक आकर्षक छन् । भने विद्यार्थीको पढाइ स्तर समेत राम्रो रहेको बुझाइ उनीहरुको छ । 

बडीमालिका नगरपालिकाको १२ औं अधिवेशनबाट समता स्कुललाई कक्षा १ देखि ५ सम्म संचालनका लागि अनुमति दिएसँगै सबै समस्या हल भएको नगर प्रवक्ता धर्मराज पाध्यायले पत्रकार सम्मेलनमा बताएका छन् ।

विगत ४ वर्षदेखि सदरमुकाम मार्तडीमा सहुलियत शुल्कमा अध्ययन÷अध्यापन गराईरहेको समता स्कुललाई यस अघि नगरपालिकाले विद्यालय संचालन गर्न अनुमति दिएको थिएन् । यसैगरी बस पार्क व्यवस्थित गर्ने र नियमित एम्बुलेन्स सेवालाई सहुलियत गर्ने कार्यविधी सहीत निर्णय गरिएको उपप्रमुख नन्दा थापाले बताएकी छन् । 

नगर पालिकामा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख अमर खड्काले मार्तडी बजारको उचित व्यवस्थापन, सुरक्षा र स्वच्छताका लागि बिशेष पहल गरिने र शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि शैक्षिक क्षेत्र सुधार समिति नै गठन गरेर काम सुरु गरिसकिएको बताएका छन् । 

 



शुक्रबार २९, पुष २०७९ ०८:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.