बाजुराको शान्ति सुरक्षा बलियो बनाउन अनेरास्ववियुको माग

नजिक न्युज संवाददाता    

बाजुराको शान्ति सुरक्षा बलियो बनाउन अनेरास्ववियुको माग

बाजुरा : अनेरास्ववियुले बाजुरा जिल्लाको शान्ति सुरक्षाको अवस्था सुधार गर्न माग गरेको छ । जिल्ला प्रशासन कार्यालय बाजुरालाई ध्यानाकर्षण पत्र बुझाएर अनेरास्ववियुले नागरिक असुरक्षा र चोरी डकैतीका घटना न्यूनिकरण गर्न माग गरेको हो ।  

स्थानीय प्रहरी प्रशासनकै गैर जिम्मेवारीका कारण बाजुराली जनताले दुख पाएको र असुरक्षाको महशुस गर्नु परेको निष्कर्ष सहीत अनेरास्ववियु बाजुराले शान्ति सुरक्षाको अवस्थामा तत्काल सुधार ल्याउनु पर्नेमा माग राखेका छन् । अनेरास्ववियुले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।

नेपाल सरकार गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय सहीतलाई बोधार्थ हुने गरि ध्यानकर्षण पत्र बुझाएको अनेरास्ववियुका अध्यक्ष दिलबहादुर थापा भोटेले बताएका छन् । पत्रमा बाजुरा सदरमुकाम मै दिनदाहडै चोरी, लुटपाट र डकैतिका घटना भइरहेको बारे प्रहरी नै बेखबर हुनु दुखद विषय बनेको बताएको छ ।

जिल्लाका सबैजसो बजार क्षेत्रमा भइरहेको चोरी, डकैतीका घटना बन्द गरिनु पर्ने, रातको समयमा पनि बजार क्षेत्रमा हुने होहल्ला बन्द गरिनु पर्ने, बजार क्षेत्र र सडक बाटोमा नागरिकले सुरक्षित महशुस हुने गरि हिडडुल गर्न पाउने वातावरण निर्माण गरिनु पर्ने माग राखेको छ ।

बुढीनन्दा नगरपालिकाको कार्यालयमा भएको आगलागीको प्रयास र जिआइजेटको गाडीमा भएको तोडफोडमा संलग्नलाई पक्राउ गरि कारवाही गरिनु पर्ने, पार्किग गरिएका सवारी साधन माथि तोडफोड गर्नेलाई पहिचान गरि नियन्त्रण गर्नु पर्ने माग गरेको छ ।

बजारमा देखिएको कालोबजारी, मूल्य वृद्धि, तेल लगायतका दैनिक उपभोग्य समानमा भएको मनोमानी रोकिनु पर्ने, जिल्ला भित्रका सडक खण्डमा तोकिएको जीपको भाडादरको कडाइका साथ पालना गरिनु पर्ने माग राखेको छ ।
अनेरास्ववियुले आफ्ना विद्यार्थी नेता चेतन अयडीका हत्यारालाई अझै पक्राउ नगरिएको प्रति आपत्ती जनाएको छ । साथै पक्राउ गर्न बाँकीलाई तत्काल पक्राउ गरि कानुनी दायरामा ल्याउन माग गरेको छ । 

प्रहरी नायव उपरिक्षक सूर्य थापाले सदने गरेका गैर जिम्मेवारी अभिव्यक्तिमा सुधार आउनु पर्ने, त्रिवेणी ७ को नाटेश्वरी बुथ केन्द्रमा खटिएका प्रहरी जवान माथि अमानवीय व्यवाहार गर्नेहरुलाई तत्काल कारवाही गर्न माग गरेको छ । 

जिल्ला अध्यक्ष दिलबहादुर थापाको नेतृत्वमा गएको अनेरास्ववियुको टोलीमा केन्द्रीय सदस्य जंग बिक, विद्यार्थी नेताहरु हिक्मत रोकाया, प्रेम नेपाली, लक्ष्मण रोकाया, सञ्जय विक, विमल रोकाया सहीत सहभागि थिए । 

ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाएका हुन् । प्रमुख जिल्ला अधिकारीले सुरक्षा अवस्था सुधार गर्न आफूहरु प्रतिवद्ध रहेको र केही कमजोरी भए सच्याएर लैजाने विश्वास दिएका छन् । 

No description available.



मङ्गलबार २६, पुष २०७९ ०७:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.