चुनावी समीक्षा गर्दै बाजुरा एमाले, चुनाव सकिएको डेढमहिनापछि बैठक बस्दै

नजिक न्युज संवाददाता    

चुनावी समीक्षा गर्दै बाजुरा एमाले, चुनाव सकिएको डेढमहिनापछि बैठक बस्दै

बाजुरा : नेकपा एमाले बाजुराले चुनावी समीक्षा र आगामी रणनीति बारे छलफल गर्न जिल्ला कमिटीको बैठक बोलाएको छ । चुनाव सकिएको डेढ महिना पछि नेकपा एमालेले समीक्षाका लागि बैठक बोलाएको हो । बैठक भोलि पौष २० गते जिल्ला पार्टी कार्यालय मार्तडीमा बस्ने सचिव भरत थापाले बताएका छन् ।

चुनाव सकिएको महिनादिन पछि पार्टी पदाधिकारी बैठक बोलाएपनि जिल्ला कमिटीको पूर्ण बैठक डेढ महिना पछि मात्रै बोलाएको हो । संघ र प्रदेशका तीन वटै सिट गुमाएको एमालेले पार्टी सक्रिय कार्यकर्ता एवं विद्यार्थी नेता चेतन अयडी समेत गुमाएको छ । 

पार्टी जिल्ला इन्चार्ज लालबहादुर थापाको प्रमुख आतिथ्यतामा बैठक बस्न लागेको हो । सिंगो जिल्ला कमिटीको सहभागिता रहने बैठकमा प्रत्येक वडा तहको चुनावी समीक्षा गर्ने तयारी नेकपा एमालेले बताएको छ । बाजुरामा प्राप्त मत संख्या, स्थानीय तह र संघ प्रदेश सभाको निर्वाचनको मत संख्याको तुलनात्मक समीक्षा गर्ने र त्यसै आधारमा आगामी रणनीति तय गर्ने तयारीमा नेकपा एमाले बाजुरा देखिएको छ ।

बैठकमा हारको कारण, पार्टी नेता कार्यकर्ताको खटन पटक र विपक्ष दलको चुनावी रणनीति बारे पनि छलफल गरिने छ । नौ वटै पालिका कमिटीका प्रमुख, पालिका इन्चार्ज सहीतले जिल्लामा पठाएको प्रतिवेदन, पार्टी नेतृत्वले तयार पारेको प्रतिवेदन र पदाधिकारी बैठकको निर्णय केन्द्रीत छलफल हुने बताइएको छ ।

जितको दाबी गरेको नेकपा एमाले बाजुराले नराम्रो हार बेर्होन बाध्य भएको छ । १७ बुथ कब्जा गरेको आरोप, प्रहरी प्रशासन मार्फत सत्ता शक्तिको दुरुपयोगका विषयमा पनि निर्मम समीक्षा गरिने पार्टी सचिव भरत थापाले बताएका छन् । बैठकमा सहभागि हुन पार्टी अध्यक्ष सहीत पदाधिकारी र जिल्ला कमिटी सदस्य मार्तडी पुग्नेक्रम जारी रहेको छ ।

नेकपा एमाले बाजुराले पार्टीको पाँचौ बैठक छेडेदहमा गर्ने निर्णय गरेपनि चिसोका कारण बसाइ व्यवस्थापनको समस्यालाई ध्यानमा राखेर मार्तडीमै बस्ने निर्णय गरेको हो । यस अघि एमालेले कोल्टीमा जिल्ला कमिटीको बैठक राखेको थियो । 



मङ्गलबार १९, पुष २०७९ ०७:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.