बाजुरामा बढ्दो सुरक्षा चुनौति, बजार क्षेत्रमै चोरी र तोडफोडका घटना बढे

नजिक न्युज संवाददाता    

बाजुरामा बढ्दो सुरक्षा चुनौति, बजार क्षेत्रमै चोरी र तोडफोडका घटना बढे
मार्तडीमा तोडफोड गरिएको जीप ।

बाजुरा : पछिल्लो समय बाजुरामा सुरक्षा चुतौति देखिएको छ । सानादेखि ठुला बजार क्षेत्रमा दैनिकजसो चोरी, तोडफोडका घटनाहरु वृद्धि भएसँगै सुरक्षा चुनौति बढेको छ । सदरमुकाम मार्तडी देखि कोल्टी, पीलुचौर, कवाडी लगायतका बजार क्षेत्रमा दैनिक जसो होहल्ला, चोरी, सवारी साधन माथि तोडेफोडका घटनाहरु घटिरहेका छन् ।

रति अज्ञात समुहले बुढीनन्दा नगरपालिकाको कार्यालयमा आगजनीको प्रयास भयो । कार्यालय अगाडि राखिएको जिआइजेट नामक अन्र्तराष्ट्रिय संस्थाको गाडीमै तोडफोड भएको अवस्था छ । पालिका कार्यालयको जेनेरेटरमा आगजनी नै गरिएको छ । 

केही दिन यता मार्तडी बजार क्षेत्रमा पार्किङ गरि राखेका सवारी साधनमा समेत तोडफोड भइरहेको जय मालिका यातायात प्रालिले बताएको छ । रातको समयमा अज्ञान व्यक्तिहरुबाट तोडफोड र चोरी हुने गरेको जीप व्यवसायी बसन्त नाथले बताएका छन् । 

लगातार पार्किङ गरि राखेको जीपमा तोडफोड हुनेक्रम नरोकिएको गुनासो व्यवसायीको छ । उनीहरुले प्रहरी सुरक्षा फितलो भएकै कारण तोडफोडका घटना बढेको आरोप लगाएका छन् । दुई हप्तादिनको अवधीमा ६ वटा जीपमा तोडफोड भएको समितिले बताएको छ । सिसामा ढुंगा हान्ने, छत तोडफोड गर्ने क्रम नरोकिएपछि जीप व्यवसायी तनाबमा छन् ।

सानो समानमा क्षति पुग्दा पनि दिँनहु मर्मत गर्नु पर्ने समस्या र रातीको समयमा जीपमै बस्नु पर्ने चालकहरुको सुरक्षाको जोखिम बढेको गुनासो उनीहरुको छ । बाम्का बजार र बेतालमाडौंमा समेत घटनाहरु घट्ने गरेका छन् । रातीको समयमा मदिरा सेवन गरेरै युवाहरुको टोली खुलेआम घुमिरहँदा प्रहरी बेखर जस्तै देखिएको आरोप सर्वसाधारणको छ ।

तीन दिन अघि मात्रै रेडियो बन्दगरेर घर फर्किने क्रममा जिल्ला अस्पताल नजिकै रेडियो बाजुराका प्राविधिक गमबहादुर विक माथि आक्रमण गरिएको छ । माक्स लगाएका व्यक्तिहरुले रातीको समयमा एकाएक बाटोबाट हुत्याएर फ्याँकेको विकको गुनासो छ । त्यही पछिल्लो दिन अस्पतालकै डिलमा रहेको पसलमा चोरी समेत भएको छ । 

सुरक्षा जोखिम बढेपछि सर्वसाधारण र व्यवसायी त्रसित बनेका छन् । प्रहरी प्रशासनले कुनै सुरक्षा नै नदिएको आरोप उनीहरुको छ । डिएसपी उद्धपसिंह भाटको पालाको जस्तो सुरक्षा अवस्था राम्रो कहिल्यै नभएको समेत व्यवसायीको भनाई छ । 

सबै कुरामा कडाइ थियो, हामीलाई नियम कानुनमा चल्न जति कडाइ गरिएको थियो, त्यो भन्दा बढी डिएसपी भाट हुँदा सुरक्षा थियो, त्यो सम्झना मात्रै भएको एक जना व्यवसायीको भनाई छ । उसोत भाट बाजुरा प्रहरी प्रमुख भएको बेला अपवाद बाहेक सबै कामको प्रशंसा भएको थियो । 

यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक डिएसपी सूर्य थापाले सुरक्षा अवस्था कमजोर नभएको बताएका छन् । अपवादमा हुने घटना बाहेक सुरक्षा अवस्था मजबुद पारिएको थापाको भनाई छ । 

मार्तडीमा तोडफोड गर्ने समूहलाई नियन्त्रणमा लिइसकेको र बुढीनन्दा नगरपालिकामा आगजनी प्रयास गर्नेहरुको खोजी कार्य भइरहेकोले व्यवसायी र सर्वसाधारणले भनेजस्तो कमजोर सुरक्षा अवस्था नभएको थापाले बताएका छन् । 

रातीको समयमा मदिरा र अन्य नशाको तालमा हिँडीरहने युवाहरुको गिरोहलाई नियन्त्रण गर्नु पर्ने माग सर्वसाधारणको छ । केही युवाहरुले ट्याप्लेस समेत खाने गरेको पाइएको छ । औषधी पसलले समेत अवैध रुपमा विक्री वितरण गरिरहँदा समेत प्रहरी प्रशासन र स्थानीय पालिका बेखर जस्तै बनेको आरोप छ ।

सर्वसाधारणले मार्तडी बजार क्षेत्रमा समेत रातीको समयमा सुरक्षाकर्मी नै परिचालन नगरिएको र होहल्ला हुँदा समेत प्रहरी मौन बस्ने गरेको आरोप लगाउने गरेका छन् । उसोत स्थानीय निर्वाचन देखि नै बाजुरामा सुरक्षा अवस्था मजबुद नभएको गुनासो आइरने गरेको छ । 



आइतबार १७, पुष २०७९ ०९:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.