बाजुरा : बुढीनन्दा नगरपालिकाको कार्यालयमा अज्ञात समूहले आगजनीको प्रयास गरेको छ । बिहिबार रातीको समयमा पालिकाको कार्यालय नै ध्वस्त पार्ने गरि आगजनीको प्रयास गरिएको नगरपालिकाले बताएको छ । नगरपालिका बाहिर राखिएको गाडी र जेनेरेटरमा तोडफोड र आगजनी गरिएको छ ।
प्राविधिक कर्मचारीको नियुक्तीको विषयलाई लिएर राति पालिकाको कार्यालयमा आगजनीको प्रयास गरिएको हुन सक्ने नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् । नगरपालिकाले बिहिबार मात्रै प्राविधिक तर्फको परीक्षाफल प्रकाशित गरेको थियो ।
पालिकाको जेनेरेटर मेसिन, मुख्य ढोका, र पालिकाको नयाँ भवन अगाडि राखिएको जिआईजेडको गाडीमा तोडफोड गरिएको छ । नगरपालिकाले पछिल्लो समय जनताका कामहरुलाई मध्येनजर गर्दै तिव्र रुपमा काम गर्न थालेपछि विपक्षीहरुले विरोध गरिरहेको नगर प्रमुख बोहराको भनाई छ ।
पालिकाले यसै हप्तादेखि मात्रै पहिलो पटक बिशषेज्ञ सेवा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट सुरु गरेको छ । यस अघि आकस्मीक प्रसुती सेवा पनि नियमित सञ्चालन गरिरहेको छ । भने बर्षाैदेखि प्रमुख समस्यामा रहेको कोल्टी बजारको खानेपानी सहज अवस्थामा ल्याएको छ । काम नगर्ने र राजनीतिक आस्था मिलेर राखिएका अनावश्यक कर्मचारीको चाप पनि घटाएको अवस्था छ ।
पालिकाको जनता प्रति उत्तरदायी हुने कामको विरोध स्वरुप आगजनी प्रयास भएको आरोप नगरपालिकाको छ । नगरपालिकामा एमालेको सरकार आएदेखि नै विपक्षीहरुले नगरमा राम्रा कामहरु गर्न नदिने उद्देश्यले विभिन्न समस्या उत्पन्न गराउने गरिएको नगर प्रमुखको भनाई छ ।
नगरपालिकामा नयाँ नेतृत्व आएसँगै पालिका भित्रका सम्पतिमा क्षतीमा क्षति पुर्याउने, चोरी गर्ने जस्ता गतिविधी भइरहेको नगरपालिकाले बताएको छ । विहिबार राती आगजनीको प्रयास गर्ने व्यक्तिहरुको पहिचान हुन नसकेपनि त्यही विरोधी गिरोह हुन सक्ने आशंका नगरपालिकाले गरेको छ ।
यस अघि पनि नगरपालिकाका २ वटा मोटरसाईकलमा आगजनी गरिएको थियो, भने बुढीनन्दा नगरपालिका ७ को वडा कार्यालयमा समेत तोडफोड भएको थियो । केही महिना अगाडि मात्रै नगरपालिकाको प्राविधिक शाखामा रहेका ५ वटा ल्यापटप र कम्प्युटरहरु समेत चोरी भएका थिए ।
नगरपालिकामा विभिन्न बाहनामा पटक पटक श्रृखलावद्ध तरिकाले यस्ता अपराधिक घटनाहरु घट्ने गरेको देखिन्छ । पालिकाले प्रहरी प्रशासनबाट सुरक्षामा कुनै चासो नदिएको र नियन्त्रणका लागि प्रयास नगरेको आरोप लगाएको छ ।
यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख सूर्य थापाका अनुसार नगरपालिकामा आगजनीको प्रयास र गाडीको तोडफोड गर्नेहरुको खोज तथा अनुसन्धान भईरहेको बताएका छन् । उहाँले कुनै प्रकारले पनि गल्ती गर्नेले सजाए भोग्नु पर्ने र त्यसमा लागि प्रहरी प्रशासन प्रतिवद्ध रहेको बताएका छन् ।
प्रतिकृया दिनुहोस