बाजुरा : मंसिर ४ मा सम्पन्न संघ र प्रदेश सभा निर्वाचन विवाद रहीत बन्न सकेन । बाजुराले विगतको जस्तै विवादकै चर्चा पायो । २ जना युवाले ज्यान गुमाए । दुई दर्जन बढी घाइते भए । दोस्रो पटक चुनाव गर्नु पर्ने अवस्था आयो ।
बुथ कब्जाको विषय दोहोरीकै रुपमा चल्यो । हालसम्म पनि अदालती प्रक्रियामा अघि बढेको छ । त्यसैका लागि सन्जीव अयडीले प्रहरीको गोली लागेर ज्यान गुमाउनु पर्यो । चेतन अयडीलाई बुथ कब्जामा असहयोग गरेकै निउमा कुटीकुटी हत्या गरियो । हत्यामा २४ जनाका विरुद्ध किटानी जाहेरी छ । ९ जना पुर्वपक्षका लागि थुनामा छन् ।
नेपाली काँग्रेसले ८ र नेकपा एमालेले १७ स्थानमा बुथ कब्जाको आरोप प्रत्यारोप गरे । केही दिनसम्म सिंगो जिल्ला नै त्रसित बन्यो, बन्दले थलियो । एकले भेटे अर्कोले सिद्धाउने जस्तो अवस्था समेत आयो । यी सबै दृश्य हेर्दा चुनावमा दुईतिर देखिएका दलहरु मिलन बिन्दु नजिक देखिएको थिएन् ।
तर पौष ८ गते दिँउसो एकाएक बाजुराबाट निर्वाचित जनप्रतिनिधी र स्थानीय तह जितेका जनप्रतिनिधी एकसाथ उभिएर खादा अविर सहीतको तस्वीरमा एकसाथ देखिए । त्यो दृश्यले एकछिन सबैलाई सोचेर हेर्न बाध्य पार्यो । अन्तः दलका नेताहरु बीच आपसी भेटघाट भएको वास्तविकता खुल्यो ।
संघ र प्रदेशको चुनाव जितेका, समानुपातिक उम्मेदवारीबाट सांसद बनेका र स्थानीय हाँकिरहेका सबैजना एकसाथ देखिए । गठबन्धन गरेका नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेका अधिकांश काठमाडौंमा उपलब्धहरुको सामुहीक तस्वीरले बाजुराका लागि नयाँ सन्देश प्रवाह गरेको छ ।
संघ र प्रदेश सभा निर्वाचन सकिएको महिनादिन पछि नेताहरु एक ठाउँमा देखिएका हुन् । प्रतिनिधी सभा सदस्य बद्री पाण्डेले नवनिर्वाचित जनप्रतिनिधीलाई स्वागत सहीत बधाईका लागि घरमा बोलाएपछि सबै दलका प्रतिनिधीबीच भेट भयो । सबैजनाले खाना समेत सँगै खान भ्याए ।
नेताहरुले भेटलाई शुभकामना आदान प्रदानमा मात्रै सीमित बनाएनन् । जिल्लाको विकासमा गर्नु पर्ने पहल र सहकार्यका बारेमा पनि छलफल गरे । आगामी पाँच वर्षको अवधीमा आपसी सहकार्यको मार्ग खुला गर्ने गरि बसाईको सुरुवादी छलफल गरिएको काँग्रेस नेतृ समेत रहेकी प्रदेश सभा सदस्य जुना दानीले बताएकी छन् ।
भेटमा प्रतिनिधी सभा सदस्य पाण्डे सहीत दयालबहादुर शाही, प्रदेश सभा सदस्य पदम शाही, जुना दानी, नरेश कुमार शाही सहभागि थिए । यस्तै बडीमालिकाका नगर प्रमुख अमर खड्का, बुढीगंगाका नगरप्रमुख रामबहादुर बाँनीया, त्रिवेणीका नगर प्रमुख कर्णबहादुर थापा, बुढीनन्दाका उपप्रमुख रामबहादुर बोहरा, समाजवादीका नेता चिरञ्जीवी शाही सहीत सहभागि देखिए ।
जिल्लाको विकासका लागि सामुहीक सहकार्य र तीनै तहको समन्वय हुने गरि अनौपचारिक छलफल सहीतको भेटको प्रारम्भ गरिएको प्रतिनिभी सभा सदस्य बद्री पाण्डेले बताएका छन् । नेताहरुले आपसी बधाई साँटासाँट सहीत बाजुराको विकास निर्माणको बारेमा पनि अनौपचारिक छलफल गरेको प्रतिक्रिया दिएका छन् ।
राजनीतिक विवाद र द्धन्द्ध भन्दामाथि उठेर बाजुराको विकासमा जनप्रतिनिधीले पुर्याउनु पर्ने योगदान बारे छलफलको अनौपचारिक सुरुवादका रुपमा भेटलाई लिन सकिने प्रतिनिधी सभा सदस्य दयालबहादुर शाहीले बताएका छन् । नेकपा एमाले केन्द्रीय समेत रहेका शाहीले भेटलाई अनौपचारिकताका रुपमा मात्रै सीमित नबनाई सहकार्यको सुरुवादको संकेतका रुपमा लिनु पर्ने बताए ।
चुनावी विवाद राजनीतिक विषयका रुपमा लिनु पर्ने र निर्वाचित पछिको सहकार्य जिल्लाको विकासमा योगदान पुर्याउने गरि हुनु पर्छ भन्ने मान्यता सहीतको छलफल गरिएको बडीमालिकाका नगर प्रमुख अमर खड्काले बताएका छन् ।
खाना खाने कार्यक्रम भएकोले धेरै विषयमा छलफल भएन्, तरपनि सबै शिर्ष नेताहरु बीचको भेटघाट नजिक गर्नु पर्ने र कर्मचारीतन्त्रको जिल्लामा हुने दादागिरी अन्त्यमा राजनीतिक रुपमा जनप्रतिनिधी एकठाउँमा उभिनुको विकल्प नरहेकोमा आफूले जोड दिएको खड्काले बताएका छन् ।
भेट अनौपचारिक हो, तर यसैलाई सुरुवादीका रुपमा लिने सोच सहीतको बसाइ गरिएको काँग्रेस सहमहामन्त्री समेत रहेका प्रतिनिधी सभा सदस्य पाण्डुको भनाइ छ। तीनै तह बीचको सहकार्य जरुरी चाहिन्छ, आपसी सहकार्य विना बाजुराको विकास संभव छैन्, त्यसैका लागि राजनीतिक विमेलका विषयलाई समाधान गरि विकासका सहकार्यको जग बसाउन अनौपचारिक पहिलो भेट गरिएको हो, पाण्डेले भन्नु भयो ।
पाण्डेले यो भेट र सहकार्यलाई थप प्रभावी बनाउदै लैजाने बताएका छन् । जनप्रतिनिधीको सामुहीक तस्वीरले नै बाजुराको विकासका लागि थप केही आश लाग्दो सहकार्य हुने सन्देश प्रवाह भएको छ ।
प्रतिकृया दिनुहोस